लक्ष्मण घिमिरे ।
अर्घाखाँची । भुमिकास्थानको नुवाकोटमा आगलागी हुँदा एक घर र तीन गोठ जलेर पुर्णरुपमा नष्ट भएका छन् ।
भुमिकास्थान नगरपालिका–७, नुवाकोटको पानडाँडा सामुदायिक बनमा लागेको आगो बस्तीसम्मै पुगेपछी घरगोठ जलेका हुन् । यस्तै एउटा भैंसी, एउटा पाडो, ९ ओटा बाख्रा र ५९ ओटा कुखुरा जलेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
लोक बहादुर थापाको तीन तले कच्ची घर र गोठ जलेर पुर्ण रुपमा क्षति भएको छ । थापाका २६ वटा कुखुरा पनि जलेर खरानी भएका छन् । यस्तै सोही ठाँउका रेल बहादुर थापाको गोठ जलेर छेदविच्छेद भएको छ भने गोठमा रहेको भैंसी, पाडो, ६ ओटा बाख्रा र १७ ओटा कुखुरा जलेर मरेका छन् ।
आगलागीमा परेर तिलक रायमाझीको गोठ र ट्वाईलेट नष्ट भएको छ । रायमाझीका ३ वटा बाख्रा र १६ ओटा कुखुरा जलेका छन् । घटनामा मानवीय क्षती नभएपनी केही पशु चौपाया घाईते भएका प्रहरीले जनाएको छ ।
सोमवार दिउँसो २ः३० बजे लागेको आगो जिल्ला प्रहरी कार्यालय सन्धिखर्क, प्रहरी चौकी खिल्जी र स्थानीयको सक्रियतामा निभाउने कार्य जारी छ । आगो पुर्ण रुपमा ननिभे पनि तत्काललाई जोखिम टार्ने काम भएको प्रहरीको भनाई छ । आगो निभाउने प्रयास जारी छ ।

