
- पाल्पा अस्पतालको अक्सिजन प्लान्ट दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ।
- अब जिल्लामा अक्सिजनका लागि बुटवल र भैरहवा भर पर्नुपर्ने बाध्यता हटेको छ।
- अक्सिजन सहज भएसँगै उपचारमा विश्वसनीयता बढेर बिरामीको ज्यान जोगाउन सजिलो भएको छ।
विगत दुई वर्षदेखि बन्द रहेको यहाँस्थित पाल्पा अस्पतालको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो।
कोभिड–१९ का बेला सङ्घीय सरकारको बजेटबाट निर्मित सो प्लान्ट केही वर्षयता बिग्रिएको थियो । हाल प्लान्ट सञ्चालनमा आएसँगै जिल्लामा लामो समयदेखि अक्सिजन अभावको समस्या समाधान हुने भएको छ । यहाँ अक्सिजन प्लान्ट नहुँदा बुटवल तथा भैरहवाबाट ल्याउनुपर्ने बाध्यता थियो।
जिल्लामा मासिक चार सयदेखि पाँच सय अक्सिजन सिलिन्डर खपत हुने गरेको छ । प्लान्टमै प्रति सिलिन्डर सानो ३५० र ठूलो ६५० रुपैयाँमा बिक्री हुने गरेको छ । पाल्पा अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दाे बनाउन प्लान्ट महत्त्वपूर्ण रहेको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले बताए । उनले भने, “अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य छ ।”
