मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उतारचढाव भइरहेको अवस्थाबिच श्रीलंकाले देशभर लागू हुने गरी इन्धनको खुद्रा मूल्य वृद्धि गरेको छ । सरकारी स्वामित्वको सिलोन पेट्रोलियम निगमका अनुसार सोमबार मध्यरातदेखि लागू हुने गरी इन्धनको नयाँ मूल्य निर्धारण गरिएको हो ।
नयाँ समायोजनअनुसार अटो डिजेलको मूल्य प्रतिलिटर २२ रुपैयाँले बढेर ३०३ रुपैयाँ पुगेको छ । त्यस्तै सुपर डिजेलको मूल्य २४ रुपैयाँले वृद्धि भई प्रतिलिटर ३५३ रुपैयाँ कायम गरिएको छ। पेट्रोलतर्फ ९२ अक्तेन पेट्रोलको मूल्य २४ रुपैयाँले बढेर प्रतिलिटर ३१७ रुपैयाँ पुगेको छ भने ९५ अक्तेन पेट्रोलको मूल्य २५ रुपैयाँले वृद्धि भई प्रतिलिटर ३६५ रुपैयाँ निर्धारण गरिएको छ । यसका साथै मट्टीतेलको मूल्य पनि प्रतिलिटर १३ रुपैयाँले बढाएर १९५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
सिलोन पेट्रोलियम निगमका अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अनिश्चितता तथा निरन्तर उतारचढावका कारण आन्तरिक बजारमा मूल्य समायोजन गर्नुपरेको हो । मध्यपूर्वमा जारी द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा प्रभाव पारेकाले धेरै देशहरूमा इन्धन मूल्यमा दबाब बढिरहेको बताइएको छ ।
