
- नालन्दा र विक्रमशीलाजस्ता प्राचीन विश्वविद्यालयहरूले नेपालको गुरुकुल परम्परासँग जोडिएर विश्वमै ज्ञानको ज्योति फैलाउन ऐतिहासिक भूमिका निर्वाह गरेका थिए।
- त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण र शैक्षिक क्षेत्रमा देखिएको नैतिक ह्रास वर्तमानका चुनौती हुन् भने गेटा मेडिकल कलेज सञ्चालन गर्ने पहल आशाको किरण बनेको छ।
- शिक्षामा प्राविधिक सुधार, मल्टिसिफ्ट प्रणालीको कार्यान्वयन र दीर्घकालीन भिजन अपनाए मात्र नेपालले आफ्नो प्राचीन गौरव फर्काउँदै राष्ट्र रूपान्तरण गर्न सक्छ।
सभ्यताको इतिहासमा ज्ञानको ज्योति सर्वप्रथम प्रज्ज्वलित भएको स्थान एसियाको भूमि थियो। नालन्दा महाविहार ४२७ इस्वीमा गुप्त सम्राट कुमारगुप्त प्रथमद्वारा स्थापित विश्वको पहिलो आवासीय विश्वविद्यालय थियो । यो विहार नालन्दा जिल्लामा विहार सरिफको समीपमा पटनाबाट लगभग ९० किलोमिटर दक्षिणपूर्वमा पर्छ। यसले १० हजार विद्यार्थी र दुई हजार शिक्षकलाई आश्रय दिएको थियो र यसको ‘धर्मगन्ज’ नामको पुस्तकालयमा नौ मिलियन हस्तलिखित पाण्डुलिपि थिए । यो ऐतिहासिक विरासतलाई युनेस्कोले सन् २०१६ मा विश्व धरोहर स्थल घोषित गरेको थियो । यो ऐतिहासिक शैक्षिक धरोहरमा प्रसिद्ध विद्वानहरू चिनियाँ यात्री ह्वेन सांग र इत्सिंगले शिक्षा ग्रहण गरेका थिए । आर्यभट्ट, नागार्जुन र धर्मपालजस्ता महान् विद्वान्समेत यो संस्थासँग जोडिएका थिए।
विक्रमशिला विश्वविद्यालय पाल सम्राट धर्मपालद्वारा आठौं–नवौं शताब्दीमा स्थापित भयो । यो विहार राज्यको भागलपुर जिल्लामा कहलगांवको नजिकै ‘अंतीचक’ गाँवमा अवस्थित छ । यो नालन्दाको गुणस्तरमा देखिएको ह्रासलाई पूर्ति गर्न स्थापित भएको थियो र तान्त्रिक बौद्ध धर्म तथा वज्रयान शिक्षा केन्द्रको रूपमा प्रसिद्ध थियो। यो संस्थामा महान् विद्वान् अतीश दीपंकर श्रीज्ञान थिए, जसले तिब्बतमा बौद्ध धर्म प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका निर्वाह थिए । यी दुवै विश्वविद्यालयहरू अक्सफोर्ड ( सन् १०९६ मा शिक्षण सुरु) र क्याम्ब्रिज (सन् १२०९) स्थापना हुनुभन्दा ५००–७०० वर्षअघि नै सञ्चालनमा थिए । हार्वर्ड विश्वविद्यालय (सन् १६३६) त झन् यी प्राचीन केन्द्रहरूभन्दा १२ सय वर्षपछि स्थापित भयो । नालन्दा र विक्रमशीलाले पूर्वी तथा मध्य एसियाबाट विद्यार्थी आकर्षित गरेका थिए र चिनियाँ विद्वान् ह्वेनसाङजस्ता विदेशी विद्वान्हरूले पनि यिनको प्रशंसा गरेका थिए । नेपाल यस गौरवशाली परम्परासँग जोडिएको थियो । काठमाडौं उपत्यकाका विहार र गुरुकुलहरू वैदिक तथा बौद्ध परम्परामा रमेका थिए । वाराणसी (काशी) मा नेपाली विद्वान् अदिकवि भानुभक्त आचार्य, मोतिराम भट्टलगायतले अध्ययन गरेका थिए । हाम्रो गुरुकुल प्रणाली शुल्क–मुक्त, आवासीय र समग्र विकासमा केन्द्रित थियो । नेपालको शैक्षिक इतिहास अत्यन्त गौरवशाली छ । प्राचीनकालदेखि नै गुरुकुल प्रणालीले ज्ञानको प्रसारमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । यो प्रणालीमा विद्यार्थी (शिष्य) गुरुको आश्रममा बस्ने, दैनिक जीवनका कामहरू गर्दै र गुरुबाट मौखिक रूपमा वेद, व्याकरण, दर्शन, ज्योतिष, चिकित्सा, कला आदि विषयहरू