३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको सुझाव : मुख नमिठ्याउनुहाेस्

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन् ।

झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उदघाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको बताए । जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले पूर्वराजा ज्ञानेन्द्रलाई सुझाए ।

‘तानाशाहहरु, प्रतिगामीहरु सामान्तहरु पुरानै व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख मिठ्याई राखेका छन्, अपिल गरिराखेका छन्’ पुनले भने,  ‘जनताको निराशामा र असन्तुष्टिहरुमा भ्रम छरेर धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर तानाशाहहरु हिंडिराखेका छन् । खबरदार, त्यो दिवासपना नदेखे हुन्छ । जनता फेरि जाग्नेछन् ।’

उनले काठमाडौं केन्द्रित एक जाति, एक भाषा, एक संस्कृतिसहितको एकाधिकारवादी हुकुमी शासन अब सम्भव नभएको बताए । १०औं हजारको बलिदानले स्थापित गरेको व्यवस्थालाई बचाउन र सर्भिसिङमार्फत लोकतान्त्रिक गणतन्त्रमा लाखेको फोहोर सफा गर्न आफूहरु अभियान लिएर जनतामा आएको पुनले उल्लेख गरे ।

‘हामीले क्रान्ति सजिलै गरेका होइनौं । कमरेड प्रचण्डको नेतृत्वमा हामीले धेरै दुःख, कष्ट र १०औं हजारको दलिदानी गरेर देशलाई यहाँसम्म ल्याएका हौं’, उनले भने, ‘केही मान्छेले हाम्रो धैर्यता र लचकतालाई कमजोरी ठान्छन भने उनीहरुले पछुताउनुपर्नेछ ।’

पुनले वर्तमान व्यवस्था जोगाउन आगामी दिनमा पनि जस्तोसुकै बदिलानीका लागि तयार रहेको बताए ।

पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै देश यसरी नै अगाडि बढ्न नसक्ने भन्दै आफूलाई साथ दिन अपिल गरका थिए । ज्ञानेन्द्रको उक्त अभिव्यक्तिप्रति मुलधारका राजनीतिक दलका नेताहरुले सदनभित्र र बाहिरबाट प्रतिवाद गरेका छन् ।

पुनले दुई तिहाइको दुहाई दिएर सत्तामा बसेका काँग्रेस र एमालेले जनभावना अनुसार शासन सत्ता सञ्चालन नगरेको आरोप लगाए । जनताको भावनाविपरीत अघि बढे उनीहरुलाई पनि जनताले बढार्ने दिन आउने चेतावनी उनले दिए । पुनले लोकतन्त्रमा मनोमानी ढंगले चल्ने शासकको हालत के हुन्छ भन्ने ऋलंका र बंगलादेशका हालैका राजनीतिक घटनाक्रमबाट सिक्न सत्तासीनहरुलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय