नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको टिमको छलफलले देश असहज परिस्थितिमा रहेको समीक्षा गर्दै अहिले नियमित महाधिवेशन र आम निर्वाचनमा पार्टी केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको छ। शनिवार काठमाडौंको विशालनगर स्थित सम्पर्क कार्यालयमा नेता कोइरालाले उपलब्ध आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायतका नेताहरूलाई डाँकेका थिए। जसमा उनले नेताहरूबाट राय सुझाव लिने गरी बोलाइएको सचिवालयले जनाएको छ।
छलफलमा नेता कोइरालाले पहिले देशको समसामयिक राजनीतिक परिस्थिति, कांग्रेसको अवस्था र महाधिवेशनका विवादबारे ‘ब्रिफिङ’ गरेको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले बताए।
नेता कोइरालाले ब्रिफिङका क्रममा पार्टी र मुलुकको राजनीतिक अवस्था निकै कमजोर अवस्थामा रहेको बताएको दोलखा कांग्रेसका पूर्व सभापति बर्मा लामाले बताए। ‘उहाँले मुलुक र पार्टी निकै कमजोर अवस्थामा रहेको बताउनुभयो। मुलुकको यो अवस्थाको निकास तत्काल निर्वाचन नै भएको भन्नुभयो,’ लामाले भने, ‘साथै नेपाली कांग्रेस एक ढिक्का भएर, पार्टीभित्रको एकता अक्षुण्ण राखेरै अगाडि बढ्नुपर्ने अवस्था रहेको भन्नुभयो।’ त्यसपछि उपस्थित नेताबाट राय सुझाव मागेको लामाले जानकारी दिए।
बैठकमा सहभागी केन्द्रीय सदस्य दीपक गिरिले अधिकांश उपस्थित नेताले विशेष महाधिवेशनले पार्टी विभाजन हुने चिन्ता व्यक्त गरेको बताए। ‘पार्टीलाई बलियो एकता चाहिएका बेला विशेष महाधिवेशनले झन् कमजोर बनाएर फुटाउने हो कि भन्ने चिन्ता अधिकांश नेतामा देखियो,’ उनले भने।
पुस २३ गते राष्ट्रिय सभाको मनोनयन र माघ ६ गते प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयनको समय आइरहँदा चुनाव अगावै पार्टीको नियमित महाधिवेशन पनि सम्भव नभएको छलफलले समीक्षा निकालेको छ।
‘नियमित महाधिवेशन समयमै गर्नुपर्छ भन्ने त सबैको मत हो। तर अहिलेको स्थिति त्यो देखिएन। तोकिएको मितिमा क्रियाशील सदस्यता नटुङ्गिँदा सम्भव हुन सकेन,’ केन्द्रीय सदस्य गिरिले भने,‘त्यसैले अब हिजो(शुक्रबार)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ल्याएको निर्णय आत्मसात् गर्दै त्यसैलाई अघि बढ्ने निष्कर्ष निस्कियो।’
नियमित महाधिवेशनको कार्य तालिका नै आइसके पछि विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको कुरा शेखर समूहको छलफलले पनि निष्कर्ष निकालेको छ। ‘यस्तो निष्कर्ष निस्किए पनि विशेषको माग गरेका साथीहरूलाई पनि मिलाउन सबै सक्रिय हुनुपर्ने सबैको धारणा छ,’ नेता गिरीले भने।
छलफलको समीक्षा सुनाउँदा नेता कोइरालाले हालसम्म पार्टी सञ्चालनमा भए गरेका सबै कमजोरी सबैले ‘म–म’ भनेर मनन गरेर जानुको विकल्प नभएको बताएका थिए।
‘अहिलेको परिस्थितिमा गल्ती सबैको छ। सभापति(शेरबहादुर देउवा)को पनि होला, महामन्त्रीहरूको पनि होला। मेरो पनि छैन भन्दिनँ। त्यसैले अब गल्तीमा सबैले म–म भनेर जाँदा पार्टी एक ढिक्का बन्छ,’ नेता कोइरालाको भनाई उद्धृत गर्दै एक नेताले भने।
‘पहिलो मंसिरमा गरौँ भन्दा मानेनन्, अहिले विशेषको हठ छ’
छलफलमा पहिले सामान्य अवस्था हुँदा नेता कोइरालाले विधानको व्यवस्था अनुसार गत मंसिरमै महाधिवेशनको प्रस्ताव राख्दा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माबाट सहयोग नभएको कुरा उठेको थियो।
‘पहिले डाक्टर साब(शेखर)ले ०८२ मंसिरमा गरौँ भन्दा कसैले काँध थाप्नुभएन। त्यति बेला सहजै परिस्थिति थियो,’ एक नेताले भने,‘अहिले बरु असहज र गम्भीर परिस्थिति छ। यस्तो अवस्थामा म्याद थप्नु नै उपयुक्त हुन्छ भन्ने कुरा पनि उठ्यो। उति बेला सहयोग नगर्ने महामन्त्रीले अहिले विशेषको हठ गर्नु पनि उचित होइन।’
शेखर पक्षको छलफलमा विशेष महाधिवेशनका मागकर्ता देवराज चालिसे लगायतका नेता पनि उपस्थित थिए। उनीहरूले आफू ‘गगन पक्षधर भएर विशेष महाधिवेशनको पक्षमा उभिएको नभई बेलैमा महाधिवेशन होस् भनेर’ उभिएको भनेर धारणा दिएको एक नेताले बताए।
‘उहाँहरूले पनि आफ्नो जिकिर राख्नुभयो। समूहको समीक्षा सुन्नुभयो। समीक्षा सुनेपछि थप मतभिन्नता राखिएको सुनिएन,’ ती नेताले भने।
