२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

होच्याइने ‘म्यादी’ बाट गर्विलो ‘निर्वाचन प्रहरी’

कुसम थापाका लागि निर्वाचन सुरक्षामा खटिएको अनुभव जिम्मेवारी मात्र होइन, आत्मसम्मानसँग जोडिएको कथा पनि हो। अघिल्लो निर्वाचनमा म्यादी प्रहरीका रूपमा खटिँदा कतिपयले ‘म्यादी’ भन्दै गिज्याउने र होच्याउने व्यवहार गरेको उनी सम्झन्छन्। तर यसपटक निर्वाचन प्रहरीका रूपमा मतदान केन्द्रमा उभिँदा भने उनले फरक अनुभूति गरे, ‘न त गिज्याउने शब्द सुन्नुपर्यो, न त आफूलाई होच्याइएको महसुस भयो, बरु जिम्मेवारीप्रति गर्व नै बढेको छ।’

‘म्यादी प्रहरी हुँदा कतिपयले ‘म्यादी’ भनेर बोलाउँथे, त्यो शब्दमै होच्याउने भाव झल्किन्थ्यो,’ थापा भन्छन्, ‘निर्वाचन सम्पन्न गराएर घर फर्किँदा पनि कतिपयले गिज्याउने शैलीमा सम्बोधन गर्थे।’ तर समयसँगै परिस्थिति बदलिएको उनी बताउँछन्। यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन प्रहरीका रूपमा खटिँदा मतदाताको व्यवहार र वातावरण नै फरक महसुस भएको उनले बताए। ‘निर्वाचन प्रहरी भनेर बोलाउँदा गर्व लाग्यो,’ उनी भन्छन्, ‘यसपालि कसैले पनि गिज्याउने वा होच्याउने खालको व्यवहार गरेन।’

निर्वाचनका बेला मतदान केन्द्रको सुरक्षा, मतदातालाई सहज वातावरण उपलब्ध गराउने र मतदान प्रक्रिया शान्तिपूर्ण बनाउने जिम्मेवारी निकै संवेदनशील हुन्छ। यही जिम्मेवारी पूरा गर्न थापा यसअघि म्यादी प्रहरीका रूपमा खटिएका थिए। बिहानदेखि साँझसम्म मतदान केन्द्रमा उभिएर लाइन व्यवस्थापन गर्ने, सुरक्षा मिलाउने र मतपेटिका सुरक्षित राख्ने जस्ता काम उनीहरूले नै सम्हाल्नुपथ्र्यो।

‘काम भने उस्तै थियो,’ थापा भन्छन्, ‘तर व्यवहारमा भने कहिलेकाहिँ फरक देखिन्थ्यो।’ यस्तै अनुभव आशिष शर्मा को पनि छ । उनी पनि अघिल्लो निर्वाचनमा म्यादी प्रहरीका रूपमा खटिएका थिए भने यसपटक निर्वाचन प्रहरीको जिम्मेवारी सम्हालेका छन्। शर्मा भन्छन्, ‘पहिले म्यादी प्रहरी हुँदा अस्थायी भनेर अलि हल्का रूपमा लिने प्रवृत्ति देखिन्थ्यो।’

उनका अनुसार जिम्मेवारी भने त्यतिबेला पनि कम थिएन। मतदान केन्द्रमा सुरक्षाको पहिलो घेरा बनाउने, लाइन व्यवस्थापन गर्ने, मतपेटिका सुरक्षित राख्ने जस्ता काम उनीहरूले नै गर्नुपथ्र्यो। तर अहिले निर्वाचन प्रहरीका रूपमा काम गर्दा आफूलाई अझ व्यवस्थित र जिम्मेवार भूमिकामा रहेको अनुभूति भएको उनले बताए। ‘म्यादी प्रहरी र निर्वाचन प्रहरी एउटै जिम्मेवारी र भूमिका भए पनि निर्वाचन प्रहरी भनेर परिचय दिँदा नै फरक महसुस हुन्छ,’ शर्मा भन्छन्, ‘जिम्मेवारी उस्तै भए पनि समाजको व्यवहार सम्मानजनक देखिन्छ।’

निर्वाचन लोकतन्त्रको आधारभूत प्रक्रिया हो। यो प्रक्रिया निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। मतदान केन्द्रमा खटिने यस्ता अस्थायी सुरक्षाकर्मीहरू घण्टौं उभिएर मतदातालाई सुरक्षित वातावरण दिन खटिरहेका हुन्छन्। कुसम थापा भन्छन्, ‘नाम जेसुकै भए पनि हाम्रो काम लोकतान्त्रिक प्रक्रियालाई सुरक्षित बनाउनु हो। समाजले सम्मानका साथ व्यवहार ग¥यो भने त्यो नै हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हुन्छ।’

थापा र शर्माजस्ता युवाको अनुभवले देखाउँछ, ‘जिम्मेवारी उस्तै भए पनि सम्बोधन र व्यवहारको सानो परिवर्तनले मानिसको आत्मसम्मानमा ठूलो प्रभाव पार्छ ।’ लोकतन्त्रको महत्वपूर्ण प्रक्रियामा खटिने सुरक्षाकर्मीलाई सम्मानजनक दृष्टिले हेर्न सके मात्रै उनीहरूको योगदानको सही कदर हुन सक्ने उनको भनाइ छ। निर्वाचन प्रहरी मतगणना हुँदासम्म कार्यरत हुने छन्। उनीहरुले केही दिनको रोजगारीसँगै यसपटकको निर्वाचनमा आत्मसम्मान पनि लिएर जाँदै छन्।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय