पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को आफ्नो सदस्यता कसैले चाहेर हटाउन नसक्ने बताएकी छन्। शुक्रबार (आज) काठमाडौं बानेश्वरको कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो बताएकी हुन्।
एमालेको सदस्यता लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै उनले भनिन्, ‘कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छ जस्तो मलाई लाग्दैन,’ उनले भनिन्, ‘हटाउन सक्छ जस्तो लाग्दैन।’
उनले राष्ट्रपति पदबाट बाहिरिसकेपछि सोचेरै-बुझेरै एमालेको सदस्यता नवीकरण गरेको पनि बताइन्। ‘मैले सोचेरै एमालेको सदस्तया नवीकरण गरेकी हुँ। पहिले पनि एमाले हुँ र अहिले पनि एमाले छु भनेर भनेको हुँ,’ उनले भनिन्।
उनले आफ्नो सदस्यता विवादमा पारिरहनुपर्ने विषय नै नरहेको जिकिरसमेत गरिन्। ‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन। पार्टीप्रतिको आशा, सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,’ उनले भनिन्।
