लुम्बिनीमा ग्यासको कृत्रिम अभाव रोक्न डिलरलाई दैनिक विवरण पेस गर्न निर्देशन

नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले खाना पकाउने एलपी ग्यासको वितरण सहज बनाउन बिक्रेताहरुलाई कारोबारको सम्पूर्ण विवरण दैनिक रुपमा पेस गर्न निर्देशन गरेको छ ।

पश्चिम एसियामा जारी युद्धका कारण उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास पाउन नसकेको गुनासो बढेपछि आपूर्ती सहज बनाउन र कृत्रिम अभाव हुन नदिन रुपन्देहीको भलवारीस्थित निगमको प्रादेशिक कार्यालयले यस्तो प्रावधान गरेको हो ।

निगमका लुम्बिनी प्रादेशिक प्रमुख शैलेन्द्र भुषालले निगमको भलवारी कार्यालय मातहतमा रहेका जिल्लाका सबै ग्यास डिलरले उद्योगबाट प्राप्त गरेको र उपभोक्तालाई बिक्री गरेको सम्पूर्ण कारोबार दैनिक रुपमा जिल्ला प्रशासन र निगमको प्रादेशिक कार्यालयमा बुझाउनु पर्ने प्रावधान गरिएको बताए ।

‘बिक्रेताबाट हुन सक्ने कृत्रिम अभाव र उपभोक्ताले बढी खरिद गरेर मौज्दात राख्ने प्रवृति रोक्न यो नियम लागू गरिएको हो,’ भुषालले भने, ‘यसले उपभोक्ताले ग्यास नपाएको गुनासोमा धेरै कमी आउन थालेको छ ।’

भुषालका अनुसार यो नियमबाट ग्यास डिलरले उद्योगबाट प्राप्त गरे अनुरुपको ग्यासको परिमाणबारे स्पष्ट थाहा हुन्छ । भने, ‘उपभोक्तालाई नागरिकता तथा परिचय पक्र नम्बर लिएर बित्री गरेको विवरण दैनिक पेस गर्नुपर्छ । ‘यसबाट एउटै उभोक्ताले बारम्बार किनेर मौज्दात राखेको पनि थाहा हुन्छ,’ उनले भने ।

रुपन्देहीको भलवारीस्थित निगमको लुम्बिनी प्रादेशिक कार्यालयले पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, स्याङ्जा, अर्घाखाँची, पाल्पा, पूर्वी रुकुम र बाग्लुङमा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ती गर्दै आएको छ।

प्रादेशिक कार्यालयका अनुसार यहाँ गत पुस र माघको तुलनामा फागुनमा ग्यासको आयात करिब १ हजार मेट्रिक टन बढी भएको थियो । यो कार्यालयमार्फत् गत पुसमा ६ हजार ७ सय ५८ र माघमा ६ हजार ५ सय ७५ मेट्रिक टन ग्यास आयात भएकोमा फागुनमा भने ७ हजार ४ सय ८८ मेट्रिक टन आयात भएको थियो ।

ग्यास आयातमा पहिला भन्दा केही बढेको र अहिले पनि माग अनुरुप ग्यास आयात नियमित भइरहेको भुषालले बताए । ‘पश्चिम एसियामा जारी युद्धका कारण उपभोक्ताले मौज्जात राख्न एक्कासी माग गर्दा बितरण प्रणालीमा केही असहज भएको हो,’ उनले भने, ‘यो नियमले दुई–चार दिन भित्रमा ग्यास पाइएन भन्ने गुनासो आउँदैन ।’

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय