कांग्रेस महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा र रकम दिने अभ्यास कानुन बनाएर रोक्नुपर्ने बताएका छन् । राज्यकोषबाट पैसा बाँड्ने नभइ पैसा वितरण रोक्ने कानुन बनाउनुपर्ने उनको भनाइ छ ।
पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने सम्बन्धमा सरकारले कानुन तर्जुमा गर्न लागेको सन्दर्भमा थापाको प्रतिक्रिया आएको हो । पाँचथर जिल्लामा शनिबार आयोजित कार्यक्रममा थापाले कानुन बिना नै राज्यका पूर्वविशिष्टहरूलाई सेवा सुविधा दिइँदै आएकोमा त्यसलाई कानुनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
पूर्वविशिष्टहरूलाई सेवा सुविधा दिनेबारे सरकारले जनतामा स्पष्ट पार्नुपर्ने थापाको भनाइ छ । राज्यकोषको दुरुपयोग भइरहेको कुरालाई रोक्न कानुन बनाउन लागेको कुरा सरकारले भन्नुपर्ने उनले बताए । ‘अहिले सरकारले के भन्नुपर्यो भने म यस्तो कानुन बनाउँछु, मैले बनाएको कानुनबाट नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सेनापति, सभामुख भइसकेको व्यक्तिहरूलाई राज्यले दिनैपर्ने न्यूनतम सुरक्षाको कुरा दिन्छु,’ थापाले भने, ‘त्योबाहेक राष्ट्रको ढुकुटीमा अत्यन्त ठूलो दबाब परेको छ, त्यसकारण सरकारले चाहेको बेलामा मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति पैसा दिने लामो समयदेखिको अभ्यास छ यो अभ्यासलाई कानुन बनाएर रोक्छु भन्नुपर्छ ।’
सरकारले के कानुन ल्याउन लागेको हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने थापाको भनाइ थियो । ‘कतिपय कुराहरूलाई ठीक समयमा ठिक ढंगले विषयवस्तु बुझाउन सक्नुपर्छ,’ उनले भने । आफू स्वास्थ्यमन्त्री हुँदा राष्ट्रको सर्वोच्च पदमा बसिसकेको व्यक्तिहरू अस्वस्थ भएमा अमेरिका, जापानलगायतका देशमा उपचार गराउँदा राज्यकोषबाट रकम तिर्ने अभ्यासको कानुन बनाएर अन्त्य गरेको थापाको भनाइ थियो । ‘कुनै पनि नेताले नेपालभन्दा बाहिर गएर विदेशमा उपचार गर्नुपर्यो भने राज्यको ढुकुटीबाट एक रुपैयाँ, पैसा पनि लिएर जान पाइँदैन भन्ने कानुन बनाएका छौं,’ त्यसरी राज्यकोषको दुरुपयोग रोक्नुपर्ने थापाको भनाइ थियो ।
स्थानीय तह र प्रदेश सरकारले पनि कानुन बनाएर पूर्वपदाधिकारीलाई सरकारी कोषबाट सेवासुविधा दिने कुराको अन्त्य गर्नुपर्ने थापाको भनाइ थियो ।
‘जुन गतिमा प्रगति हुन्छ परिवर्तन हुन्छ भनेको, भइरहेको छैन भनेर असन्तुष्टि छ । त्यो असन्तुष्टिलाई कसैले दुरुपयोग गर्न चाहिरहेका छन् । त्यो असन्तुष्टिबाट आक्रोश भएको छ । आक्रोशको आगो बलेको छ । त्यो आक्रोशको आगोमा कोही त्यहाँ घ्यु थप्न चाहिरहेका छन् । त्यो घ्यु थप्नेको अनुहार कस्तो छ, मलाई थाहा पनि छैन ।मलाई हेर्नु पनि छैन,’ उनले भने, ‘मैले के बुझेको छु भने त्यो आक्रोशको आगो निभाइदियो भने जो आगोमा घ्यु हाल्छु भनेर आएको छ त्यसले त्यो घ्यु के गर्ला ? घ्यु आफैं खाला वा घ्यु दल्ला, मजाले बस्ला, चिन्ता किन गर्ने ?’ जनतामा देखिएको असन्तुष्टि कांग्रेस, एमाले, माओवादी मिलेर समाधान गर्नुपर्ने पनि उनको भनाइ थियो ।
सरकारमा बस्नेहरूले यो बेलामा नागरिकको असन्तुष्टि हटाउनुपर्ने थापाले बताए । ‘चाहे गाउँको सरकार होस् चाहे संघको सरकार जनतामा रहेको असन्तुष्टि हटाउनुपर्छ,’ उनले भने । सरकारमा हुनेहरूले चाहिने काम मात्रै गर्नुपर्ने र नचाहिने काम गर्न नहुने थापाले बताए ।
