लक्ष्मण घिमिरे
टोप बहादुर रायमाझी अर्घाखाँचीका ब्राण्ड हुन् । अर्घाखाँची जिल्लालाई देशविदेशमा चिनाउन सुपादेउराली मन्दिर, पाणिनी तपोभुमी, देशकै ठुलो नगरपालिका शितगंगा, केही राष्ट्रिय खेलाडीहरुको जती भुमिका छ, त्यो भन्दा टोप बहादुर रायमाझीको भुमिका कुनै मानेमा कम छैन । २०६४ साल यता पटकपटक अर्घाखाँचीको मन र मत दुवै जितेर जिल्लालाई परिचित गराउन सफल रायमाझी अहिले जिवनकै कठिन घडीमा छन् ।
उनीमाथी लागेको आरोप पुष्टी होला/नहोला तर उनलाई राजनितिक रुपमा, आर्थिक रुपमा र सामाजिक रुपमा सकाउँछन् कि भन्ने ठुलो पिर छ । रायमाझीलाई भेट्दा लाग्छ उनले कुनै उर्जा छरिरहेका छन्, कुनै नयाँपनको सञ्चार गरिरहेका छन् । उनि आफै प्रतिकुल वातावरणमा छन् तर उनलाई भेट्न जाने जो-कोही नयाँ आशा लिएर फर्कन्छ । उनिसंग भेट्दा रत्तीभर पनि कारागारमा छन् भन्ने आभाष हुँदैन । यही उर्जाले हाेला उनलाई फरक बनाएको छ, यही आत्मविश्वासले उनलाई परिणाममुखी बनाएको हुनुपर्छ ।
हामी जानुअँघीं एमाले नेता विशाल भट्टराईले रायमाझीलाई भेटीरहेका थिए । उनि गएपछी म (साथीहरु) त्यहाँ पुग्यौं । जिल्लावासी जो कोही होस् रुचिपुर्वक भेट्ने उनको बानी छ । पहिलेको भेट जस्तै फेरी उनले मलाई ठ्याक्कै चिन्न असमर्थ भए । मान्छे नचिन्ने तपाँईको पुरानै बानी हो क्यारे भन्दै फेरी परिचय दिएँ । हो त म अली कन्फ्युज हुन्छु क्या ! भन्ने जवाफ फर्काए । छेउँमै उनका सुपुत्र सन्दिप रामयाझी पनि आईसकेका थिए । सन्दिपले भने- मैले मान्छे चैं चिनेको रैनछु । नाम सुनेको थिएँ, बुवाको बारेमा लेखेको फेसबुक स्टाटस पनि हेरेको थिएँ ।
एकैछिन है भन्दै उनि (टोप बहादुर रायमाझी) उठेर भित्र गए । एकैछिनमा एउटा कापी र डटपेन लिएर उनी हामी भएको ठाउँमा आए । त्यसपछी उनको अनुहार मात्र हेरेर हामीले दुई घण्टा बिताएको हुनुपर्छ । जिल्लालाई कहाँ-कहाँ के आवश्यक छ ? विकासका पुर्वाधारहरु कहाँ के कमी छ, कहाँ पर्याप्त छन् ? बाटाघाटा कहाँ-कहाँ के गर्ने भन्ने विषयमा उनले कापीका केही पाना भरेका थिए । एयरपोर्ट कसरी सम्पन्न गर्ने, ढोरपाटन सडकको आवश्यक्ता कहाँ र किन छ, सुपादेउरालीको आधुनिक विकास कसरी गर्ने, पालिकाहरु जोड्ने सडक कसरी बनाउने, रोजगाी कसरी सृजना गर्ने, नौमुरे आयोजना कसरी बहुउद्देश्यिय बनाउने लगायत दर्जनौं नयाँ योजनाका खाका उनले कापीमा कोरेको रहेछन् जुन हामी गएपछी उनले सुनाए ।
श्रृङ्खलाबद्ध उनका योजना सुन्दा लाग्थ्यो उनि कारागारमा नभई सिंहदरबारमा बसेर हामीलाई जिल्ला विकासको खाका सुनाईरहेका छन् । मानौं उनलाई आफ्नो चिन्ता शुन्य बराबर छ, आफु कारागारमा भएपनी उनि अर्घाखाँचीकै माटोमा बसीरहेका छन् भन्ने आभाष उनले दिलाए । साढे ३ घण्टाको बसाईमा उनले अधिकतम समय अर्घाखाँची र त्यहाँको विकासका बारेमा चर्चा गरेर बिताए ।
एकछिन घोरिएर सोंचें-‘यिनि कुन ढुंगाबाट बनेका हुन् ? यत्रो जिवन धरापमा छ तर यिनि विकासकै चिन्ता गर्छन्, राजनितिक जिवन खतराको डिलमा छ तर जिल्लाकै बारेमा सोंच्छन्, आर्थिक रुपमा सकिने संघारमा छन् तर अर्थतन्त्र चलाएमान बनाउने खाका सुनाउँछन् ।’ साँच्चै अचम्मका छन् रायमाझी ।
कौतुहतला जाग्यो र सोधें- अनी दाजु तपाँईमाथी यत्रो आरोप छ । दुई वर्षदेखी बन्दी जिवन बिताउनु भएको छ । केस चाँही के भएको छ नि ? उनि भन्छन्- ‘मलाई कसैले किटानी जाहेरी दिएको छैन । म माथी ठुलो आरोप पनि छैन । फोटो खिचाएको भरमा, हात हल्लाएको भरमा म दुई वर्षदेखी कारागारमा छु । यो कुनै केस नै होईन । राज्यको कानुन कस्तो रहेछ भन्ने मैले बल्ल बुझें । म देशको उपप्रधानमन्त्री भईसकेको मान्छेको त यो हातल छ भनेपछी सर्वसाधारण जनताको हातल के होला अन्दाज लगाउ न भाई ।’
मलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने विषय नै होईन । यो प्रकरणमा प्रत्यक्ष परोक्ष कुनै पनि रुपमा मेरो संलग्नता छैन । मेरो बानीले मलाई फसायो भन्नुपर्छ । जसलाई पनि भेट दिने, जोसंग पनि बस्ने, कफी खाने, फोटो खिचाउने, सहयोग गर्ने मेरो बानीले मलाई यहाँसम्म पुर्यायो । तर मलाई पुरै विश्वास छ म सफाई पाउने व्यक्ती हुँ । धेरै अँघीं नै यसको छिनोफानो हुनुपर्ने हो तर धेरै कारणहरु छन् जसले यो केसलाई पछि धकेलीरहेको छ ।
पहिलो पटक भेट्दा उनले भनेको वाक्य थियो ‘माओवादी छोडेको एमाले भई नसकेको परेछु’ । अहिलेको भेटमा पनि त्यही भावको उनको कुरा थियो । उनले भने ‘पुरानाले फसाए, नयाँले चाँसो दिएन’ । उनको भनाईको अर्थ थियो माओवादीले दल छोडेका कारण जबरजस्ती फसायो र एमालेले जती चाँसो दिनुपर्ने थियो त्यो दिएन ।
मलाई मेरो चिन्ता छैन किनकी नखाएको विष लाग्दैन भन्नेमा मेरो पुरापुर विश्वास छ । म भित्र आउनाले अर्घाखाँचीको विकास रोकिएजस्तै भएको छ । माननीयहरु हुनुहुन्छ, मुख्यमन्त्रीनै हुनुहुन्छ तर सबै खुद्रे काममा लागेका हुन् कि झैं लाग्छ । अर्घाखाँचीमा विकासका चरणहरु रोकिएका छन् । खै त ? म भित्र आएपछी कसैले किन विकासलाई अँघीं बढाउन सकेन ? म नभएपनि जिल्लाको विकास रोकिनु हुन्न । जिल्लाको विकासमा सबै केन्द्रीत हुनुपर्ने थियो । तर, सबै खुद्रे व्यापारमा रमाएको पाएँ । म निस्किएपछी दोब्बर भरपाई गर्नेछु, क्षतिपुर्तीसहित विकासका कामहरु अँघीं बढाउने छु ।
उनलाई भेटेपछी मलाई लाग्यो कतै रायमाझी अन्यायमा त छैनन् ? कतै अर्घाखाँची अन्यायमा परेको त छैन ? के नियोजित रुपमै उनलाई फासाईएको हो त ? राजनिती प्रतिशोधकै कारण दुई वर्षदेखी रायमाझी बन्दी जिवन बिताईरहेका हुन् ? के अहिलेको उनि आबद्ध दल (एमाले) को पनि उनि चाँसोमा नपरेका हुन् ? माओवादी र एमालेको स्वार्थपुर्ण राजनितिको भुमरीमा उनि फसेका हुन् त ?
जे भएपनि न्यायको अनुभुत रायमाझीले गर्न पाउनुपर्छ र जिल्लावासीले पनि न्याय पाउनु पर्छ ।
केस फितलो नै छ भन्ने उनको मुद्दा हेरिरहेका अधिवक्ता (वकिल) धर्म रेग्मी बताउँछन् । उनि विरुद्ध किटानी जाहेरी नपर्नु, प्रहरी हिरासत भित्र रायमाझीको नाम लिएकाहरुले अदालतमा होईन भन्नु, अनुसन्धान सकिएपनी पेशी नतोकिनु, तोकिएको पेशी बारम्बार सर्नु लगायतका क्रियाकलाप शंकासपद नै देखिन्छन् ।
रायमाझीका छोरा सन्दिपले पनि यो प्रकरणका बारेमा आफुलाई प्रहरीले समातेपछी मात्र थाहा भएको बताउँछन् । ‘मलाई यो केस के हो ? यो भुटानी शरणार्थी भन्ने के हो भन्ने नै थाहा थिएन । एक्कसी प्रहरी आएर लग्यो, अनि बिस्तारै बुझ्दै गएँ ।’
यो प्रकरणले कसलाइ के फाईदा/घाटा भयो थाहा छैन तर, अर्घाखाँचीको समग्र विकासका लागी टोप बहादुर रायमाझी आवश्यक पात्र हुन् । जिल्लाका हरेक नागरिकले उनलाई खोजिरहेको छ, हरेक क्षेत्रले उनको अभाव महसुस गरिरहेको छ ।
साढे तिन घण्टाको अविस्मरणीय बसाईपछी मनै मनले भगवान पुकारें र भनें ‘कि अर्को टोप बहादुर जन्माईदेउ कि पुरानै टोप बहादुर फर्काईदेउ’
(उनिसंगको बसाईपछी सोही कारागारमा रहेका निलम्बित गृहसचिव टेक नारायण पाण्डे (जिल्लावासी) संगपनि धेरैबेर छलफल गर्यौं)