१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

राजनीतिक विश्लेषक विजयकान्त कर्ण

जेन–जी आन्दोलनपछि पुराना दल रूपान्तरित हुने सम्भावना कति देख्नुहुन्छ ?
अहिलेसम्म दलका नेतृत्वको रबैया या चालामाला हेर्दा कुनै पनि दल र तिनको नेतृत्व रूपान्तरित हुने सम्भावना कत्ति पनि देखिन्न । दलहरूको नेतृत्वले बाँचुन्जेल पद, विचार र आचरण छाड्दै नछाडेपछि कसरी होला रूपान्तरण ? नेतृत्वको जीवन पद्धति नै भ्रष्ट छ । उनीहरूको नीति र व्यवहारमा तानासाहीपन झल्किन्छ । उनीहरू पार्टी र सत्ता दुवैतिर अधिनायकवादी देखिन्छन् । उनीहरूले पार्टी र सत्ताको नेतृत्वमार्फत कानुन र मिडियामाथि कब्जा गरेर आफूलाई निष्कण्टक बनाउने चेष्टा गर्छन् । नयाँदेखि पुराना दलहरूको नेतृत्व आफू सुध्रिँदैनन्, आफूबाहेक कोही पनि पार्टी या देशको सत्तामा पुगेको देख्न सक्दैनन् । अनि यस्तो अवस्थामा कसरी र कुनचाहिँ दलमा सम्भव हुन्छ रुपान्तरण ?

दलहरूको नेतृत्व रूपान्तरणमा किन यतिबिघ्न सकस भएको होला ?
पार्टी नेतृत्वमा पुगेपछि नेताहरूले पार्टी होइन, गुट चलाउन थाल्छन् । केन्द्रीय समितिदेखि पार्टीका जनवर्गीय संगठनसम्म सर्वत्र नेताले आफ्नो गुट बनाउँछन् । नेतृत्वले जे बोले पनि या जे गरे पनि मौन रहेर सहमति जनाउने र थपडी बजाउने अन्धभक्तहरूको गुटको साथ र समर्थन पाएपछि नेतृत्वले किन छाड्ने ? फेरि पार्टी सत्ताबाट बाहिरिनासाथ आफूमाथि विगतमा गरेका गल्तीको छानबिन गरी कानुनी कठघरामा उभ्याइएला भन्ने भयबाट आक्रान्त भएकाले पनि रुपान्तरण हुन नेतृत्वलाई सकस भएको हो ।

दलहरूमा दोस्रो या तेस्रो पुस्ता भनिने नेताहरूले यतिखेर के गर्नुपर्ला ?
नेतृत्वले छाडिदियो भने आफूहरू अनाथ या टुहुरो हुने मनोविज्ञानबाट ग्रस्त दोस्रो र तेस्रो पुस्ताका नेतामा नेतृत्वलाई छाड भन्ने र नेतृत्वमा दाबी गर्ने नैतिक साहस नै छैन । सबैमा भोलि खान नपाइएला भन्ने चिन्ता मात्र छ । नेतृत्वको गुलामी गर्ने गुलाम मानसिकता बोकेका दोस्रो या तेस्रो पुस्ताबाट ठुलो अपेक्षा गर्न सकिने अवस्था अहिलेसम्म देखिएको छैन ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय