राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ।
वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकले २०८२ आश्विनभित्र वडा अधिवेशन, कार्तिकभित्र पालिका अधिवेशन, मङ्सिरभित्र जिल्ला अधिवेशन र माघ १५ भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्ययोजना तय गरेको छ।
यी अधिवेशनहरू सम्पन्न भएपछि फागुनमा राष्ट्रिय महाधिवेशन आयोजना गरिने झाले बताए। हालसम्म रास्वपाले १,९७५ वडामा समिति गठन गरिसकेको छ। जसमध्ये ७०० वडामा अधिवेशन सम्पन्न भएको छ। यस्तै, ७५३ पालिकामध्ये ४५८ पालिकामा समिति गठन भएको छ।
७० जिल्लामा भेला आयोजना गरी समिति गठन भइसकेको र सातै प्रदेशमा समिति गठन भएको प्रवक्ता झाले जानकारी दिनुभयो। पार्टीले महाधिवेशनको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन संगठन विस्तार र अधिवेशन प्रक्रियालाई तीव्रता दिँदै थप रणनीति बनाउने जनाएको छ।