
- सन् १९७९ को इस्लामिक क्रान्तिपछि अमेरिका र इरानबीच पहिलो पटक प्रत्यक्ष वार्ता भएको छ।
- इस्लामावादमा भएको यस वार्तामा दुवै पक्षले लिखित दस्तावेज आदानप्रदान गरिरहेका छन्।
- अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी उच्च अधिकारीको सहभागितामा यो ऐतिहासिक छलफल सुरु भएको हो।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि संयुक्त राज्य अमेरिका र इरानका उच्च अधिकारीहरूबीच पहिलो पटक प्रत्यक्ष ‘फेस–टु–फेस’ (आमनेसामने) वार्ता भएको छ।
पाकिस्तानको राजधानी इस्लामावादमा भएको युद्धविराम सम्बन्धी ऐतिहासिक वार्ताको पहिलो चरण सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार मध्यस्थतामा संलग्न स्रोतहरूले दुवै पक्ष अहिले लिखित दस्तावेज आदानप्रदान गरिरहेको बताएका छन्।
पहिलो चरणको प्रत्यक्ष वार्तामा भएका सहमतिहरूमा दुवै देशको समान धारणा रहेको सुनिश्चित गर्न लिखित दस्तावेज आदानप्रदान गर्ने काम भइरहेको जनाइएको छ।
दस्तावेजहरूमा के के कुरा उल्लेख छ भन्ने सार्वजनिक भइसकेको छैन।
सन् १९७९ को इस्लामिक क्रान्तिका दौरान तेहरानस्थित अमेरिकी दूतावास कब्जा र अमेरिकी नागरिकहरूलाई बन्धक बनाएको घटनापछि यी दुई कट्टर प्रतिद्वन्द्वी मुलुकबीच ४७ वर्षमा भएको यो नै पहिलो आधिकारिक र प्रत्यक्ष वार्ता हो।
वार्तामा को–को सहभागी थिए?
अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन्। वार्तामा सहभागी हुनुअघि उनले पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँग भेटवार्ता गरेका थिए।
इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बगेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सहितको टोली सहभागी छ। इरानी टोलीले पनि प्रधानमन्त्री सरिफसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो।
