टेरिया मगर अब चलचित्र खेल्दै

समाचार सारांश
Auto Generated by AI
  • नृत्यमा चर्चा कमाएकी टेरिया फौजा मगर अब अभिनयमा पाइला टेक्दैछिन्।
  • आगामी जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको मितज्यू उनको पहिलो फिल्म हो।
  • डिआइडी लिटिल मास्टर्स विजेता टेरिया आफ्नो नयाँ यात्रालाई लिएर निकै उत्साहित छिन्।

सानै उमेरदेखि नृत्यको तालसँगै सपना बुन्न थालेकी टेरिया फौजा मगर आज त्यही सपनाको अर्को मोडमा उभिएकी छिन्। यति बेला नृत्यभन्दा पनि अभिनयको गहिराइमा उनी आफूलाई पुनः खोजिरहेकी छिन्।

सन् २०१४ मा ११ वर्षको उमेरमै अन्तर्राष्ट्रिय मञ्चमा ‘डिआइडी (डान्स इन्डिया डान्स) लिटिल मास्टर्स’ जितेर नेपालीको गौरव बनेकी टेरिया अहिले नेपाली फिल्म अभिनय यात्राको औपचारिक सुरूआत गर्दैछिन्।

उनी अभिनीत पहिलो फिल्म ‘मितज्यू’ आउँदो जेठ ८ गतेदेखि प्रदर्शन तयारीमा छ। फिल्म रिलिज नजिकिँदै गर्दा टेरियाको मनमा उत्साहसँगै हल्का डर छ। ‘म उत्साहित छु। आफ्नो प्रस्तुतिलाई लिएर अलिकति डर पनि लागेको छ। दर्शकहरूले कसरी लिनुहुन्छ भन्ने सोचिरहेकी छु,’ उनले भनिन्, ‘तर विश्वास छ, दर्शक निराश हुनुहुन्न।’

दर्शकहरू फिल्मसँग भावनात्मक रूपमा जोडिन सकून् भन्ने अपेक्षा उनले राखेकी छिन्। रूपन्देही रूद्रपुरकी टेरियालाई ठ्याक्कै सम्झना छैन, उनले कहिलेदेखि नाच्न सुरू गरिन्।

नर्सरी पढ्दा स्कुलस्तरीय नृत्य प्रतियोगितामा भाग लिएर तीनवटा नोटबुक र पेन्सिल जितेको सम्झना भने उनको पहिलो स्मृतिका रूपमा बसेको छ।  ‘त्यो नै मेरो पहिलो मेमोरी हो,’ उनले भनिन्, ‘तर परिवारका अनुसार म अझै सानो हुँदादेखि नै नाच्न थालेकी थिएँ।’

परिवारको साथ र प्रोत्साहनले सधैं अगाडि बढ्न हौस्याएको उनी बताउँछिन्। ‘मेरो परिवारका मान्छे सधैं मलाई नाचिरहेको देखेर रमाउनुहुन्थ्यो, अझै प्रोत्साहन गर्नुहुन्थ्यो,’ टेरियाले भनिन्, ‘त्यही वातावरणले मलाई यहाँसम्म ल्यायो।’

उनी भारतको चर्चित टेलिभिजन च्यानल जिटिभीमा प्रसारण हुने ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ को तेस्रो सिजनको विजेता हुन्।

टेरियाका अनुसार उनलाई डिआइडीले गहिरो प्रभाव पारेको थियो। ‘म लिटिल मास्टर्स एकदमै फलो गर्थेँ,’ उनले भनिन्, ‘त्यो स्टेज मेरा लागि लार्जर ड्यान लाइफ जस्तो लाग्थ्यो।’ टिभीमा अडिसनको सूचना देखेपछि उनी उत्साहित हुँदै परिवारलाई सुनाउन दौडिइन्। परिवारले नै उनलाई लैजाने योजना पहिल्यै बनाइसकेको रहेछ।

एक पटक त्यो स्टेजमा उभिन पाए कस्तो हुन्थ्यो होला भन्ने सोच्ने टेरियाले डिआइडीको मञ्चमा इतिहास रचिन्। ‘म त एक पटक मात्रै पर्फर्म गर्न पाए हुन्थ्यो भन्ने सोच्थेँ। जित्नु भनेको सपना पूरा भएजस्तै भयो,’ उनले भनिन्, ‘मलाई जितेँ भन्ने नै पत्याउनै गाह्रो भइरहेको थियो।’

विजेता बनेर नेपाल फर्किँदा विमानस्थलमा भएको भव्य स्वागतले उनलाई अचम्मित बनाएको थियो। ‘यति धेरै माया किन पाइरहेको छु भन्ने लाग्थ्यो। आफैले आफैलाई प्रश्न समेत गरेँ,’ उनी अगाडि भन्छिन्, ‘पछि मैले त्यसलाई ग्राटिच्युडका रूपमा लिन सिकेँ।’

डिआइडीलाई उनी आफ्नो जीवनकै ‘टर्निङ प्वाइन्ट’ मान्छिन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय