भीडको पछि नलागौं, विवेक प्रयोग गरौं

जनता नै भ्रष्ट र बेइमान भयौं भने हामीले सुशासनको अपेक्षा गर्नु नै व्यर्थ हुन्छ।

नेपालको राजनीतिमा सरकार परिवर्तन हुनु र नयाँ सत्ता समीकरण बन्नु आश्चर्यको विषय होइन । तर, हरेक नयाँ सुरुवातसँगै आशा पलाउनु मानवीय स्वभाव हो । सर्वप्रथम म यो नयाँ सरकारलाई सफल कार्यकालको शुभकामना दिन चाहन्छु तर यो शुभकामनासँगै एउटा सचेत नागरिकको गम्भीर खबरदारी पनि जोड्न चाहन्छु । हामीले दशकौंदेखि एउटै चक्र देख्दै आएका छौं, जहाँ सरकार बन्नासाथ सडकमा टायर बाल्ने र ढुंगा हान्ने संस्कृति सुरु हुन्छ । अहिले भइरहेका आन्दोलनहरूलाई गहिराइबाट नियाल्दा एउटा प्रश्न उठ्छ– आन्दोलनहरू साँच्चै नागरिकका साझा मुद्दामा केन्द्रित छन् ?

जबसम्म आन्दोलनले भान्साको महँगी, बेरोजगारी र भ्रष्टाचार जस्ता आधारभूत समस्या बोक्दैन, तबसम्म ती आन्दोलनहरू केवल सत्ता प्राप्तिको स्वार्थ र कुर्सी खोसिएको पीडा लुकाउने माध्यम मात्र हुन् । हामी त्यस्ता आन्दोलन र प्रदर्शनको पक्षमा छैनौं, जसको केन्द्रमा आममानिसको एजेन्डा छैन । कुनै खास व्यक्ति वा समूहको राजनीतिक भविष्य लुकेको आन्दोलनको पक्षमा हामी उभिन सक्दैनौं । त्यसैले बेअर्थका प्रदर्शन र सडकको कोलाहललाई हामी जायज मान्दैनौं । यसमा हाम्रो कुनै पनि किसिमको समर्थन वा साथ छैन ।

अहिले सामाजिक सञ्जालमा विरोधका नाममा जुन किसिमको तल्लोस्तरको व्यवहार देखिँदै छ, त्यो झन् बढी चिन्ताजनक छ । विरोध प्रदर्शनका भिडियो वा तस्बिरहरूमा अत्यन्तै दुर्व्यवहार गरिएका, नराम्रा र तुच्छ शब्दहरू प्रयोग गरेर टिप्पणी गर्नु पनि कुनै असल र सभ्य व्यक्तिको पहिचान हुन सक्दैन । कसैले गल्ती गर्‍यो भन्दैमा उसलाई गालीको वर्षा गर्नु वा अश्लील शब्द बोल्नुले समस्याको समाधान दिँदैन, बरु यसले टिप्पणी गर्ने व्यक्तिकै संस्कार र स्तरलाई प्रस्ट पार्छ । यदि हामी अरूलाई सुधारिएको हेर्न चाहन्छौं भने सुरुमा हाम्रो आफ्नो बोली र व्यवहारमा शालीनता हुनुपर्छ ।

हामीले बुझ्नुपर्छ, कुनै पनि आन्दोलन यदि सत्ताप्रेमीहरूको उन्माद र स्वार्थको पोका मात्र हो भने त्यसमा साथ नदिँदा केही बिग्रिँदैन । बाँकी काम राज्य र कानुनले आफ्नै गतिमा गरिहाल्छ । सडकमा उत्रिएर राष्ट्रिय धनमा क्षति पुर्‍याउनु वा कसैको निजी सम्पत्तिमा आँच पुर्‍याउनु उचित होइन । बरु यो त कायरता हो । कसैको पछि लाग्नुअघि वा कसैको समर्थनमा उभिनुअघि आफूले आफूलाई प्रश्न गरौं, म एउटा असल नागरिकका रूपमा उभिएको छु कि कसैको इसारामा नाच्ने कठपुतली बनेको छु ?

हाम्रो देश बिग्रनुमा केवल नेताहरू मात्र दोषी छैनन् । हामी जनता पनि उत्तिकै जिम्मेवार छौं । हामी नै भ्रष्ट र बेइमान भयौं भने हामीले सुशासनको अपेक्षा गर्नु नै व्यर्थ छ । जनता जबसम्म कसैको अन्धभक्त वा झोले कार्यकर्ता बन्न छोड्दैनन्, तबसम्म यो देशमा साँचो परिवर्तन आउन सम्भव छैन । हामीले नेतालाई शासक बनायौं, जबकि उनीहरू हाम्रा सेवक हुन् । यो दास मानसिकता नै आजको समृद्धिको मुख्य बाधक हो । यदि हामी आफैं नसुध्रिने हो भने व्यवस्था फेरिएला तर नागरिकको अवस्था जस्ताको तस्तै रहनेछ ।

नयाँ सरकारका लागि मेरो स्पष्ट सुझाव छ कि अब आश्वासनको पोको बाँडेर मात्र पुग्दैन । सरकारले सबैभन्दा पहिले युवा पलायन रोक्नका लागि स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्छ । कृषिलाई आधुनिकीकरण गर्ने र साना उद्यमीहरूलाई बिनाझन्झट सहयोग गर्ने नीति अबको प्राथमिकता हुनुपर्छ । सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र भ्रष्टाचारलाई प्रविधिको प्रयोगमार्फत अन्त्य गरिनुपर्छ । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतालाई व्यापारीकरणबाट मुक्त गराई गुणस्तरीय सेवाको सुनिश्चितता गर्नु सरकारको मुख्य दायित्व हो । यदि यो सरकारले पनि अघिल्ला सरकारहरू जस्तै केवल गफ र शक्तिको उन्मादमा समय बिताउन खोज्यो भने हामी चुप लागेर बस्ने छैनौं । जुन हातले मतदान गरेर तपाईंहरूलाई सत्तामा पुर्‍यायौं, त्यही हातले तपाईंहरूलाई सडकमा पुर्‍याउने हिम्मत पनि हामी राख्छौं ।

अन्त्यमा, म आम जनसमुदायलाई एउटा हार्दिक अपिल गर्न पनि चाहन्छु । अब पनि हामी खास व्यक्तिको अथवा संघसंस्थाको हुन छोडेनौं भने हाम्रा सन्ततिको भविष्य पनि परदेशको रोजगार खोज्दैमा व्यतीत हुनेछ । आफ्ना सन्तानलाई बुढेसकालको सहाराका रूपमा आफ्नै छेउमा राख्ने कि विदेशमा बाध्यताको रोजगारी खोज्न पठाउने ? छनोट हाम्रै हो । आउनुहोस्, नेताको झोला बोक्न छोडेर देशको भविष्यका बारेमा सोचौं । जबसम्म हामी प्रश्न सोध्न डराउँदैनौं र तथ्यमा आधारित भएर कुरा गर्दैनौं, तबसम्म कसैले हामीलाई ठग्न सक्दैन । यो देश हाम्रो हो र यसलाई बनाउने वा बिगार्ने जिम्मा पनि हाम्रै हो । अबको सरकारले राम्रो काम गर्नुपर्‍यो, त्यसको उचित मूल्यांकन गर्ने काम हाम्रो भयो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय