युद्धमा इरानका ५६ सङ्ग्रहालय क्षतिग्रस्त

मध्यपूर्वमा जारी युद्ध १५ औं दिनमा प्रवेश गर्दा इरानका ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूमा गम्भीर क्षति पुगेको छ।

इरानको पर्यटन मन्त्रालयले शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै देशभरका कम्तीमा ५६ वटा सङ्ग्रहालय र ऐतिहासिक स्थलहरू क्षतिग्रस्त भएको बताएको हो।

मन्त्रालयका अनुसार राजधानी तेहरानमा अमेरिकी र इजरायली आक्रमणका कारण युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको गोलेस्तान दरबार प्रभावित भएको छ।

कजार वंशको निवासका रूपमा रहेको यो दरबार तेहरानकै सबैभन्दा पुरानो र महत्वपूर्ण पर्यटकीय स्थलमध्ये एक हो। स्थानीय सञ्चारमाध्यमका अनुसार तेहरानमा रहेका स्मारकहरूमा सबैभन्दा बढी क्षति रेकर्ड गरिएको छ।

युद्धको रापले मध्य इरानको इस्फहान सहरमा रहेको १७ औं शताब्दीको प्रसिद्ध नघ्स-ए जहाँ स्क्वायरलाई पनि निशाना बनाएको छ। वास्तुकलाको नमुना मानिने यस क्षेत्र क्षतिग्रस्त भएको मन्त्रालयको दाबी छ।

त्यस्तै, बुशहर प्रान्तको ऐतिहासिक सिराफ बन्दरगाहमा रहेका शताब्दीयौँ पुराना भवन र घरहरूमा पनि युद्धले चोट पुर्‍याएको छ।

सांस्कृतिक सम्पदाहरूको विनाशप्रति संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले चिन्ता व्यक्त गरेको छ।

युनेस्कोले इरान मात्र नभई इजरायल र लेबनानका सयौँ ऐतिहासिक स्थलहरू युद्धका कारण जोखिममा परेको भन्दै चेतावनी दिएको एएफपीले उल्लेख गरेको छ।

इरानको पर्यटन मन्त्रालयले युद्धका कारण भएको क्षतिको थप विवरण सङ्कलन भइरहेको बताएको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय