
- नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ।
- स्नातकोत्तर उपाधिसहित ७ वर्षको अनुभव भएका इच्छुकले सात दिनभित्र आवेदन दिनुपर्नेछ।
- आवेदन अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखामा पेस गर्नुपर्ने व्यवस्था छ।
नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान भएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज सूचना निकालेर योग्य इच्छुक नेपाली नागरिकलाई व्यक्तिगत विवरण पेस गर्न अनुरोध गरेको हो ।
सूचना अनुसार अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको व्यावसायिक अनुभव भएको हुनुपर्छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदनका साथमा व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभवका प्रमाणित कागजातहरू तथा तोकिएको ढाँचाको स्वघोषणा फाराम संलग्न गर्नुपर्नेछ ।
आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको ‘वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा’मा रहेको समितिको सचिवालयमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । बोर्डका पूर्व अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि अहिले अध्यक्ष पद रिक्त छ ।
