१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

नेपालमा एआई क्रान्तिको सपना

एआई विकासलाई प्रभावकारी बनाउन गुणस्तरीय डेटा पूर्वाधार आवश्यक भए पनि नेपालले सुरक्षित डेटा सेन्टर निर्माणलाई प्राथमिकता दिएकै छैन

समुन्द्र कार्की । प्रविधिको दुनियाँमा नेपालले एक महत्वपूर्ण कदम चालेको छ । सरकारले हालै राष्ट्रिय एआई नीति २०८१ (२०२४) सार्वजनिक गरेको छ, जसले देशभर कृत्रिम बुद्धिमत्ता (एआई) को सम्भावना उजागर गर्ने लक्ष्य लिएको छ । तर, यो नीति पर्याप्त र स्पष्ट छ त ? यसको कार्यान्वयन कसरी हुन्छ ? के नेपालले विश्वव्यापी प्रविधि दौडमा आफूलाई स्थापित गर्न सक्छ ?

ठुलो लगानी, विश्वव्यापी बुद्धिजीवीको सहभागिता र सामान्य कृत्रिम बुद्धिमत्ता निर्माणको सपनाले एआई प्रविधिमा मात्र एक साताको समयमै ठुलो परिवर्तन ल्याउन सक्छ । नेपालले राष्ट्रिय एआई नीति २०८१ ल्याउनुभन्दा एक महिनाअघि आएको ‘डिपसिक–आर १’ नामक एआई मोडल सार्वजनिक भएको छ, जसले एआई दुनियाँमा ठुलो हलचल मच्चाइसकेको छ । यो मोडल केही नवीन ट्रेनिङ विधि अपनाएर ५६ मिलियन अमेरिकी डलरको लागतमा तयार गरिएको हो, जुन अमेरिकी कम्पनी ‘ओपन एआई’को ‘च्याट जिपिटी–४.०’ भन्दा निकै सस्तो छ र क्षमताको हिसाबले तुलनीय छ । यी सबै परिप्रेक्ष्यलाई हेर्दा प्रविधिगत नवीनता र एआईप्रति विश्वव्यापी चासो तीव्र गतिमा बढिरहेको छ । तपाईंले यो लेख पढ्दापढ्दै नै कुनै नयाँ ‘फाउन्डेसन मोडल’ वा एआई सार्वजनिक भइसकेको हुन सक्छ, जसले अहिले चल्तीमा रहेका मोडललाई अप्रासंगिक बनाइदिन सक्छ । म यो लेखमा एआई विकासका तीन आधारशिलामा नेपालको परिस्थितिबारे खुलेर चर्चा गर्छु । त्योसहित नेपालले ध्यान केन्द्रित गर्न सक्ने विशेष स्थानबारे पनि चर्चा गर्छु ।

एआई विकासका तीन मुख्य आधारशिला 
१. विशाल कम्प्युटेसनल शक्ति : शक्तिशाली जिपियु (ग्राफिक्स प्रोसेसिङ युनिट्स) वा
टिपियु (टेन्सर प्रोसेसिङ युनिट्स) मा आधारित ट्रेनिङ क्षमता ।
२. विशाल डेटा सेट : उच्च गुणस्तरीय र ठुलो परिमाणको डेटा उपलब्धता ।
३. प्रगतिशील ट्रेनिङ विधिहरू : नयाँ एल्गोरिदम तथा आर्किटेक्चर सुधार ।

कुनै पनि देश एआई शक्ति राष्ट्र बन्न चाहन्छ भने उसले अधिकतम डेटा संकलन गर्न सक्नुपर्छ र ठुलो परिमाणमा ट्रेनिङ गर्न सक्ने जिपियु व्यवस्थापन गर्नुपर्छ । यही कारण अमेरिकाले चीनलाई उच्चस्तरीय जिपियु निर्यातमा रोक लगाएको छ, ताकि चीनको एआई विकासलाई सीमित राख्न सकियोस् ।

नवीनतम अल्गोरिदम निर्माण गर्ने अवस्थामा नेपाल अहिले पुगिसकेको छैन, कागजी रूपमा कसैले केही सोचे पनि डेटा र कम्प्युटिङको अभावमा ठुलो ‘फाउन्डेसनल मोडल ट्रेन’ गर्न गाह्रो छ

नेपालको अवस्था : नेपाल जिपियु शक्तिराष्ट्र बन्ने अवस्थामा छैन, तर आफ्नै आवश्यकताअनुसारका मोडल निर्माण र फाइन–ट्युनिङ गर्न आवश्यक जिपियु पूर्वाधारको स्थिति कस्तो छ ? नेपालले एआई क्षेत्रमा कति लगानी गर्न सक्छ भन्ने यकिन तथ्यांक उपलब्ध छैन । पुल्चोक इन्जिनियरिङ क्याम्पसजस्ता प्रमुख अनुसन्धान संस्थानमा ठुलो जिपियु क्लस्टर छ भन्ने कुनै जानकारी छैन । नीति–निर्माताहरूले जिपियुमा लगानी गर्ने र यसलाई प्राप्त गर्न आवश्यक विदेशी समन्वयको थालनी गर्न जरुरी छ । गणनात्मक क्षमताका लागि आवश्यक सुपर–कम्प्युटर क्लस्टर निर्माण गर्न, नेपालले राष्ट्रिय सुपर–कम्प्युटिङ क्लस्टर स्थापना गर्ने प्रयासमा अगाडि बढ्नु अत्यन्त महत्वपूर्ण छ । तर, यो नीतिले यस्ता विषयमा ठोस भएर बोलेको देखिँदैन ।

डेटा सुरक्षा र एआई : एआई प्रविधिसँग प्रत्यक्ष रूपमा जोडिने अर्को महत्वपूर्ण पक्ष डेटा हो । आधुनिक एआई मोडेलहरू अत्यधिक मात्रामा डेटा प्रयोग गरेर लामो समयसम्म प्रशिक्षण गरिन्छन् । यस्तो प्रशिक्षणपछि मात्र यी मोडेलहरूले उच्चस्तरको सामान्यीकरण गर्ने क्षमता विकास गर्न सक्छन् । विश्वभरका ठुला कम्पनीहरू, जस्तै– ओपन एआई, हाल अवैध रूपमा संकलित डेटा प्रयोग गरेको आरोपमा अमेरिकी अदालतमा कानुनी कारबाहीको सामना गरिरहेका छन् । हामी दैनिक रूपमा प्रयोग गर्ने युट्युब सिफारिस प्रणालीदेखि लिएर फेसबुकमा देखिने विज्ञापनसम्म सबै डेटा–आधारित एल्गोरिदमद्वारा निर्देशित हुन्छन् ।

नेपालमा डेटा संकलन, भण्डारण र सुरक्षासम्बन्धी व्यवस्था अत्यन्तै कमजोर छ । नेपालले अझैसम्म सुरक्षित डेटा सेन्टरहरू निर्माण गर्न प्राथमिकता दिएको छैन । नेपालमा एआई विकासलाई प्रभावकारी बनाउन गुणस्तरीय डेटा पूर्वाधार आवश्यक छ, तर हालको अवस्था निकै चिन्ताजनक छ । डेटा संकलन र भण्डारण गर्ने उचित संरचना छैन । डेटा सुरक्षासम्बन्धी नीति अस्पष्ट छ । अनुसन्धानकर्ताका लागि खुला डेटा प्लाटफर्मको अभाव छ ।

सरकारले ल्याएको राष्ट्रिय एआई नीति २०८१ एक सकारात्मक कदम भए पनि यसले नेपालको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने र कार्यान्वयनको स्पष्ट मार्ग प्रदान गर्ने सुनिश्चितता दिन सकेको छैन

नेपाल एआई नीति २०८१ लाई प्रभावकारी 
बनाउन चाहन्छ भने, डेटा सुरक्षा, भण्डारण र उपयोगमा ठुलो सुधार आवश्यक छ । सरकारले राष्ट्रिय डेटा रणनीति निर्माण गर्दै सुरक्षित डेटा केन्द्रहरू स्थापना गर्नुपर्छ । साथै, अनुसन्धानकर्ताहरू र स्थानीय प्रविधि कम्पनीहरूलाई आवश्यक डेटा उपलब्ध गराउने खुला डेटा प्लेटफार्महरू विकास गर्न प्राथमिकता दिनु आवश्यक छ ।

एल्गोरिदम र नवीनता :  च्याट जिपिटी निर्माणको निंव गुगलबाटै आएको हो, कुनै विश्वविद्यालयको ल्याबबाट होइन । त्यसैले पनि नवीनतम अल्गोरिदम निर्माण गर्ने अवस्थामा नेपाल अहिले पुगिसकेको छैन, कागजी रूपमा कसैले केही सोचे पनि उल्लिखित डेटा र कम्प्युटिङको अभावमा कुनै पनि ठुलो फाउन्डेसनल मोडल ट्रेन गर्न नेपालसहित अधिकांश देशका लागि निकै नै गाह्रो छ ।

यस्तो परिस्थितिमा हामीले एआईलाई नेपालको अवस्थामा प्रयोगात्मक दृष्टिकोणले हेर्नुपर्छ । तीन भागमा नेपालले एआईको विकासलाई हेर्न आवश्यक छ, अनुसन्धान, प्रयोग क्षेत्र÷उद्यमशीलता प्रयास र आउटसोर्सिङ । यी तीनै पक्ष आवश्यक छन् र एक–अर्कासँग अन्तर–सम्बन्धित भएकाले ठोस रूपले
छुट्याउन सकिँदैन । तर, तीनवटै विषयबारे गहन अध्ययन गर्न भने आवश्यक छ ।

