
- पार्टीको विवाद समाधान गर्न सभापतिले नै पहल गर्दै सबै असन्तुष्ट पक्षसँग संवाद थाल्नुपर्छ।
- सर्वोच्च अदालतको फैसलालाई स्वीकार्दै सबै नेता कार्यकर्ता लोकतान्त्रिक विधिमा प्रतिबद्ध हुनुपर्छ।
- पार्टीको पुरानो विरासत फर्काउन सबै पक्ष एकताबद्ध भई सहकार्य गर्दै अघि बढ्नु आवश्यक छ।
सर्वोच्च अदालतको पछिल्लो फैसलापछि पार्टीलाई एकताबद्ध राख्न वर्तमान संस्थापन पक्षले के गर्नुपर्छ ?
संसारका कुनै पनि द्वन्द्वको समाधान संवाद र अन्तर्क्रियाबाटै निस्किन्छ । कांग्रेसभित्रको विवाद या असहमतिको निकास पनि आपसी संवाद र अन्तर्क्रिया नै हो । पार्टीमा विवाद, मनोमालिन्य या असहमति देखिइसकेपछि संवाद र अन्तर्क्रियाको पहल मूल नेतृत्व अर्थात् सभापतिबाटै हुनुपर्छ । पार्टी नेतृत्वको आधिकारिकताबारे सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुको विकल्प छैन । पछिल्लो निर्वाचनपछि यतिखेर पार्टी खुम्चिएको छ । त्यसैले, पार्टीसित जोडिएका तमाम असन्तुष्ट नेता, कार्यकर्ता सबैसँग संवादको पहलकदमी सभापतिबाटै हुनुपर्छ । उहाँको पहलकदमीपछि पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सबैले आआफ्नो स्थानबाट ‘इफोर्ट’ लगाउनुपर्छ ।
यस्तोमा सर्वोच्चको फैसलालाई स्विकार्दैनौँ भन्ने केही नेतासँगै पूर्वसंस्थापन समूहको दायित्वचाहिँ के हुन्छ नि ?
यस विषयमा असन्तुष्ट नेताहरूबिच छलफल चलिरहेको छ । यति ठुलो पार्टीमा कसैको कसैसँग मनोमालिन्य या चित्त दुःखाइ हुन सक्छ । त्यसलाई कम गर्न या मनोमालिन्य हटाउन सभापतिले व्यक्तिगत या सामूहिक भेटघाट र संवाद सुरु गर्नुपर्छ । कानुनी शासनमा विश्वास गर्ने लोकतान्त्रिक दलका कुनै पनि नेता, कार्यकर्ताले सर्वोच्चको फैसला मान्दैनौँ भन्न मिल्दैन ।
अहिलेको अप्ठ्यारोमा पार्टीलाई एकढिक्का बनाएर आगामी दिनमा विगतको विरासत फर्काउन सक्ने सम्भावना कति देख्नुहुन्छ ?
त्यसको पूरापूर सम्भावना छ । कांग्रेसभित्र यस्ता समस्या विगतमा पनि पटक–पटक आएका थिए । लोकतान्त्रिक पार्टी वाद, प्रतिवाद र संवादबाटै बलियो बन्ने हो । आवधिक निर्वाचन लोकतन्त्रको आत्मा हो । निर्वाचनमा सहभागी भइसकेपछि हारजित स्वाभाविक हो । सधैँ जित्नैपर्छ भन्ने हुँदैन । बिपी र सुवर्णशमशेरबिच जनतालाई रैतीबाट नागरिक बनाउन भएको सहमतिपछि जन्मेको कांग्रेसले अब बाँकी कार्यभार पूरा गर्न देश, जनता र पार्टीको बृहत्तर हितका लागि एकताबद्ध हुनुको विकल्प छैन । सबै ठिक ठाउँमा उभिएर एकताबद्ध भई अघि बढ्यौँ भने पार्टीको विगतको विरासत फर्काउन कठिन छैन ।
