
- बागलुङका युवाहरू वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने र बिरामी पर्ने घटनाहरू बढ्दो छ।
- चालु आर्थिक वर्षमा मात्र विदेशमा बागलुङका दश जनाको मृत्यु हुनुका साथै धेरै कामदार समस्यामा परेका छन्।
- गैरकानुनी रूपमा विदेशिएकाहरू थप जोखिममा पर्ने गरेकाले वैदेशिक रोजगारमा जानुअघि परामर्श लिनु जरुरी छ।
बागलुङको बरेङ गाउँपालिकाका ४० वर्षीय पुरुष केही वर्ष पहिले परिवारको सुन्दर सपना बोकेर संयुक्त अरव इमिरेट्स (युएई) पुगे। युएईको दुबईमा एउटा घरमा करिब एक वर्ष काम गरिसकेका थिए।
परिवारको समान्य खर्चसमेत नचलेपछि युएई पुगेका उनले महिनाकै खर्च घर पठाउँदै आएका थिए। छोराछोरीको पढाइलेखाइ, औषधि उपचार र घर खर्चसमेत धेरथोर बचाउने र भविष्य सुन्दर बनाउने उनको सपना थियो।
तर एक दिन उनको सपना तुहियो। घरमा सुतिरहेकै बेला उनको मृत्यु भएको खबर घर पुग्यो। वैदेशिक रोजगार बोर्ड, सुरक्षित आप्रवासन कार्यक्रम र बरेङ गाउँपालिका समेतको सक्रियतामा उनको शव घर ल्याइयो।
परिवारकै खर्च चलाउन लामो समय खाडी मुलुक साउदी अरबमा काम गरेका बागलुङ नगरपालिका–१३ पैञ्युपाटाका अर्का ३९ वर्षीय पुरुषको कथा पनि उस्तै छ। लामो समय साउदी अरबको एक कम्पनीमा काम गरेका उनको मुटुमा समस्या आयो।
नेपाल आएर केही समय उपचार गरे र पुनः साउदी अरब फर्किए। काम गर्दागर्दैै उनको जीवन लिला पनि त्यहीँ अस्तायो। घर र परदेशको दौडधुपमै उनले आफ्ना सपना सेलाए। दुई छोराछोरी, श्रीमती र परिवारका अन्य सदस्य अझै विक्षिप्त छन्।
बागलुङबाट विदेश पुगेर आफ्ना सपना सेलाउने उनीहरु मात्रै होइनन्। चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका दश जनाको विदेशमै मृत्यु भएको छ। मृत्यु हुनेहरुमा नौ पुरुष र एक जना महिला छन्। तीमध्ये नौ जनाको विदेशमा र श्रम स्वीकृति भएका एक जनाको नेपालमा मृत्यु भएको हो।
आप्रवासी स्रोत केन्द्र बागलुङका अनुसार, वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेहरुमा बागलुङ र गलकोट नगरपालिकाका दुई/दुई जना, जैमिनी नगरपालिका, बडिगाड, काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका एक÷एक जना रहेका छन्। मृत्यु हुनेहरुमा साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, जापान र रोमानिया गएका छन्।
चालु वर्षमा समस्यामा परेका १३८ जना कामदारमध्ये ५८ जनाको सकुशल उद्धार गरिएको आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता गङ्गा शर्माले जानकारी दिइन्। तीमध्ये २२ जनाको उद्धारमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गराएको थियो।
आार्थिक वर्ष २०८०/८१ मा पनि बागलुङका १७ जना युवाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो। मृत्यु हुने अधिकांश ४० वर्षभन्दा कम उमेरका थिए। मृत्यु हुनेहरुमा सबैभन्दा बढी साउदी अरबमा गएका रहेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ।
आर्थिक वर्ष २०८०/८१ मा बागलुङबाट वैदेशिक रोजगारीमा गएका थप १५६ जना विभिन्न समस्यामा परेका थिए। तीमध्ये १३७ पुरुष र १९ महिला पीडित थिए। विदेशमा जाँदा समस्यामा नपरून् भनेर केन्द्रले नियमित परामर्श सेवा दिने गरेको छ। चालु वर्ष पनि नौ हजारभन्दा बढीलाई परामर्श दिइसकेको शर्माले जानकारी दिइन्।
यस्तै, गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा जाँदा समस्यामा परेका तमानखोला गाउँपालिकाका एक युवा अशक्त भएर १९ वर्षपछि मात्र घर फर्केका छन्। बिचौलियाको लहलहैमा १९ वर्षअघि सन् २००७ मा बहराइन पुगेका तमानखोला–२ भयरबोङगाका ४१ वर्षीय श्यामकुमार घर्ती अशक्त भएर घर फर्किएका छन्।
गैरकानुनी रुपमा बहराइन पुगेको ६ महिनादेखि घर्ती सम्पर्कविहीन भएका थिए। गत वर्षको फागुनमा बहराइनको दूतावासबाट घर्तीको परिवारमा श्याम कोमामा छन् भन्ने खबर आएपछि गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा र छिमेकी जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले वैदेशिक रोजगार बोर्डमा जानकारी गराएका थिए।
प्रमुख जिल्ला अधिकारीमार्फत आप्रवासी स्रोत केन्द्रले आवश्यक कागजात दूतावासमा पठाएपछि घर्ती बिरामी अवस्थामा भेटिएका थिए। उनको उपचार भए पनि गैरकानुनी रुपमा बसेकाले १५ लाख उपचार खर्चसमेत नेपाल सरकारले तिर्नुपरेका थियो। ‘पहिचान खुलेपछि भने बहराइनबाट घर्तीलाई नेपाल पठाइयो,’ परामर्शकर्ता शर्माले भने।
विसं २०८१ फागुनमा दर्ता प्रक्रिया सुरु गरी कन्सुलर र दूतावासमा आवश्यक र मागे अनुसारको कागजात पठाएपछि एक वर्षमा घर्ती नेपाल आइपुगेका रिजालले बताए। घर्ती अहिले गाउँको घरमा बाबुको साथमा बस्छन् । उनीहरुको दैनिकी पालिकका सहयोगमा चलेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए।
