२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

२२ वर्षदेखि दोहोरीका दौंतरी रिता र पशुपति

कुनै समय पशुपति शर्मा र रिता थापा मगर राजधानीका दोहोरी साँझ घन्काउँथे। एकातर्फ, धमाधम खुलेका दोहोरी साँझ चलायमान बनिरहेका थिए। अर्कोतर्फ, राष्ट्रिय स्तरका प्रत्यक्ष दोहोरी प्रतियोगिताको लहर थियो।

दोहोरी साँझमा सँगै गाउने पशुपति र रिता प्रतियोगितामा पनि जोडी बनेर पुग्थे र प्रायः प्रथम स्थान हासिल गर्थे। प्रत्यक्ष दोहोरीमार्फत पशुपति र रिताले ‘अफिसियल’ गीत नल्याउँदै एक किसिमको चर्चा कमाइसकेका थिए। देश–विदेशका सांगीतिक कार्यक्रममा समेत पशुपति र रिताको माग बढ्दै थियो।

त्यसको ७/८ वर्षपछि पशुपतिका गीतहरूले बजार पिट्न थाले। उनी समसामयिक परिवेशमा रहेर कहिले मायाप्रेम, कहिले समाजिक त कहिले राजनीतिक विषयमा गीत ल्याउँछन्। प्रायः ठट्यौली शैलीका गीत ल्याउने उनी विकृतिमाथि व्यंग्य गर्दै केही सन्देश दिने प्रयास गर्छन्।

यही खासियतले उनले लोक–दोहोरीमा आफ्नो अलग पहिचान बनाए।

‘मलाई अमेरिका यही’, ‘ढाड दुखेर मार्‍यो’, ‘क्रिकेट खेल्न जान्छु’, ‘लुट्न सके लुट्’ देखि भर्खर सार्वजनिक भएको ‘झोले त तैं, झोले त मैं’ सम्म आउँदा पशुपतिले सधैं स्रोता/दर्शकको ध्यान तानिरहेका छन्। उनी सिर्जनामार्फत बेलाबेला राजनीतिक वृत्तमा समेत तरंग ल्याउँछन्। ‘लुट्न सके लुट्’, ‘झोले त तैं, झोले त मै’ आदि त्यसका उदाहरण हुन्।

यता रिता केही वर्ष सांगीतिक क्षेत्रबाट हराइन्। संख्यात्मक हिसाबले अलि कम गीत ल्याएकी उनी संगीतलाई ‘ब्रेक’ लगाएर पोखरामा व्यवसाय गरेकी थिइन्। केही वर्षपछि उनी फेरि गायनमा फर्किइन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको गत महाधिवेशनबाट प्रतिष्ठानको २४ वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष बनिन्।

एक वर्षअघि रिताले ल्याएको ‘ए आमा जाम भन्यो मलाई’ बोलको गीतले त उनलाई गायिकाको रूपमा पनि फेरि परिचित गरायो। गीत एक वर्षमा ३ करोड ४२ लाखपटक हेरिएको छ।

झन्डै २२ वर्षअघि दोहोरी साँझले भेट गराएका पशुपति र रिताले केही गीतमा सहकार्य गरे। अहिले उनीहरूको सहकार्य सांगठनिक रूपमा जारी छ। लोक तथा दोहोरी गीतसँग सम्बन्धित ३५ हजार बढी कलाकार सदस्य रहेको दोहोरी गीत प्रतिष्ठानको अध्यक्षको कार्यभार रिताले सम्हालिरहँदा पशुपति वरिष्ठ उपाध्यक्ष छन्।

सेतोपाटीको ‘द कन्भरसेसन’ शृंखलामा यस पटक लोक–दोहोरीका यिनै दुई हस्ती, मिल्ने साथी, अझ भनौं दोहोरी दौंतरीले एकअर्कासँगै गफ गरे।

