
- रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा आज सुनुवाइ हुँदैछ।
- सर्वोच्च अदालतको तीन सदस्यीय पूर्ण इजलासले यो रिटमाथि सुनुवाइ गर्न लागेको हो।
- यसअघि महान्यायाधिवक्ता कार्यालयले गरेका निर्णय र त्रुटि सच्याउने प्रक्रियालाई लिएर प्रश्न उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतको प्रतिवादीको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिटमाथि सुनुवाइ हुने भएको छ।
बिहीबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासले उक्त रिटमाथि सुनुवाइ गर्न लागेको हो।
यसअघि वैशाख १० गतेका लागि उक्त रिटमाथिको सुनुवाइका लागि पेसी तोकिएको थियो। तर महान्यायाधिवक्ताको तर्फबाट स्थगित गरिएको थियो।
चैत १५ गते न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्दा सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्न आदेश गरेको थियो।
न्यायाधीश शर्मा र मुसलमानको इजलासले आठ वटा प्रश्नको व्याख्या गर्नुपर्ने भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो। पूर्ण इजलास भनेको तीन वा तीन जनाभन्दा बढी न्यायाधीश सम्मिलित इजलास हो।
रविका हकमा तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले पुस ३० गते सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा संशोधन गर्ने निर्णय गरेकी थिइन्। तर त्यसको केही दिनपछि माघ २ गते त्रुटि सच्याइएको भन्दै सबै प्रतिवादीहरूविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्न निकास दिइएको थियो।
