प्रेमा शाह प्रिय लेखिका हुन्। उनको जन्म त काठमाडौंमा भएको थियो तर वीरगन्जसँग उनको साइनो, सम्बन्ध, सामीप्य एवम् सान्निध्य सन्निकट थियो। उनको स्नेहिल सम्बन्धपछि शैक्षिक सम्बन्धमा परिणत भयो। अर्थात् उनी स्थानीय कलेज ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाली विषयकी प्राध्यापक भइन्। तबसम्म उनी प्रख्यात सिने अभिनेत्री जल शाहकी आमा भइसकेकी थिइन्। आमा छोरीको वास वीरगन्जमा बाक्लो भइसकेको थियो तर पनि प्रतिभासम्पन्न प्रेमा शाहको प्रेमिल सम्बन्धमा ग्रहण लागिसकेको थियो अर्थात् उनको वैवाहिक जीवन सुखद रहेन। म आफ्नो गृहगाउँ सिसौटियाबाट आउनेजाने क्रममा उनीसित वीरगन्जमा भेट्ने गर्थें। वीरगन्जका अर्का लेखक रमेश गोर्खालीसँग पनि यसैक्रममा भेटघाट हुन थालेको थियो। उनको दोस्रो वैवाहिक सम्बन्ध पनि दुखद नै साबित भयो। अन्त्यमा उनी आफ्नी छोरी जल शाहसँग अमेरिकी प्रवासमा बस्न थालिन्, जहाँ उनको असामयिक निधन हुन गयो। खैर प्रेमा शाहको प्रसङ्ग यहीं टुंग्याएर अगाडि बढूँ।
यसै वीरगन्जको रापतापमा मेरी नातिनी डा. रीमा शाहको वैवाहिक संस्कार सम्पन्न गर्नका लागि हामी सपरिवार वीरगन्जका लागि प्रस्थान गर्दा देशमा मनसुनको आगमन भइसकेको थियो तर चिसो अनुभूति भइराखेको थिएन। हामी वीरगन्जस्थित नवनिर्मित शीतताप नियन्त्रित होटल वृन्दावनमा दिवाभोजका लागि निर्धारित समयमा पुगिसकेका थियौं। दिउँसोको खानापछि होटलमा नै आराम गर्न थाल्यौं। रातिको खानाको चाँजोपाँजो पनि मिलिसकेको थियो। वीरगन्ज माइस्थान निवासी रविप्रकाश गुप्ताको घरमा हामी रातिको खाना खाएर फेरि होटल वृन्दावनमा सुत्नका लागि सुरक्षित कोठामा फर्किसकेका थियौं। होटलमा आएर मैले लेखक गणेश लाठलाई भोलि बिहानको कार्यक्रमबारे अवगत गराएँ।
मेरो कलैया र गढीमाई जाने कार्यक्रम थियो। सोहीअनुसार म भोलिपल्ट बिहानको खाजा होटलमा नै खाएर कलैया जाने कार्यक्रमअनुसार प्रस्थान गर्दा बिहानको दश बजिसकेको थियो। कलैया नगरपालिकामा नै दिनभरि बित्यो। गर्मीले गर्दा खाना खान पनि जाने आँट भएन। बेलुका वीरगन्ज फर्केर आएँ। गढीमाईको दर्शन हुन सकेन। मैले फेरि गणेश लाठज्यूलाई फोन गरेँ। उहाँको नवीनतम कृति ‘सीमान्त सम्झना’को लोकार्पण कार्यक्रमबारे पत्रपत्रिकामा पढेको थिएँ। तसर्थ पनि उहाँलाई भेटेर कुराकानी गर्ने र साहित्यिक भलाकुसारी गर्ने इच्छा प्रबल भइराखेको थियो। उहाँले भोलिपल्ट होटलमा नै आएर भेट्छु भनेर आउनुभयो।
हामी वीरगन्जको तातो छल्नका लागि तातो कालो कफी एक–एक कप पिएर एक घण्टासम्म साहित्यिक गफगाफमा समय बितायौं। उहाँकै कारमा म वीरगन्ज महानगरपालिकासम्म आएँ। मेयर साहबसँग भेट भएन। उहाँचाहिँ आवश्यक कार्यका लागि काठमाडौं आउनुभएको थियो। महानगरपालिकाका अन्य कर्मचारी र उहाँका स्वकीय सचिव सत्यराजज्यूसँग भेटेर रिक्साबाट होटल फर्कें। असाध्यै गर्मी थियो।
