भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीस्थित हुँगे खोला महभिर झर्ना नजिक रहेको पुल रुख ढाल्ने क्रममा भत्किएको छ। स्थानीय गणेश राईले घर निर्माणका लागि रुख ढाल्ने क्रममा नियन्त्रण गुम्दा अचानक रुखले पुलमा क्षति पुगेको स्थानीयले जनाएका छन्।
स्थानीय बासिन्दाले दैनिक आवतजावतका लागि प्रयोग गर्दै आएको उक्त पुल भत्किएपछि आसपासका बस्तीका नागरिकलाई आवतजावतमा समस्या भएको छ। पुल पुनःनिर्माण वा मर्मतका लागि सम्बन्धित निकायले चाँडो पहल गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन्।
बाँदर आतङ्कले खेतीयोग्य जमिन बाझिँदै
भोजपुर जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतङ्कका कारण खेतीयोग्य जमिन बर्सेनि बाझिँदै गएको छ। अन्नबाली जोगाउन नसक्ने अवस्था सिर्जना भएपछि किसान खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ रोजेका छन्। बाँदरको निरन्तर उपद्रोका कारण ग्रामीण बस्ती क्रमशः सुनसान बन्दै गएका छन्।
स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्नै लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन्। खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुनःफर्किने भएकाले नियन्त्रण गर्न झन कठिन भएको छ। कतिपयले डर देखाउने आकृति बनाएका छन्। खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खेत कुर्ने प्रयास गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन।
