निर्वाचन परिणामलाई कसरी हेर्नुभएको छ ?
पार्टीको केन्द्रीय समिति बैठक बसेर हामी समीक्षा गर्छौं । ठूलो जनमत रास्वापालाई गएको छ । कमसेकम परिवर्तनको पक्षमा जनमत गएको छ । नयाँ पार्टी, नयाँ अनुहार भनेर पनि मत गएको देखिन्छ ।
पुराना दलहरूप्रति आक्रोश र निराशा मतपरिणाममा देखिएको ठान्नुहुन्छ ?
पार्टीहरू नयाँ ढंगले चलाउनुपर्ने, लोकतन्त्रीकरण गर्नुपर्ने, पार्टीलाई संस्थागत गर्नुपर्ने आवाज थियो, अलि सानो गुटले पार्टी चलाएको गुनासो पनि थियो । अब पार्टीको लोकतन्त्रीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । जीवनस्तर बदल्ने विषयमा जनता बढी नै आशावादी भएको देखिन्छ । नयाँ आउनेलाई पनि काम गर्न त सहज छैन । देश यही हो, समाज यही हो, राज्य संरचना यही हो । साधन स्रोत यिनै हुन् । व्यक्तिगत रूपमा रास्वपालाई मेरो बधाई र शुभकामना छ । राम्रो काम गर्दा समर्थन रहन्छ ।
निर्वाचनमा नेकपा किन कमजोर भयो ?
हामीले सुरुमै विश्लेषण ठीकै गरेको हो । बंगलादेश हुँदै छ, भन्यौं । त्यसबाट रोक्न हामी सरकारमा हुँदा त कोसिस गर्यौं । तर सडकमा हुँदा हामीले जनताको भावना राम्ररी बुझ्ने काम गर्न सकेनौं । युवामा असन्तुष्टि छ । जनताको अवस्था बदल्नुपर्ने, सुशासन अगाडि बढाउनुपर्ने कुरा त हामीले गरेकै हो तर जनतालाई बुझाउन सकेनौं । हामीले विकल्प पनि दिन सकेनौं जस्तो लाग्छ ।
तत्कालीन माओवादीको आधार इलाका त नेकपाले जोगायो नि ?
हाम्रो बलियो आधार भएको क्षेत्रमा जित्यौं । तर अरूतिर लहर ल्याउन सकेनौं । अहिले पपुलिजम(लोकप्रियतावाद) को हावा चल्यो । लोकप्रियतावादको विकल्प राजनीतिक सिद्धान्त र निष्ठामा आधारित संगठन र राजनीति नै हो । हामीले त्यसमा सुधार गर्नुपर्ने हुन्छ ।
नेपालमा वामपन्थी मत २०४८ यताकै कम देखिएको छ, कसरी यस्तो भयो ?
हामीले दुई पटक मौका पायौं, २०६४ र २०७४ मा तर गुमायौं । ०६४ को पहिलो संविधानसभाले संविधान नबनाएपछि जनताले २०७० को चुनावमा ‘रियाक्सन’ गरे । ०७४ मा ओली (केपी शर्मा ओली) को नेतृत्वका कारण राम्रो काम गर्न सकनौं ।