गणेश लाठ: वीरगन्जको उज्यालो
अहिलेको स्थितिमा वीरगन्जको साहित्यिक संसारबाट केही साहित्यकार सधैंका लागि विलुप्त भइसकेका छन् भने केही साहित्यकार स्वेच्छाले या वाध्यतावश विस्थापित भइसकेका छन्। सधैंका लागि विलुप्त हनुे साहित्यकारहरूमा मदनमणि दीक्षित, प्रेमा शाह, धनुषचन्द्र गौतम, विनोद दीक्षित आदि।
यी स्वनामधन्य साहित्यकारहरूको नामका साथ स्वर्गीय शब्द जोड्न मन लाग्दैन किनभने साहित्यकारहरू सधैं अजर र अमर हुन्छन्। यी साहित्यकारका कृतिबाट वीरगन्ज निवासी मात्र होइनन्, सम्पूर्ण नेपाली साहित्यजगत् सुपरिचित छ। यिनीहरूको साहित्यिक योगदान साह्रै सह्रानीय र स्मरणीय छ। यिनीहरूको नाम नेपाली साहित्यमा स्वर्णाक्षरमा अंकित भइसकेको छ।
वीरगन्जका केही साहित्यकार काठमाडौंमा साहित्य लेखन र चिन्तनमा संलग्न छन् र यिनीहरूको योगदान एवं अवदानबाट नेपाली साहित्यजगत् अवगत छ। यिनीहरूमध्ये डा. ध्रुवचन्द गौतम, विमल निभा, गोपाल अश्क, दिनेश गुप्ता, मुकुन्द आचार्य, निर्मोही व्यास र क्रतुराज आदि प्रख्यात छन्।
वीरगन्जलाई नै साहित्यको साधना केन्द्र बनाएर निरन्तर साहित्य साधनामा संलग्न केही साहित्यकारको योगदान मननीय र वन्दनीय भन्न सकिन्छ। यिनीहरूमध्ये गणेशप्रसाद लाठको नाम अगाडि छ। यिनको भर्खरै प्रकाशित र विमोचित संस्मरणात्मक कृतिको नाम हो ‘सीमान्त सम्झना’। यो कृति स्वयं गणेश लाठज्यूले वीरगन्जमा मलाई सप्रेम उपहार दिनुभएको छ।
साढे दुई वर्ष पहिला भेट्दा पनि उहाँले मलाई आफ्ना सबै प्रकाशित कृति प्रदान गरेर कृतज्ञ तुल्याउनुभएको थियो तर उहाँका कुनै पनि कृतिबारे मैले लेख्न सकिनँ, जुन मेरो कमजोरी हो। तसर्थ यस समीक्ष्य कृतिबारे सङ्क्षेपमा लेख्ने जमर्को गर्दैछु। यो मेरो नैतिक तथा साहित्यिक दायित्व पनि हुन गएको छ।
समीक्ष्य कृति ‘सीमान्त सम्झना’ एउटा सह्रानीय साहित्यिक कृतिको रचना गरेर गणेश लाठ धेरै लोकप्रिय लेखकका रूपमा नेपाली निबन्ध क्षेत्रमा प्रस्तुत भए। यस कृतिमा २३ वटा सम्झना निबन्ध सङ्गृहीत छन्। यी सबै सम्झनामा गणेश लाठको सीमान्त अनुभूति जीवन्त भएर अभिव्यक्त भएको पाइन्छ।
विद्वान् लेखकले प्रत्येक शीर्षकको सुरुआत कुनै न कुनै विद्वान् लेखक, कवि, दार्शनिक र चिन्तकको कथनबाट सुरु गरेर सह्रानीय काम गरेका छन्। यी सूक्तिहरू प्रत्येक सम्झनात्मक अनुभूतिलाई साहित्यिक सौन्दर्य र महŒव बढाउनमा सहायकसिद्ध भएका छन्।
‘कखराको गोरेटो’ लगायत धेरै शीर्षक जानकारीमूलक र वीरगन्जको रङ्गीबिरङ्गी चित्र सार्थक लाग्छन्। सम्प्रति गणेश लाठले नै वीरगन्जको साहित्यिक माहोललाई प्रकाशित गरिराखेका छन्। उनका निबन्धमा वीरगन्जको जीवन्त र सार्थक चित्र चित्रित भएका छन्। माथि उल्लिखित सबै शीर्षकमा उनको गहिरो चिन्तन, अध्ययन र अनुशीलन अभिव्यक्त भएको पाइन्छ।
