
- ट्रम्प र सीबीचको बेइजिङ भेटवार्ताले विश्व शक्तिहरूबीचको कूटनीतिक संवादको ढोका खोलेको छ।
- दुई नेताले आपसी सम्बन्धलाई सुधार्दै ठूला राष्ट्रबीच सहकार्य सम्भव भएको सन्देश दिएका छन्।
- व्यापार र सामरिक प्रतिस्पर्धा कायम रहे पनि यो भेटले दुई राष्ट्रबीच टकरावभन्दा वार्ताको सम्भावना बढाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भएको भेटवार्ताले विश्व कूटनीतिमा नयाँ चासो पैदा गरेको छ। ट्रम्पको स्वागतमा आयोजित विशेष समारोहमा दुई नेताबीच केवल औपचारिक शिष्टाचार मात्र होइन, विश्व राजनीति, शक्ति सन्तुलन र अमेरिका–चीन सम्बन्धबारे खुला र प्रतीकात्मक संवाद पनि देखिएको छ। व्यापारिक तनाव, ताइवान विवाद र इरान युद्धजस्ता संवेदनशील मुद्दाबीच भएको यो भेटलाई सम्बन्ध सुधारको संकेतका रूपमा समेत हेरिएको छ।
स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनपिङले अहिलेको विश्व विभिन्न जटिल समस्याले घेरिएको उल्लेख गर्दै शक्तिशाली राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको बताए। उनले अमेरिका र चीन प्रतिस्पर्धा र टकरावको बाटोमा मात्र अघि बढ्नुपर्छ भन्ने धारणा गलत साबित गर्न सकिने उल्लेख गरे। “चीन र अमेरिकाले ठूला राष्ट्रहरूबीच पनि राम्रो सम्बन्ध सम्भव हुन्छ भन्ने प्रमाणित गर्न सक्छन्,” सीले भने। उनको अभिव्यक्तिलाई विश्व शक्ति प्रतिस्पर्धालाई नियन्त्रणभित्र राख्ने कूटनीतिक सन्देशका रूपमा व्याख्या गरिएको छ।
सीको सम्बोधनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो स्वागतप्रति खुलेर प्रशंसा व्यक्त गरे। चिनियाँ सेनाको मार्चपास र समारोहमा सहभागी बालबालिकाको उत्साहबाट आफू प्रभावित भएको उनले बताए। “सेनाको प्रदर्शन राम्रो थियो, तर बालबालिकाहरू अद्भूत थिए,” ट्रम्पले सीतर्फ संकेत गर्दै भने, “ती बालबालिकाले तपाईंको प्रतिनिधित्व गर्छन्।” ट्रम्पको यो टिप्पणीलाई चीनले प्रस्तुत गर्न खोजेको अनुशासित र आत्मविश्वासी राष्ट्रिय छविप्रतिको संकेतका रूपमा पनि हेरिएको छ।
समारोहकै क्रममा ट्रम्पले सी चिनफिङलाई “महान् नेता” भन्दै प्रशंसा गरेपछि वातावरण थप रोचक बनेको थियो। उनले आफू र सीबीच लामो सम्बन्ध रहेको उल्लेख गर्दै यो भेटलाई “विश्वकै सबैभन्दा ठूलो वार्ता” को संज्ञा दिए। “मलाई धेरै सम्मानित महसुस भइरहेको छ। तपाईं महान् नेता हुनुहुन्छ, तर यस्तो भन्दा कतिपयले मलाई गाली गर्छन्,” ट्रम्पले हल्का व्यंग्यात्मक शैलीमा भने। उनको यो अभिव्यक्तिले दुई नेताबीच व्यक्तिगत तहमा सहज सम्बन्ध देखाउन खोजिएको सन्देश दिएको विश्लेषण गरिएको छ।
इरान युद्धका कारण केही समय रोकिएर भएको यो उच्चस्तरीय भेट अहिले विश्वभर चासोको विषय बनेको छ। सन् २०१७ पछिको ट्रम्पको पहिलो चीन भ्रमण भइरहेका बेला विश्व राजनीति नयाँ ध्रुवीकरणतर्फ अघि बढिरहेको छ। यही समयमा दुई नेताबीच देखिएको सहजता र ‘केमिस्ट्री’ ले व्यापारिक युद्ध र सामरिक प्रतिस्पर्धाबीच पनि संवादको ढोका खुला राख्न सक्ने आशा जगाएको विश्लेषकहरू बताउँछन्।
यद्यपि, अमेरिका र चीनबीचको मूल प्रतिस्पर्धा भने यथावत् रहेको छ। प्रविधि, व्यापार, ताइवान र विश्व प्रभाव विस्तारको प्रतिस्पर्धा तत्काल समाप्त हुने संकेत छैन। तर बेइजिङमा देखिएको शिष्टाचार, राजनीतिक सन्देश र व्यक्तिगत सौहार्दले कम्तीमा पनि दुई शक्तिराष्ट्रबीच प्रत्यक्ष टकरावभन्दा संवादको सम्भावना अझै जीवित रहेको संकेत दिएको छ।
