गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि चार चुनौती औंल्याएका थिए।
उनले लागुऔषधको अवैध कारोबार र ओसारपसार, लागुऔषधसँगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइमजस्ता चुनौती थपिएको निष्कर्षसहित नियन्त्रणमा सक्रियता बढाएकाका थिए। गृहमन्त्री लेखकको पहिलो वर्षको कार्यकालमा लागुऔषधविरुद्ध देशभर महाअभियान सञ्चालन गरेको बताएका छन्।
काठमाडौं उपत्यकामा लागुऔषधविरुद्ध प्रहरीमार्फत महाअभियान सञ्चालनमा छ। गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रणका लागि प्रहरी मात्र नभई आम नागरिक र अभिभावकले महाअभियानमा साथ दिनुपर्ने जोड दिए।
एक वर्षमा नेपाल प्रहरीले लागुऔषध मुद्दामा सात हजार ९४३ स्वदेशी तथा विदेशी अभियुक्त पक्राउ गरेको छ। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा एक हजार २०१ ले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार ७४२ जना पक्राउ परेका थिए।
गत आर्थिक वर्ष २०८१/०८२ मा पक्राउ पर्नेमा सात हजार १९७ पुरुष, ४२१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य मुलुकका नागरिक रहेको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी गराए।
सो अवधिमा लागुऔषधका पाँच हजार ११० मुद्दा दर्ता भए। यो अवधिमा २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरो हेरोइन, ८२९ किलोग्राम चरेस र ५१ हजार ४३९ ग्राम गाँजा बरामद भएको छ। त्यसैगरी, एक वर्षमा एम्पुल दुई लाख २० हजार ४१० ग्राम, नाइट्राजेपाम ९३ हजार ४२४ ग्राम, कोडिन सिरप ‘कोरेक्स’ आठ हजार ९४० ग्रामलगायत ठुलो मात्रामा अन्य लागुऔषध प्रहरीले बरामद गरेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा मन्त्री लेखकको कार्यकालको पहिलो वर्षमा कोकिन ७ किलोग्राम बढी बरामद भएको ब्युरोको तथ्यांकले देखाउँछ। ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषधसम्बन्धी चार हजार १०० मुद्दा दर्ता भई ६ हजार १८६ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०८०/०८१ मा चार हजार ४२४ मुद्दा दर्ता भई ६ हजार ७४२ जना पक्राउ गरिएको थियो।
मन्त्री लेखकले लागुऔषध नियन्त्रण र अवैध ओसारपसारलाई उच्च प्राथमिकतामा राखेकाले सफलता हासिल भएको दाबी गरिएको छ। सवारी दुर्घटना, आत्महत्या, साइबरक्राइमजस्ता अपराधका पछाडि लागुऔषध प्रयोग एक कारकका रूपमा देखिएको ब्युरोको भनाइ छ।
खैरो हेरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोलजस्ता औषधिको मुलुकभित्र प्रयोग बढ्दो छ। कोकिन, अफिम, चरेस र गाँजा भारत तस्करी हुने गरेको छ। प्रहरीले देशभरका जिल्ला प्रहरी कार्यालयमा अभियुक्तविरुद्ध मुद्दा चलाउँदै आएको छ भने लागुऔषध नियन्त्रण ब्युरो र यसका दसवटा कार्यालय नियन्त्रणमा सक्रिय छन्। ब्युरोको विवरणअनुसार गत आर्थिक वर्षमा १,६७५ जनाविरुद्ध मुद्दा चलाइएको छ। अघिल्लो आर्थिक वर्षमा ब्युरोले एक हजार १९३ जनाविरुद्ध मुद्दा चलाएको थियो। आर्थिक वर्ष २०७९/०८० मा ९३७ जनाविरुद्ध मुद्दा चलाइएको थियो। ब्युरोको सक्रियताले अभियुक्त पक्राउ पर्ने क्रम बढेको छ।
सशस्त्र प्रहरी बलले पनि लागुऔषध नियन्त्रणमा सक्रियता बढाएको छ। गत एक वर्षमा सशस्त्र प्रहरी बलले लागुऔषध कारोबार र ओसारपसारमा संलग्न ४६० जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बलले ‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागुऔषध नियन्त्रणमा जुटेको छ। यो अवधिमा ठुलो मात्रामा लागुऔषध सीमानाकाबाट बरामद भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले जानकारी दिए।