अनुसन्धान र एआई :  विभिन्न प्रयोग क्षेत्रहरूमा एआईको प्रयोगसम्बन्धी अध्ययन भइरहेको छ । कृषि, मेडिकल, सिँचाइ, पूर्वाधार निर्माण, बजारभाउ नियमन यी सबै क्षेत्रमा एआईलाई नेपालको स्तरमा कसरी प्रयोग गर्ने भनेर अध्ययन गर्न आवश्यक छ । उदाहरणका लागि कृषिका हिसाबले नेपालमा खेती गरिने बिरुवामा तस्बिरका आधारमा के पोषक तत्वको कमी छ भनेर पत्ता लगाई सुझाब दिने एआई निकै उपयोगी हुन सक्छ । यस प्रकारका नेपाली प्रकृतिकै समस्या समाधानका निमित्त अनुसन्धान र नेपाल सरकारले यसमा युजिसी या अन्य कुनै संस्था निर्माण गरी लगानी र विकासमा जोड दिन निकै जरुरी छ । योसँगसँगै विश्वविद्यालयले सकिने ठाउँमा एआई करिकुलम थपेर विभिन्न विषयका विद्यार्थीलाई समेत एआईसम्बन्धी जानकारी दिने पहल आवश्यक देखिन्छ ।

प्रयोग क्षेत्र र एआई :  कुनै पनि अनुसन्धान कागजी रूपमा टुंगिन्छ भने त्यसले समाजलाई केही फाइदा दिँदैन । नेपालमा भएको एआई अनुसन्धानलाई बजारसम्म पु¥याउन सहयोग गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यान आवश्यक छ । यसका लागि सहज कम्पनी दर्ता प्रक्रिया निर्माण, स्टार्टअप फन्डिङमा सहयोग (‘हाम्रा’ले भन्दा ‘राम्रा’ले पाउने अवस्था) र सजिलो वैदेशिक लगानीको वातावरण निर्माण गर्न आवश्यक छ । बजारले नस्विकारेको कापी/गफमा सीमित रहेका आइडियाभन्दा एक–दुईजनालाई भए पनि रोजगारी दिने प्रयास नेपालका लागि निकै महत्वपूर्ण हुन्छ । नेपाल सरकारले यससम्बन्धी निर्णय र लगानी गर्नु र यसतर्फ युवालाई प्रेरित गर्नु आवश्यक छ ।

आउटसोर्सिङ र एआई :  केहीअघि गगन थापाले भनेजस्तै ल्यापटप बोकेका आधारमा लाखौँ कमाउन र भित्र्याउन पक्कै सकिन्छ । त्यसका लागि हामीले यस्ता सञ्चालक र काम गर्ने युवालाई सहयोग गर्न आवश्यक छ । नेपालको एआई प्रतिभालाई विश्वसामु सहजै पुर्‍याउने जिम्मा नेपाल सरकारको पनि हो । ट्याक्स कट, पैसा हेन्डलिङको सहजता, सामाजिक सुरक्षाजस्ता पक्ष यसमा महत्वपूर्ण हुन्छन् ।

राष्ट्रिय एआई नीति २०८१ एक सकारात्मक कदम हो, तर यसले नेपालको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने र कार्यान्वयनको स्पष्ट मार्ग प्रदान गर्ने सुनिश्चितता दिन सकेको छैन । नेपाल प्रायः कार्यान्वयनको पक्षमा कमजोर देखिन्छ, त्यसैले यो नीति सफल बनाउन स्पष्ट रणनीति र दीर्घकालीन प्रतिबद्धता जरुरी छ । नेपालको आर्थिक र प्राविधिक परिस्थितिलाई ध्यानमा राख्दै हामीले एआई विकासमा आफ्नो विशेष स्थान पहिचान गर्नुपर्छ । नीति–निर्माण मात्र होइन, फ्युज मेसिनजस्ता एआई कम्पनी र प्रमुख शैक्षिक संस्थानको अनुभवलाई समेट्दै, व्यावहारिक कार्यान्वयनमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ । यस नीतिले नेपाली युवालाई विश्वव्यापी एआई बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने वातावरण निर्माण गर्नुपर्छ । नेपाल सरकारको यो तदारुकताका लागि धन्यवाद छ । तर, अब यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेतर्फ ठोस कदम चाल्नुपर्छ ।

(कार्की अमेरिकाको लोवा स्टेट युनिभर्सिटीका सहायक अनुसन्धाता हुन्)

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय