१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

सुत्केरी महिलामा हुने पोष्टपार्टम डिप्रेसन, ब्लुज र साइकोसिस के हो ?

गर्भ रहेको ९ महिनासम्म महिलामा शारीरिक, मानसिक, भावनात्मक हिसाबले धेरै परिवर्तनहरू आउँछन् । त्यस्तै, सुत्केरी भएपछि पनि नयाँ आमा बनेकी महिलामा विभिन्न मानसिक परिवर्तनहरू देखिन्छन् ।  

चिकित्सकका अनुसार सुत्केरी महिलामा पोष्टपार्टम डिप्रेसन, पोष्टपार्टम ब्लुज र साइकोसिस जस्ता मानसिक स्वास्थ्य समस्याहरू देखिन्छन् । यी समस्यालाई समयमै बुझ्न नसक्दा र समयमै आवश्यक उपचार नगर्दा आमा र बच्चा दुवैको ज्यानै समेत जान सक्छ ।  

सुत्केरी महिलामा देखिने पोष्टपार्टम डिप्रेसन, पोष्टपार्टम ब्लुज र साइकोसिस के हो ? यसै विषयमा ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जना कार्कीसँग हामीले कुराकानी गरेका छौँ।  

  • बच्चा जन्माएपछि महिलामा मानसिक समस्या किन देखिन्छ ? 

–बच्चा जन्मेपछिको ६ हप्तासम्मको समयलाई पोष्टपार्टमको समय भनिन्छ । त्यो  ६ हप्ताको समयमा सुत्केरी महिलाहरूमा मानसिक र भावनात्मक परिवर्तन आउँछ । किनभने स्वतन्त्र रूपमा हिँडिरहेकी महिलालाई सानो बच्चाको सबै जिम्मेवारी लिनुपर्ने अवस्था आइपर्छ । कसैले ठुला-ठुला दुःख पनि सहन सक्छन् तर कसैलाई सानो सानो कुराले पनि प्रभाव पार्न सक्छ । किनभने सबैको मानसिक अवस्था एउटै हुँदैन ।

यो अवस्थामा पोष्टपार्टम ब्लुज र पोष्टपार्टम डिप्रेसन हुनसक्छ । कहिलेकाहीँ पोस्टपार्टम साइकोसिस पनि हुन्छ  ।

पोष्टपार्टम ब्लुज (Postpartum Blues)

यो बच्चा जन्मेपछि धेरैजसो महिलामा देखिने सामान्य मानसिक अवस्था हो। यो खासै गम्भीर समस्या होइन र केही दिनभित्रै आफैँ ठिक हुन्छ।

  • यसका लक्षणहरू:

• भावनात्मक रूपमा कमजोर महसुस हुने, एक्कासि रुन मन लाग्ने।

• बच्चाको हेरचाह गर्न सक्छु कि सक्दिनँ भन्ने चिन्ता लाग्ने।

• आफ्नो शरीर पहिलाको जस्तो नभएको महसुस गर्ने र आफू नराम्री भएकी छु भन्ने सोच्ने।

• काम छोड्नुपर्ने चिन्ता हुने।

• यस्ता लक्षणहरू एक-दुई दिनसम्म देखिन सक्छन्, त्यसपछि आफैँ ठिक भएर बच्चासँगको सम्बन्ध सुमधुर बन्दै जान्छ।

पोष्टपार्टम डिप्रेसन (Postpartum Depression)

यो पोष्टपार्टम ब्लुजभन्दा अलि गम्भीर अवस्था हो। यसमा महिलालाई लामो समयसम्म दुःख र निराशाले सताउन सक्छ । यो आफैँ निको हुँदैन।

  • यसका लक्षणहरू:

• आफूलाई कमजोर महसुस गर्ने।

• आफ्नो र बच्चाको स्याहार गर्न मन नलाग्ने।

• सुतिरहन मात्र मन लाग्ने।

• कहिलेकाहीँ त बच्चासँग भावनात्मक सम्बन्ध नै बनाउन नसक्ने र बच्चालाई दुध खुवाउन मन नलाग्ने।

• यस्तो अवस्थामा परिवारको सहयोग र मनोपरामर्श आवश्यक हुन सक्छ। कहिलेकाहीँ औषधिको पनि आवश्यकता पर्न सक्छ।

• यदि यसको समयमै उपचार गरिएन भने महिलाले बच्चालाई नै हानि पुर्‍याउन पनि सक्छन्।

पोष्टपार्टम साइकोसिस (Postpartum Psychosis)

पोष्टपार्टम साइकोसिस एक गम्भीर र दुर्लभ मानसिक स्वास्थ्य समस्या हो। यो अवस्थामा आमाले वास्तविकताबाट टाढा भएको महसुस गर्न सक्छन्। यो अवस्थामा आमा र बच्चा दुवैको जीवन जोखिममा हुन सक्छ।

यसका लक्षणहरू:

• असामान्य विचारहरू आउने र भ्रम हुने।

• बच्चालाई हानि पुर्‍याउने प्रयास गर्ने।

• आत्महत्या गर्ने विचार आउने।

• यस्तो अवस्थामा तुरुन्तै चिकित्सकको सहयोग र उपचार आवश्यक हुन्छ। यसलाई सामान्य रूपमा लिनुहुँदैन।

सुत्केरी महिलामा मानसिक स्वास्थ्य समस्या देखिएको छ भनेर कसरी थाहा पाउन सकिन्छ?

–यदि महिलाले बच्चामा रुचि देखाइनन्, आफ्नो हेरचाहमा ध्यान दिइनन्, खुसी नहुने, बेलाबेलामा रुने, खानेकुरा खान्न भन्ने वा झर्को गर्ने गर्छिन् भने मानसिक स्वास्थ्य समस्या भएको हुन सक्छ । त्यस्तो समयमा घरपरिवारले गाली गर्ने होइन उनको समस्यालाई समाधान गर्नुपर्ने हुन्छ । बच्चालाई सम्हाल्न सकिनन् र आफूलाई पनि सम्हाल्न सकिनन् भने महिलालाई तुरुन्तै मनोपरामर्श तथा आवश्यक उपचारको लागि लानुपर्छ ।

सुत्केरी महिला आफैले डिप्रेसन, ब्लुज लगायत मानसिक स्वास्थ्य समस्याबाट जोगिन केही गर्न सक्छन् ?

–गर्भावस्थामा धेरै परिवर्तनहरू आउँछन् । गर्भवती महिलाको रगतको मात्रा बढ्छ । मुटुमा, मिर्गौलामा र कलेजोमा समस्या हुन्छ । अनुहारमा चाया आउँछ, अनुहार परिवर्तन हुन्छ र शारीरिक बनावट नै परिवर्तन हुन्छ । कतिपय महिलालाई श्रीमान्ले नराम्रो भयौ भन्लान् त्यस्तो परिवर्तन र विभिन्न कुराहरूले महिलालाई विचलित बनाउन सक्छ ।

कतिपय महिलाले गर्भवती भएपछि काम छोडेको हुन सक्छ, कसैको सुगर बढेको हुनसक्छ वा कसैले यात्रा नै गर्न नपाएको हुनसक्छ । यस्ता साना कुराहरूले पनि फरक पार्न सक्छ ।

यसरी बच्न सकिन्छ:

•         आफूलाई बुझ्ने: गर्भावस्था र सुत्केरीपछिको समयमा शरीर र मनमा आउने परिवर्तनलाई सामान्य रूपमा स्वीकार गर्ने।

•         सहयोग माग्ने: आफूलाई केही असहज महसुस भएमा श्रीमान्, परिवारका सदस्य वा स्वास्थ्यकर्मीसँग सहयोग माग्न हिचकिचाउनु हुँदैन।

•         सकारात्मक सोच राख्ने: सुत्केरीपछिका सबै परिवर्तनहरू केही समयपछि सामान्य हुनेछन् भन्ने कुरामा विश्वास राख्ने।

•         परिवारको सहयोग: परिवारका सदस्यले सुत्केरी महिलालाई सधैँ माया, हेरचाह र सहयोग गर्नुपर्छ। बच्चाको हेरचाहमा पनि मद्दत गर्नुपर्छ। महिलामा कुनै मानसिक स्वास्थ्य समस्या देखिएको शङ्का लागेमा गाली गर्नुको सट्टा तुरुन्तै मनोपरामर्शका लागि लैजानुपर्छ।

यस्तो अवस्थामा गर्भवती वा सुत्केरी महिला, परिवार र स्वास्थ्यकर्मी पनि अलर्ट हुनुपर्छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय