
- औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जाका लागि देशभरबाट ९६६ परियोजना छनोट गरेको छ।
- अर्घाखाँचीका दुई कृषि तथा पशुपालन फर्महरू यस कार्यक्रममा छनोट हुन सफल भएका छन्।
- छनोटमा परेका उद्यमीले ३ प्रतिशत ब्याजदरमा ५ देखि २० लाखसम्म कर्जा पाउनेछन्।
लक्ष्मण घिमिरे ।
अर्घाखाँची । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चालन गरिने स्टार्टअप कर्जा कार्यक्रमअन्तर्गत अर्घाखाँचीका दुई वटा परियोजना छनोट भएका छन्।
प्रतिष्ठानले असार १६ गते सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाबाट नवदुर्गा कृषि तथा पशुपालन फर्म सन्धिखर्क नगरपालिका–२ र नेत्र तुलसा कृषि तथा पशुपन्छी फर्म भूमिकास्थान नगरपालिका–१ स्टार्टअप कर्जाका लागि छनोटमा परेका हुन्। प्रतिष्ठानले योग्य सूचीमा परेका १ हजार ९२८ परियोजना प्रस्तावमध्ये अतिरिक्त विवरण, फोटो तथा भिडियोसहित प्रस्तुतीकरण गर्न आग्रह गरेको थियो।
विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा सम्पन्न प्रस्तुतीकरणमा १ हजार १५६ परियोजनाले सहभागिता जनाएका थिए।प्रस्तुतीकरणका क्रममा परियोजनाको विवरण, वित्तीय योजना, प्रस्तुतीकरण, प्रश्नोत्तर तथा अन्य पक्षको मूल्याङ्कन गरी न्यूनतम ५० अंक प्राप्त गरेका प्रस्तावमध्ये प्राथमिकताका आधारमा अन्तिम छनोट गरिएको प्रतिष्ठानले जनाएको छ।
यस वर्ष देशभरबाट ९६६ वटा परियोजना स्टार्टअप कर्जाका लागि छनोट भएका छन्। छनोट भएका परियोजनाले ३ प्रतिशत ब्याजदरमा न्यूनतम ५ लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेछन्। स्टार्टअप कर्जा प्राप्त गर्न छनोट भएका परियोजनाका सञ्चालकले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आफ्नो नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सम्बन्धित शाखामा सम्पर्क गर्नुपर्ने व्यवस्था रहेको छ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सन्धिखर्क शाखाका शाखा प्रबन्धक नगेन्द्र गुरउले प्रतिष्ठानबाट सार्वजनिक भएको नतिजाअनुसार अर्घाखाँचीका दुई परियोजना छनोट भएको जानकारी दिए । तोकिएको समयभित्र आवश्यक कागजातसहित बैंकमा सम्पर्क गर्न सम्बन्धित उद्यमीलाई उनको आग्रह छ।
