२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

भारतमा निर्वाचनको मतगणना सुरु

भारतमा सम्पन्न भएको १८ औं लोकसभा चुनावको मतगणना बिहान ८ बजेबाट सुरु भएको छ । १९ अप्रिलदेखि १ जुनसम्म डेढ महिना लगाएर लोकसभाको ५ सय ४३ निर्वाचन क्षेत्रमा मतदान भएको हो ।

निर्वाचन आयोगले पूर्व निर्धारित गरेको कार्यतालिका अनुसार मंगलबार (४ जुन) मा सबैतिर एकैसाथ मतगणना हुँदैछ । आयोगका अनुसार कुल ९६ करोड ८ लाख मतदाता मध्ये यसपटकको चुनावमा ६४ करोड २ लाखले मतदान गरेका छन् । मतदान पूर्व सोमबार आयोगले पत्रकार सम्मेलन गरेर मतगणनाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको थियो । एलेक्ट्रोनिक भोटिङ मेशिन (ईभीएम) द्वारा मतदान भएकाले गणनाको परिणाम पनि छिट्टै आउन थाल्ने छ । केही घण्टापछि चुनावी रूझान देखिने छ ।

५ सय ४३ सिट मध्ये गुजरातको एक सिट उम्मेदवारी दर्ता लगत्तै भाजपाको पक्षमा गइसकेको छ । कांग्रेसको उम्मेदवारको उम्मेदवारी दर्ता खारेजी भएपछि भाजपा उम्मेदवार निर्विरोध भएको थियो । ५ सय ४२ सिटमा गणना हुन लागेको हो ।

नतिजा पूर्व आएको एग्जिट पोलहरूले भाजप तेस्रो कार्यकाल जित्दै गरेको देखाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी अघिल्लो पटकभन्दा पनि बढी सिटका साथ पुनः प्रधानमन्त्री बन्दै गरेको एग्जिट पोलको नतिजाहरूले देखाएको छ । यद्यपी वपक्षी इन्डिया गठबन्धनका नेताहरूले त्यसलाई अस्वीकार गरेका छन् । विपक्षीले आफूहरूले कम्तीमा २ सय ९५ सिट ल्याउने र मोदी सत्ताबाट बाहिरिने दावी गरेका छन् । सरकार बनाउन २ सय ७२ सिट चाहिन्छ । एग्जिट पोलहरूले भाजपा नेतृत्वको एनडीएलाई ३ सय ५० देखि ४ सय सम्म सिट दिएको छ । प्रधानमन्त्री मोदीले ‘अबकी बार चार सय पार’ को नारा दिएर चुनावी मैदानमा उत्रिएका थिए ।

विपक्षी गठबन्धनका नेताहरूले एग्जिट पोल स्वतन्त्र नरहेको र सरकारको दवाबमा ल्याइएको आरोप लगाएका छन् । मतगणनामा धाँधली हुनसक्ने आशंका लिएर विपक्षी दलले देशैभर आफ्ना कार्यकर्तालाई पुरा सतर्कताका साथ गणनामा उपस्थित हुन भनेको छ । कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले कर्मचारी वर्गलाई खुला पत्र लेखेर कसैको डर धम्कीमा नलागेर संविधानले दिएको भूमिका स्वतन्त्र पूर्वक गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय