‘अहिले घन्टी बजाउनुहोस्। ५ वर्षसम्म काम गर्न सकिन भने फेरि भोट माग्न आउँदा त्यही घन्टीले हिर्काउनुहोस्,’ भन्दै भोट मागेका विपिनकुमार आचार्यको चुनावी शैलीप्रति मतदाता छक्क परे।
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेका आचार्यले लोकतान्त्रिक मर्मलाई आत्मसात गर्दै अन्य दलका प्रतिस्पर्धी र स्वतन्त्र उम्मेदवारलाई एउटै टेबलमा बोलाए। पहिलो संस्करणको शीर्षक दिए– ‘कफी विथ क्यान्डिडेट।’
दाङ–२ बाट विजयी आचार्य रास्वपाका सहमहामन्त्री पनि हुन्। चुनाव अघिका प्रतिस्पर्धीसँग सौहाद्र सम्बन्ध कायम गरेर उनी काठमाडौं फर्किँदा सामाजिक सञ्जालमा ट्रोल बनिरहेका थिए, बाँके—३ बाट निर्वाचित सांसद खगेन्द्र सुनार। ‘हिजो त्यो मास्टरले जसरी डस्टरले टाउकोमा टाक्क हान्थ्यो। कञ्चटका रौं उखेल्थ्यो। त्यो मास्टरलाई उत्तानो पारेर पैतलामा भाटा हान्नुपर्छ,’ सुनारको यहीं अभिव्यक्तिको भिडियो क्लिपलाई शिक्षकहरूले आफ्नो पेसागत कर्मप्रति गरिएको तुच्छ टिप्पणीको संज्ञा दिएको भन्दै आक्रोशित छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचित माननीयबाट शिक्षकप्रति तुच्छ टिप्पणीले भावनामा चोट पुगेको शिक्षकहरू बताउँछन्। सुनार मात्र होइन गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित काठमाडौंका दुई जना सदस्य पनि ट्रोल बने। काठमााडौं–९ का उम्मेदवार डोलप्रसाद (डीपी) अर्याल र काठमाडौं–३ बाट निर्वाचित राजुनाथ पाण्डेका अभिव्यक्तिले रास्वपाभित्र दुई धार रहेको टिप्पणीसमेत भयो। रास्वपाको अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त सुनारले प्रतिनिधिसभाको निर्वाचन लगत्तै जनताले दिएको जनादेशको गम्भीरतापूर्वक मनन गर्दै जनताको अभिमतलाई उच्च मूल्यांकन गर्न अपिल जारी गरेका थिए । अपिलमा भनिएको छ, ‘जनादेशलाई विजय उन्मादको रूपमा नलिई जिम्मेवारीप्रति पूर्ण बफादार रहँदै जवाफदेहीपूर्ण कार्य सम्पादन गर्नु हाम्रो कर्तव्य हुन आउँछ।’
संविधानविद् डा. विपिन अधिकारीका अनुसार प्रतिनिधिसभा निर्वाचनपछि रास्वपा ठूलो पार्टीको रूपमा देखिएकाले सांसदहरूको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँछन्। ‘सांसदहरूबीच पार्टीको जिम्मेवारी, मन्त्री पदलगायतका विभिन्न पक्षमा असन्तुष्टि बढ्न सक्छ,’ संविधानविद् डा. अधिकारी भन्छन्, ‘पार्टीमा पछि जोडिएका वा पिकअप गरिएका व्यक्तिहरूले अवसर हेरेका हुन सक्छन्। मुलुक निर्माणको कटिबद्धता भए पनि राजनीतिक प्रशिक्षण दिनु जरुरी छ।’
रास्वपाका दर्जन बढी सांसदमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा, नागरिक उन्मुक्ति पार्टी र मधेसवादी दलको कार्यकर्ताको अनुभव छ।
त्यस्तै राजनीतिक प्रशिक्षण नपाएका नयाँ उम्मेदवारहरू पनि आफ्नो भूमिकाप्रति अनविज्ञ देखिन्छन्। पुरानो पार्टी छोडेर आएका र रास्वपामा प्रवेश गरेपछि राजनीतिमा अग्रसर भएकाहरू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले अनुशासन र राजनीतिक प्रशिक्षण आवश्यक भएको डा. अधिकारी बताउँछन्।
सांसदलाई अनुशासनमा कस्दै
रास्वपाले प्रतिनिधिसभाका नवनिर्वाचित (प्रत्यक्ष तथा समानुपातिक) सदस्यहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। कार्यक्रम हुने हलमा मोबाइल प्रयोगमा समेत निषेध गरेको छ।
रास्वपाका महामन्त्री कबीन्द्र बुर्लाकोटीले ६ बुँदे निर्देशन जारी गर्दै कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध गरिएको जनाएका छन्। ‘कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ। कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ। परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न निर्देशन गरिएको छ,’ महामन्त्री बुर्लाकोटीले जारी गरेको निर्देशनमा भनिएको छ, ‘सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन छ।’ ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित आवासीय कार्यक्रममा पार्टीले सबै सांसदको खाना र आवासको व्यवस्था गरिएको छ। कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई अनिवार्य उपस्थित हुन सूचना जारी गरिएको छ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार नेपाली जनताले परिवर्तन, सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्वको अपेक्षासहित तपाईंहरूलाई संसद्मा पठाएको हुनाले अभिमुखीकरण कार्यक्रम गरिएको हो। ‘नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट रूपमा बुझाइन्छ। सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग पुर्याउने उद्देश्य हो,’ सहप्रवक्ता रावलले भनिन्, ‘पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता स्पष्ट गराइन्छ।
संसद्, सरकार र निर्वाचन क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्न सक्षम बनाइने छ।’ जनताको विश्वास र आशालाई सार्थक बनाउँदै प्रभावकारी, जिम्मेवार र परिणाममुखी संसदीय भूमिका निर्वाह गर्नु प्रत्येक सांसदको महत्वपूर्ण दायित्व भएको महसुस गराइने सहप्रवक्ता रावलले जानकारी दिइन्। ‘अन्य दलका उम्मेदवार मात्र होइन जो कोही व्यक्तिलाई तुच्छ टीकाटिप्पणी नगर्ने, होच्याउने, हेप्नुहुँदैन भन्नेमा हामी प्रष्ट छौं,’ सहप्रवक्ता रावलले भनिन्, ‘सांसदहरूलाई अनुशासित गराउने उद्देश्यले पनि अनुशिक्षण कार्यक्रम गरिएको हो।’ संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समझ र साझा दृष्टिकोण विकास गर्ने आवश्यक महसुस भएको रास्वपाका एक शीर्ष नेताले बताए।
सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण, सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प्रदान गरिनेछ। साथै पार्टीको नीतिगत प्राथमिकता, रणनीतिक कार्यदिशा तथा संसदभत्र र बाहिर प्रभावकारी समन्वयका उपायहरूबारे साझा समझ विकास गरिने रास्वपाले जनाएको छ।
अभिमुखीकरण कार्यक्रमले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप र दृष्टिकोण प्रदान गर्दै, जनताको अपेक्षालाई नीतिगत उपलब्धिमा रूपान्तरण गर्न सहयोग पुर्याउने विश्वास गरिएको ती नेताले बताए।
क–कसले दिँदैछन् प्रशिक्षण ?
रास्वपाका सहमहामन्त्री आचार्यले पहिलो दिनको कार्यक्रम सञ्चालन गरेका छन्। पहिलो दिन सांसदहरूलाई संसदीय भूमिका, कानुन निर्माण र संवैधानिक जिम्मेवारीबारे प्रशिक्षण दिइएको छ। पार्टी उपसभापतिद्वय डीपी अर्याल, डा. स्वर्णिम वाग्लेले राजनीतिक प्रशिक्षणका साथै मुलुकको वर्तमान अवस्था, पार्टीका प्रतिबद्धता, जिम्मेवारी तथा सांसदको भूमिकाका बारेमा पहिलो सत्रमा प्रशिक्षण दिएका छन्।
त्यस्तै नेपाल सरकारका पूर्वसचिव सुरेश अधिकारीले संसद्को संरचना र कार्यप्रणाली, सांसदका अधिकार र जिम्मेवारी, नेपाल सरकारका पूर्वकानुन सचिव तोयानाथ अधिकारीले संघीय संसद्मा कानुन निर्माण प्रक्रियामा सांसदको भूमिका, सूचना प्रविधि विज्ञ दोभान राईले कृत्रिम बुद्धिमता र एल्गोरिदम : लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा प्रभाव विषयमा प्रशिक्षण दिएका छन्। रास्वपाका अशोक चौधरी, शिशिर खनाल, डा. तोसिमा कार्की, सोविता गौतम, गणेश पराजुली, हरि ढकाल, मनीष झा र विराजभक्त श्रेष्ठले संसदस्य अनुभव सुनाएका छन्।
कार्यक्रमको दोस्रो दिन बुधबार पार्टी सभापति रवि लामिछानेले पार्टीको आगामी रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताका बारेमा प्रशिक्षण दिने छन्। त्यस्तै विभिन्न विषयविज्ञहरूले सरकार सञ्चालन प्रक्रिया : योजना र बजेट निर्माण, सुशासन, पार्टी र सांसदको सम्बन्ध : नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता र न्यूनतम प्रतिबद्धता लगायतका विषयमा विषयविज्ञहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ। उक्त दुईदिने कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको उपस्थिति हुने सम्भावना न्यून रहेको स्रोतले जनाएको छ ।
