लक्ष्मण घिमिरे ।
नेपाली कांग्रेस मालारानी गाउँपालिकाकाे आयोजनामा दुई दिने प्रशिक्षण कार्यक्रम खनदहमा सम्पन्न भएको छ । नेता कार्यकर्तालाई प्रशिक्षित गर्ने उद्देश्यले पालिका स्तरीय प्रशिक्षण कार्यक्रमकाे आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले संगठन बलियो बनाउनेतर्फ लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति पुनले नेपाली कांग्रेसको नेतृत्वमा देशमा ठूला–ठूला परिवर्तन भएको तर नेता कार्यकर्ताले प्रचार–प्रसार गर्न नसक्दा कांग्रेसले गरेका हरेक गतिविधिहरु ओझेलमा पर्ने गरेको बताए ।
कांग्रेसले गरेका गतिविधिहरु जनताको बीचमा लैजान उनले आग्रह गरे । अन्य दलसँग गठबन्धन गरेकै कारण नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश र संघमा समेत सोंचे अनुसारको नतिजा ल्याउन नसकेको बताउँदै पुनले अब कांग्रेसका कुनै कार्यकर्ताले अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न नपर्ने बताए। अबका केही वर्ष संगठन निर्माणमा ध्यान दिए २०८४ सालमा कांग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह-महामन्त्री बिष्णुप्रसाद खनाल मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ, लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, नेपाली कांग्रेस प्रशिक्षण विभाग प्रमुख तथा पार्टी उपसभापति विष्णुप्रसाद भुसाल, सचिव कृष्ण प्रसाद खनाल, कोषाध्यक्ष बिष्णु क्षेत्री, सहसचिव कमल पौडेल, महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी, क्षेत्रीय सभापति राजेश पन्थी, छत्रदेव सभापति प्रकाश राज पन्थि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक प्राध्यापक डाक्टर कुसुमा कुमार न्यौपाने, प्रशिक्षक छन्दबहादुर पहराइले सहजीकरणषगरेका थिए ।
प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेस मालारानी गाउँपालाका सभापति शोभाखर खनालकाे अध्यक्षतामा सम्पन्न भएको हो ।