लक्ष्मण घिमिरे ।
अर्घाखाँची । डिभिजन वन कार्यालयले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त गरेको छ। अर्घाखाँची डिभिजन वन कार्यालयले हालै १२ जनालाई स्वयंसेवक नियुक्त गरी काममा खटाएको हो।
उक्त कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार स्वयंसेवकले सशस्त्र वन रक्षकहरूसँगको सहकार्यमा वनमा लागेको आगो निभाउने छन्। डढेलोको जोखिम भएका स्थानमा उनीहरूलाई आगामी तीन महिनासम्म परिचालन गरिने छ। टोलीलाई आवश्यक उपकरण तथा मिनी दमकलसहित तयारी अवस्थामा राखिएको छ।
१२ सदस्यीय टोलीलाई जेठ मसान्तसम्म जिल्लाभर परिचालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ। अर्घाखाँचीमा सामुदायिक, कवुलियती, धार्मिक र निजी वन छन्। सीमित स्रोत र साधन भए पनि जङ्गलको आगो निभाउन हरसम्भव प्रयास गरिने कार्यालयले जनाएको छ।
केही सामुदायिक वनसँग भएका सामग्री र सुरक्षा निकायसँगका उपकरण प्रयोग गरिने यस्तै वन डढेलो सप्ताहको सुरुवातसँगै सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम संचालन गरिएको खड्काको भनाइ छ ।