सिक्ने गर्थे । गुरुकुल केवल किताबी ज्ञानमा सीमित थिएन । यो चरित्र निर्माण, अनुशासन, नैतिकता र समग्र व्यक्तित्व विकासको केन्द्र थियो । आज नेपालमा गुरुकुलहरूको संख्या घटेको छ तर देवघाट, स्वर्गद्वारी, मटिहानीजस्ता ठाउँमा केही जीवन्त छन् । आधुनिक समयमा यिनलाई विज्ञान, कम्प्युटर र समसामयिक विषयसँग जोडेर पुनर्जीवित गर्ने प्रयास भइरहेका छन् । नेपालको प्राचीन गुरुकुल परम्परा नालन्दा–विक्रमशीलाको गौरवसँग जोडिएको छ । यो केवल शिक्षा प्रणाली थिएन, यो संस्कृति, मूल्य र सभ्यता संरक्षणको माध्यम थियो।
आधुनिक शिक्षा प्रणालीसँग यसको समन्वय गर्दा नेपालले आफ्नो मौलिक पहिचान कायम राख्दै गुणस्तरीय शिक्षा दिन सक्छ । यो पवित्र ज्वाला आधुनिक नेपालमा १९५९ मा त्रिभुवन विश्वविद्यालयमार्फत पुग्यो । राणा शासनको अन्धकारपछि लोकतान्त्रिक वसन्तमा जन्मिएको यो विश्वविद्यालय त्रिपुरेश्वरबाट सुरु भयो । राजा त्रिभुवनको देहावसानपछि उहाँका दुई महारानीहरू कान्ति राज्यलक्ष्मी देवी शाह र ईश्वरी राज्यलक्ष्मी देवी शाहले विश्वविद्यालय स्थापनाका लागि निर्णायक योगदान दिनुभयो । उहाँहरूले कीर्तिपुर क्षेत्रमा तीन सय ७५ रोपनी जग्गा दान गर्नुभयो, व्यक्तिगत गहना बेचेर निर्माण खर्चमा सहयोग गर्नुभयो र आधारशिला राख्नुभयो। यो उदार दानले आजको ठुलो केन्द्रीय क्याम्पस सम्भव बनायो । दुर्भाग्यवश, त्यही दान गरिएको जग्गामाथि विगत ३५ वर्षमा ठुलो अतिक्रमण भएको छ । त्रिभुवन विश्वविद्यालय जग्गा छानबिन समितिको २०८१ को रिपोर्टअनुसार कुल पाच हजार २१८ रोपनीमध्ये दुई हजार ५३९ रोपनी अतिक्रमणमा परेको छ (कीर्तिपुरमा मात्र एक हजार ८४३ रोपनी) । यो रिपोर्टमा आफ्नै राजनीतिक कार्यकर्ताको नांगो यथार्थ देखेपछि सरकारले यो प्रतिवेदन लुकायो र सुशासनको भ्रामक गीत गाइ नै रह्यो।
राजनीतिक कार्यकालभन्दा ठुलो हुन्छ दृष्टि
‘यथा चित्तं तथा वाचो, यथा वाचो तथा कर्म’ अर्थात्, जस्तो सोच त्यस्तै वचन, जस्तो वचन त्यस्तै कर्म । अभियानले सिट जित्न सक्छ तर दृष्टिले राष्ट्र रूपान्तरण गर्छ । नेपालको नयाँ राजनीतिक लहरले दशकौंदेखि थिचिएको ऊर्जालाई मुक्त गर्यो । अब नेतृत्वले महिनामा होइन, दशकमा सोच्नुपर्ने समय आएको छ।
विश्वका उदाहरणहरूबाट पाठ सिक्दै हामीले त्यसलाई अँगाल्न सक्नुपर्छ, जस्तै फिनल्यान्डको शिक्षा क्रान्ति – एक पुस्ता होइन, तीन पुस्ताको योजना । जापानको पुनर्निर्माण– दृष्टि, अनुशासन र दीर्घकालीन लगानी । नार्डिक देशहरूको स्वास्थ्य–कल्याण मोडल – राज्यको कर्तव्य, नागरिकको सम्मान।
शिक्षालाई अझ प्राविधिक बनाएर गरिब परिवारसम्म लैजाने हो भने ‘मल्टिसिफ्ट’मा जानैपर्छ । यसमा कुनै आर्थिक व्ययभार नभई एउटा सानो पोलिसी परिवर्तनले भोलिबाटै काम गर्न सकिन्छ । हामीले पुराना गाडीलाई विद्युतीय गाडीमा जसरी परिवर्तन गर्न पाउने नीति बनायौं, त्यसरी नै शिक्षामा परिवर्तन गर्न सकिन्छ।
नेपालको शैक्षिक अवस्था: केही कठोर यथार्थ विवरण
यतिखेर नैतिकता, आदर्श र चरित्र निर्माणको क्षेत्रमा ठुलो ह्रास आएको छ । हामीले संस्कृतजस्तो समुन्नत भाषालाई ‘बाजेहरूको पाण्डित्य’ मात्र ठानेर पाठ्यक्रमबाट हटायौं । संस्कृत पढ्ने विद्यार्थीको टुप्पी काटियो, शिक्षकहरूलाई झुन्ड्याइयो । क्रान्तिकारी बन्न हात उठाउन सिकायौं तर बुबा मर्दा कपाल नकाट्ने, सपथ लिँदा ईश्वरको नाम नलिनेजस्ता परम्परालाई अनावश्यक ठान्यौं । होली वाइन र चरम आधुनिकतावादी अभियन्ताहरूको बिगबिगी चरमोत्कर्षमा पुगेपछि देशले नयाँ बाटो लिएको छ । तर आशाका किरण देखापरेका छन् । सरकारले एसइई नतिजा एक महिनाभित्र प्रकाशन गर्ने र पार्टी–सम्बद्ध विद्यार्थी युनियन खारेज गर्ने साहसी कदम चालेको छ । धन्यवाद सरकारलाई ! अब प्रधानमन्त्री बालेन्द्र शाहले धनगढीमा गरेको वाचा पूरा गर्ने बेला आएको छ।
सुदूरपश्चिममा देखिएको नयाँ आशा
चुनावी अभियानका क्रममा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले भावुक हुँदै भनेका थिए– ‘सुदूर अब दुर नाइ, झिक्कै झिक्कै माया तम्लाई ।’ सुदूरपश्चिमको विकासलाई प्राथमिकता दिँदै बालेन सरकारले अब एक महत्त्वपूर्ण कोसेढुंगा राख्दै छ । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी तीव्र बनाएको छ । यसका लागि पूर्वाधार विकासमा रोकिएको करिब ४३ करोड रुपैयाँ छुट्याउने र आगामी शैक्षिक वर्षदेखि एमबिबिएसलगायत मेडिकल शिक्षाका कार्यक्रम सञ्चालन गर्न थप करिब दुई अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गर्न सरकार तयार रहेको छ। यसअघि वर्षौंदेखि निर्माण सम्पन्न भएर पनि माकुराको जालोले भरिएका भवनहरू र ३०० शड्ढयाको अस्पताल जीर्ण अवस्थामा थियो । कसैको ध्यान नपुगेको यो संस्थान अब सञ्चालनमा आएको छ । यसले सुदूरपश्चिमका जनतालाई स्वास्थ्य सेवामा ठुलो राहत दिनेछ र स्थानीय विद्यार्थीहरूले अब एमबिबिएस पढ्नका लागि काठमाडौं वा विदेश जानुपर्ने बाध्यता हट्नेछ।
कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय
शिक्षा केवल ज्ञानको हस्तान्तरण होइन, यो राष्ट्रको भविष्य निर्माण गर्ने आधार हो । शिक्षित जनशक्ति राष्ट्रको मेरुदण्ड हो र अनुसन्धान राष्ट्रको दृष्टि । आजको दिनमा, जब नेपाल सकारात्मक परिवर्तनको दिशातर्फ अग्रसर हुँदै छ, हामीले शिक्षालाई सबैको पहुँचमा पुर्याउने, अनुसन्धानलाई प्राथमिकता दिने र विदेशमा रहेका प्रतिभाहरूलाई देशमै फर्काउने नीति अवलम्बन गर्न आवश्यक छ।
सरकारी इन्जिनियरिङ, मेडिकल आदि संस्थानमा चार सिफ्ट (वा तीन सिफ्ट) लागु गर्दा एउटा इँटा पनि थप्नु पर्दैन तर क्षमता साढे दुई–तीन गुणा बढ्छ । यसले वर्षमा तीन हजार तीन सयदेखि चार हजार सात सय थप स्नातक उत्पादन गर्छ र एक हजार ६ सयदेखि दुई हजार आठ सय भन्दा बढी नयाँ पद सिर्जना गर्छ । गरिब विद्यार्थीले सस्तोमा शिक्षा पाउँछन् । यो सभ्यतागत न्याय हो । नालन्दा र विक्रमशीलाको ज्वाला नेपालको आत्मामा अझै बलिरहेको छ । चार सिफ्ट शैक्षिक क्रान्ति अब विकल्प होइन । यो नेपालको भाग्य हो । समय अहिले नै हो।
‘यथा राजा तथा प्रजा’ अर्थात् जस्तो नेतृत्व, त्यस्तै समाज । हरेक निर्णयले सन्देश दिन्छ, हरेक कार्यले उदाहरण बनाउँछ । आजका युवा भोलिका नेता हुन् । उनीहरूले अब स्वार्थ होइन, सेवा देख्न चाहन्छन् । छोटो बाटो होइन, सही बाटो देख्न चाहन्छन् । नेपालको नयाँ राजनीतिक सुनामीले यही देखायो– युवा पुस्ता अब भय होइन, भविष्य खोज्दै छ।
