भूमिहीनलाई लालपुर्जा दिन बाँकेमा जग्गा नाप सुरु

भूमि समस्या समाधान आयोगले जिल्लाका छ स्थानीय तहमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा जग्गाधनी पुर्जा वितरणका लागि जग्गा नापजाँच भइरहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष घननाथ खनालले बताए।

उनका अनुसार कोहलपुर नगरपालिकाका १५ वटै वडा, जानकी गाउँपालिकाको ५ नं वडा, बैजनाथ गाउँपालिकाको वडा नं १, ४, ६ र ७, राप्तीसोनारी गाउँपालिकाको २, ३, ४, ५, ७ र ९ खजुरा गाउँपालिकाको वडा नं ४ र ५ मा नाप नक्सा सम्पन्न भइसकेको छ।

नेपालगन्ज उपमहानगरपालिकाको वडा नं ६, १९, २० र २१ जानकीको वडा नं ४, बैजनाथको २, ३, ५ र ८, राप्तीसोनारीको १, ६ र ८ र खजुरा गाउँपालिकाको ६, ७ र ८ नं वडामा नक्सा नाप गर्ने कार्य भइरहेको छ। डुडुवा र नरैनापुर गाउँपालिकामा हालसम्म नक्सा नाप सुरु हुनसकेको छैन।

आठ सय छ जनालाई लालपुर्जा वितरण

भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले हालसम्म ८०६ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अन्य अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ।

कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा रहेका १२५ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र ६८१ अन्य अव्यवस्थित बसोवासी गरी हालसम्म ८०६ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको अध्यक्ष खनालले बताए।

‘सबैभन्दा धेरै कोहलपुर नगरपालिका वडा नं १ मा ५४० अव्यववस्थित बसोवासी र १०० भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ’, अध्यक्ष खनालले भने, ‘राप्तीसोनारी वडा नं ४ मा १४१ अव्यवस्थित बसोवासी र २५ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ।’

कोहलपुर वडा नं १ मा ११७ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जाका लागि राजस्व बुझाउन सूचना जारी गरेकामा १०० जनाले राजस्व जम्मा गरी आएका थिए। त्यसैगरी ७२६ अव्यवस्थित बसोवासीलाई राजस्व जम्मा गर्न सूचना जारी गरेकामा ५४० जनाले राजस्व जम्मा गरेको अध्यक्ष खनालले जानकारी दिए।

 जग्गाधनी पुर्जाका लागि आवासमा मूल्याङ्कनको १० प्रतिशत र जमिनमा मूल्याङ्कनको पाँच प्रतिशत राजस्व जम्मा गर्नुपर्ने प्रावधान रहेको छ। राजस्व जम्मा गर्न सूचना जारी गरे पनि कतिपय सम्पर्कमा नआएको र कतिपयसँग राजस्व बुझाउने रुपैयाँसमेत नभएको पाइएको अध्यक्ष खनालको भनाइ छ।

जग्गाधनी पुर्जा वितरणबाट हालसम्म कोहलपुर नगरपालिकाबाट पाँच करोड २७ लाख ४६ हजार ३१७ रुपैयाँ र राप्तीसोनारी गाउँपालिकाबाट ५१ लाख ८३ हजार ९९२ गरी जम्मा पाँच करोड ७९ लाख ३० हजार ३०९ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

 कोहलपुर नगरपालिका–१ मा रहेका थप ८८२, बैजनाथ गाउँपालिका–७ का २२ र खजुरा गाउँपालिका–४ का ५० अव्यवस्थित बसोवासी र ३० जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई राजस्व जम्मा गर्न आयोगले सूचना प्रकाशित गरेको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय