
- यस वर्ष औसतभन्दा कम वर्षा भए पनि चरम मौसमी घटनाका कारण मनसुनजन्य विपद्को उच्च जोखिम छ।
- प्राधिकरणको मस्यौदाअनुसार बाढी, पहिरो र तातो हावाको लहरबाट देशभर करिब २० लाख मानिस प्रभावित हुन सक्छन्।
- उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोट र तराईमा डुबान तथा भूक्षयको जोखिम बढेको प्रतिवेदनले औँल्याएको छ।
यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपद्को जोखिम उच्च रहने आकलन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणले आज सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ को मस्यौदामा १९ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।
मस्यौदाअनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना औँल्याइएको छ । दैनिक तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढी प्रभावित हुनसक्ने जनाइएको छ ।
प्रतिवेदनमा मनसुन अवधिमा देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ । प्रभावितमध्ये ५२ प्रतिशत महिला र ४८ प्रतिशत पुरुष हुनसक्ने जनाइएको ।
