२१ फागुनको निर्वाचनको सन्दर्भमा दलहरूको मधेश हेर्ने नीति कस्तो देखिन्छ ?
यसपालि राजनीतिक दलहरू मधेशबारे साबिकभन्दा अलि बढी गम्भीर देखिएका छन् । पहिले–पहिलेभन्दा उनीहरूले मधेशलाई केही बढी प्राथमिकता दिएको देखिन्छ । विगतमा ०६३ पछि मधेशमा उदाएका क्षेत्रीय शक्तिको बैसाखीविना राष्ट्रिय दलहरू उभिन कठिन देखिन्थ्यो । तर, अहिले क्षेत्रीय शक्तिहरू कमजोर भएको अवस्थामा मधेशको राजनीतिक मैदान खाली छ । बजार खाली भएको अवस्थामा त्यहाँका ‘उपभोक्ता’ (मतदाता)सित डिल गर्न विभिन्न प्याकेज लिएर अन्य शक्ति छिर्नु अन्यथा होइन । उनीहरू मधेशलाई उकास्न, मधेशका मुद्दा समाधान गर्न र मधेशी नागरिकका भावना सम्बोधन गर्न आएका हुन् कि होइनन् भन्ने विषयमा चाहिँ भविष्यमा उनीहरू सरकारमा गएको अवस्थामा परीक्षण हुनेछ ।
दलहरूले पहिले–पहिलेभन्दा यसपालि मधेशमा यस्तो चासो दिनुको कारण के होला ?
मधेशको मैदान खाली भएको देखेर राष्ट्रियस्तरका राजनीतिक शक्ति मधेशी नागरिकसमिप आएका हुन् । देशका अन्य भूभागमा भन्दा मधेशमा लहर पैदा गर्न सजिलो छ । ‘जो दिखेगा सो बिकेगा’ भन्ने ‘रिल पोलिटिक्स’मा देखाउने भनेकै त्यही ‘लहर’ हो । गगनजी, बालेनजीहरूले बोल्दा देखिएको लहरले पनि त्यसैलाई पुष्टि गरेको छ ।
दलहरूको यस्तो चासोले मधेशमा कस्तो प्रभाव पार्ला ?
यसले दलहरूको घोषणापत्रमा मधेशबारे बोलिएका कुरा कार्यान्वयन हुने आशा गर्न सकिन्छ । यतिखेर मधेशमा क्षेत्रीय शक्तिमाथि भन्दा राष्ट्रिय शक्तिमाथि विश्वास गरेर एकपटक जुवा खेलिहेरौँ न त भन्ने मानसिकता बढेको देखिन्छ । आफूले विश्वास गरेका राष्ट्रिय शक्तिले भोलि मधेशलाई मूलधारमा जोड्न सकेनन् भने दलहरूले मधेशमा खेलिएको जुवा हार्नेछन् । जुवामा हारिसकेपछि महाभारत हुन्छ भन्नेचाहिँ उनीहरूले हेक्का राख्न जरुरी छ ।