रिता सम्झन्छिन्— सुरूआतमा दोहोरी साँझमा गाउँदा उनलाई पशुपतिले निकै हौसला दिन्थे। दोहोरी फर्काउन सिकाउँथे। त्यसैले पनि उनी आफू गायिका बन्नुको श्रेय पशुपतिलाई दिन्छिन्।

‘सुरूमा स्टेज चढेर गाउन लाज लाग्थ्यो। त्यस बेला पशुपतिले गाली गरेको सम्झन्छु। त्यही इखले सिक्ने प्रयास गरेँ। केही समयपछि दोहोरी प्रतियोगितामा विजेता बनेर फर्किएँ। पछि व्यवसायमा लाग्दा पनि गीत ल्याउनु पर्दैन भनेर झक्झक्याइरहने पशुपति नै हो,’ उनले भनिन्।

पशुपति सुरूआति दिनदेखि नै दोहोरी गाउन र फर्काउन माहिर थिए। त्यसैले उनी आफूसँग अग्रज गायिका दोहोरीमा भिड्न आइदिए हुन्थ्यो भन्ने सोच्थे।

‘एक महिना दोहोरीमा गाउँदा जो आए पनि दोहोरी फर्काउन सक्ने भइसकेको थिएँ। चलेका गायिका आउँदा झन् मज्जाले गाउँछु भन्ने आत्मबल थियो’, उनी सम्झिन्छन्।

पशुपतिका लागि गायन क्षेत्र त्यति सहज भने थिएन। सरकारी जागिर खाओस् भन्ने परिवारको चाहना विपरीत उनी यस क्षेत्रमा लागेका थिए।

‘गीत–संगीतमा लागेर छोरो बिग्रियो’ भनेर धेरै पछिसम्म पनि उनले आमाबुबाको गुनासो सुन्नुपर्‍यो। अर्कातिर, प्रत्यक्ष दोहोरीमा माहिर भए पनि पशुपतिलाई एल्बमका लागि साथीभाइले समेत पत्याउँथेनन्।

धेरैले उनलाई हतोत्साही गर्दै भन्थे, ‘एल्बममा चल्न स्वर राम्रो चाहिन्छ, तँ चल्दैनस्!’ कम्पनीहरूमा गीत दिन जाँदा पनि उनको स्वर हटाएर चलेका अरू गायकको स्वर राख्नुपर्‍यो भन्ने कुरा आउँथ्यो।

‘मलाई एउटा गीत गाउन १२ दिन लागेको थियो। धेरैले एल्बममा गाएर खाँदैनस् भन्थे। तर पनि म पछि हटिनँ,’ पशुपतिले भने, ‘अरूकै शैलीको गीत गरेँ भने नचल्न सक्छु भनेर मैले आफ्नो शैली नै पृथक बनाएँ।’

आफै लेख्ने, संगीत भर्ने, गाउने र अभिनय पनि गर्ने उनी सिर्जनामा व्यंग्य तथा कमेडी घुसाउन थाले। क्रमशः स्रोता–दर्शकको मन जित्दै लोक–दोहोरीमा शिखर चढ्दै गए। तीजगीतहरू पनि चलिसकेका थिए।

देशमै इलम गर्न प्रेरित गर्ने ‘मलाई अमेरिका यही’ बोलको गीत आएपछि परिवारको गुनासो पनि हटेर गयो।

यस्तै, रिता लोक–दोहोरी क्षेत्रमै लाग्ने र केही गर्ने सपना बोकेरै काठमाडौं आएकी थिइन्। बीचमा केही वर्ष संगीतबाट टाढा हुनु आफ्नो योजना अनुसार नै रहेको उनले बताइन्।

‘व्यवसायबाट पैसा कमाउने र यही लोक–दोहोरी क्षेत्रमै केही गर्ने भनेरै लागेकी थिएँ,’ उनले भनिन्, ‘त्यही व्यवसायले नै अहिले मलाई सपोर्ट गरेको छ।’

पशुपति र रिता दुवैको अनुभवले भन्छ – सपना देख्ने र त्यसमा मनदेखि आँटेर काम गरियो भने सफलता पाइन्छ।

रिता लोक–दोहोरीमा भविष्य बनाउने सपना बोकेका थुप्रै नव–कलाकारहरू भेट्छिन्। संघर्षको केही वर्षमै निराश भएका समेत भेट्छिन्।

‘पशुपति शर्मा, रामजी खाँडजस्तो कहिले बन्ने भन्नुहुन्छ,’ नव–कलाकारलाई रिता भन्छिन्, ‘पशुपति शर्माको संघर्षको दिन कस्तो थियो, कसरी संघर्ष गर्दै आउनुभयो भन्ने पनि हेर्नुपर्छ। अहिलेको पशुपति शर्मा मात्रै हेरेर हुँदैन।’

पशुपतिले पछिल्ला केही वर्ष व्यंग्यभन्दा बाहिरी गीत पनि गाए। अरूका गीत गाए, भिडिओमा नाचे पनि। त्यस्ता गीतमा आफूलाई अलि नसुहाएको हो कि भन्ने उनले अनुभव गरे।

सुरूमा जुन हिसाबले स्रोतादर्शकले रूचाए, पछि पनि त्यही खोज्दा रहेछन् भन्ने उनलाई लाग्यो। त्यसपछि ‘झोले त तैं, झोले त मै’ बाट फेरि पुरानै धारमा फर्किएको पशुपतिले बताए।

उनले भने, ‘पहिल्यैदेखि गीतमा केही न केही व्यंग्य गर्छु। व्यंग्यसँगै त्यसले केही सन्देश पनि देओस् भन्ने चाहना हुन्छ। बीचमा दुई/चार वर्ष आफ्नोपन छाडेको थिएँ। आफ्नै धारमा फर्किनुपर्छ भनेर यो गीत ल्याएँ।’

यो गीतलाई लिएर कतिपयले आलोचना समेत गरे। यद्यपि, आफू कसैप्रति पूर्वाग्रही नभई नेता, कलाकार वा उच्च पदमा रहेका जो–कोही बिग्रिनुमा हाम्रो पनि दोष छ भनेर सचेत गराउने उद्देश्य रहेको उनले बताए। आउँदा दिनमा पनि यस प्रकारका गीतलाई नै प्राथमिकता दिनेछन्।

‘लुट्न सके लुट्’ गीत त्यस बेला युट्युबमा ‘प्राइभेट’ गर्न किन बाध्य भए भन्नेबारे पनि उनले बताएका छन्। अहिलेको गीतलाई लिएर पनि कतिपयले विभिन्न प्रश्न गरेको पशुपतिले सुनाए। उनले गीतको भाव बुझिदिन सबैलाई आग्रह गरे।

पशुपतिलाई बेलाबेलामा राजनीतिक ‘ट्याग’ समेत लाग्ने गरेको छ। यो सन्दर्भमा पनि उनले कुरा गरेका छन्।

‘म कहिल्यै पार्टी हेरेर भोट हाल्दिनँ। घरमा आमाबुबा फरक फरक पार्टीमा हुनुहुन्छ। श्रीमती अर्को पार्टीमा छ। म कहिल्यै किन यसमा भनेर सोध्दिनँ पनि। हामीले पार्टीभन्दा व्यक्ति छान्नुपर्छ भन्ने लाग्छ,’ उनले भने।

दोहोरी गीत प्रतिष्ठानको तीनवर्षे कार्यकाल फागुनमा सकिँदैछ। अब अध्यक्षको लाइनमा पशुपति छन्। भिडिओमा उनीहरूले यसबारे पनि छोटो कुरा गरेका छन्।

रिता अब अलि छोटो छोटो समयमा सिर्जना ल्याउने योजनामा छिन्।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय