२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

अमेरिकाले भिसा नदिएका सन्दीप लामिछाने वेस्टइन्डिज जान सक्लान ?

क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटकसमेत अमेरिकाले भिसा अस्वीकार गरेको छ । सन्दीपलाई अमेरिकी दूतावासले बिहीबार अन्तरवार्तामा बोलाएर पुनः उनको भिसा रिजेक्ट गरिदिएको हो ।

योसँगै सन्दीपले टि-२० विश्वकप खेल्ने सम्भावना लगभग सकिएको छ । तर, वेस्टइन्डिजमा नेपालले खेल्ने दुई खेलमा उनको सहभागिता रहन्छ कि रहँदैन भन्ने चर्चा यतिबेला चलिरहेको छ ।

नेपालले सुपर ८ मा पुग्न ४ खेल खेल्नुपर्नेछ । जसमध्ये जुन ४ मा अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी भ्यु क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ । दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा हुनेछ । त्यसपछि बाँकी दुई खेल खेल्न नेपाली टीम वेस्टइन्डिज जानेछ । नेपालले वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्नेछ ।

अमेरिकाले आफ्नो देश आउन भिसा नदिएको अवस्थामा सन्दीप लामिछानेलाई नेपालले वेस्टइन्डिज पठाउने प्रयास गरिरहेको बताइन्छ । नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार अमेरिकाले भिसा नदिएको अवस्थामा यूकेअन्तर्गतका देश ट्रान्जिट पर्ने गरेर उनीलाई पठाउने विषयमा छलफल चलिरहेको छ । अथवा अमेरिकाले आफ्नो देशमै ट्रान्जिट पर्ने गरेर उनीलाई जान दिन्छ कि दिँदैन भनेर पनि बुझ्ने प्रयास भइरहेको छ ।

अमेरिकाले भिसा नदिएको अवस्थामा यूकेको इङल्याण्ड भएर उनीलाई वेस्टइन्डिज पठाउने विषयमा पनि छलफल भएको छ । तर, अमेरिकाले भिसा नदिएको अवस्थामा यूकेले पनि आफ्ना राष्ट्र भएर सन्दीपलाई जान नदिने सम्भावना रहेको स्रोत बताउँछ ।

काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले उच्च अदालत, पाटनबाट सफाइ पाएका थिए । सफाइ पाएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको थियो । तर, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)बाट सन्दीपको नाम नेपालको विश्वकप खेल्ने टोलीमा समावेश गर्न सकारात्मक जवाफ आएपनि अमेरिकाले भिसा नदिँदा उनी जान पाएका छैनन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय