३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

पुष्पलालले गाँसेको प्रजातान्त्रिक साइनो

भारतको अस्पतालमा ‘जीवन–मृत्यु’सँग लडिरहेका बेला यता ‘आनन्दबहादुर’ को नामबाट एउटा ‘गद्दार पुष्पलाल’ भन्ने लिखत छापियो । २०३४ सालमा छापिएको त्यो लिखतका ‘आनन्दबहादुर’ नेकपा (चौथो महाधिवेशन) का महासचिव मोहनविक्रम सिंह थिए । त्यही लिखत जसलाई त्यो बेला पार्टीले आफ्नो आधिकारिक दस्तावेजसमेत बनायो ।

मोहनविक्रम त अहिले पनि जिउँदो साक्षी नै छन् । त्यसको मूल्यांकन आज उनले गरिरहेका होलान्—प्रजातन्त्रका खातिर कांग्रेस–कम्युनिस्ट मिलेर एउटा उचाइमा पुर्‍याएको त्यो क्रान्तिको साँच्चिकै ‘गद्दार’ को थियो ?

नेपाली भूमिमा प्रजातन्त्रका लागि क्रान्ति गर्ने भनेर कम्युनिस्ट पार्टीका लागि ‘प्रसव पीडा’ खेपेका ‘पुष्पलाल’माथि लागेको त्यो एउटा संगीन आरोपले पनि प्रस्ट पार्छ कि पुष्पलालले आफ्नो राजनीतिक जीवनमा कति ‘कोपभाजन’ बेहोर्नुपर्‍यो । र, पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा ‘वामपथ’का ‘गर्भसिद्धान्तकार’ मानिन्छन् उनी । विश्व कम्युनिस्ट विचारधारा अर्थात् उग्रवाम विचारलाई नेपालको माटो सुहाउँदो सिद्धान्तमा मिसाउने उनी नै हुन् । जसले विश्व कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा उल्था गरेर आफ्ना कार्यकर्तालाई बाँडेका थिए । अंग्रेजी र अरू पनि भाषामा पाइने त्यो कम्युनिस्ट घोषणापत्रको ‘नेपाली संस्करण’ मा पुष्पलाल नै पहिलो हस्ताक्षर हुन् ।

छोराहरू राणाविरोधी आन्दोलनमा लागेपछि राणाहरूले उनका बाबुको जागिरमात्रै खोसेनन्, सर्वस्वहरणसमेत गरे । त्यो बेलादेखि भारतमै निर्वासित पुष्पलालमात्रै होइन उनको सिंगो परिवारले नै नेपालमा प्रजातन्त्रका लागि ठूलो बलिदान दियो । यही परिवारको जेठो सन्तान गंगालाल श्रेष्ठ हुन्, जसलाई राणाहरूले गोली हानेर मारे । यो पुस्ताको मानसपटलमा नेपालका ‘सहिद’हरू भन्नासाथ झुल्किने चार शीर्ष तस्बिरमध्ये एक उनै गंगालाल पनि हुन् । उही गंगालालका ‘माहिला’ भाइ हुन्, पुष्पलाल । जसले आफ्ना दाजुलाई मार्ने जहानियाँ राणा शासनका लागि लड्ने संकल्प गर्दै नेपालमा कम्युनिस्ट पार्टी स्थापनाका लागि संघर्ष अनि सारा जीवनै अर्पण गरे ।

पुष्पलालका जीवनकथा धेरै त लेखिएका छैनन् । तर उनका समकालीनले कहींकतै उनका बारेमा लेखेका आधारमा अहिले पनि भन्न सकिन्छ— प्रजातान्त्रिक आन्दोलनमा फुलेको एउटा तीक्ष्ण सुवासिलो फूल नै हुन् पुष्पलाल, जसलाई टिप्नका लागि कैयौं तीखा काँडाले घोचिनुपर्थ्यो । त्यसकै परिणाम थियो, २००७ सालको क्रान्ति । जहाँ पुष्पलालका तीखा विचार, रणनीति अनि नेपाली कांग्रेसको सामर्थ्य मिसिएको थियो । उनीमाथि लेखिएका कतिपय कथा–उपकथामा कतैकतै उनका पारिवारिक कुरा उल्लेख छन् । त्यस्तैमध्ये कतै उनका दाजु गंगालालसँगको भेटको प्रसंग पनि पाइन्छ । १९९७ मा गंगालाललाई भद्रगोल जेलमा राखिएको थियो । उनलाई मृत्युदण्ड दिनुभन्दा एक दिनअघि भेट्न पुगेका पुष्पलाललाई गंगालालले भनेका थिए, ‘मैले प्रजातन्त्रका निमित्त बालेको दियो तैंले निभ्न दिने छैनस् माहिला !’

कम्युनिस्ट विचारधारा बोकेर राजनीति गरे पनि पुष्पलालले प्रजातान्त्रिक ध्रुवीय राजनीतिलाई कहिल्यै ‘दुश्मन’ ठानेनन् । बरु त्यो कालको राजनीतिक रजगजसँग जुध्नका लागि कांग्रेससँग पनि मिल्ने नीति अपनाए । २००६ सालमा भारतमै निर्वासनमा रहेका बेला कोलकातामा उनले ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन गरेका थिए । नेपाल र भारतमा रहेका तमाम नेपाली वामपन्थ धारका युवालाई बटुलेर उनले नेपालमा पनि त्यसरी वाम आन्दोलनको सुरुवात गरे । त्यो बेला उनले नेकपाको घोषणापत्रमा लेखेका थिए— हामीले विश्व प्रजातन्त्रीय गुटहरूसँग काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्छ । अनि मात्र हामी मजदुर वर्गको नेतृत्वमा पसिना चुहाउने जनताको प्रजातन्त्रीय राष्ट्र खडा गर्न सक्नेछौं । नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादको निम्ति लड्नुपर्दछ ।

यो विचारधाराले पनि उनी विश्व कम्युनिस्ट विचारधाराबाट प्रभावित भएर कुनै जडवादी कम्युनिस्ट मात्रै रहेनन् । बरु समय र माटो सुहाउँदो सिद्धान्त अपनाएर नेपालका प्रजातान्त्रिक शक्तिसँग मिलेर प्रजातन्त्रकै निम्ति वाम आन्दोलनलाई पनि समाहित गरे । नेपालमा राणा र पञ्चायतविरुद्ध लामो संघर्षमा होमिएका ‘महामानव’ बीपी कोइरालासँग पनि उनी धेरै निकट रहे । फरक विचारधाराको राजनीतिक बाटोमा भए पनि उनी बीपीलाई निकै आदर अनि सम्मान नै गर्थे । बीपी पनि उनलाई एक आदर्श पात्रका रूपमा लिन्थे । वैचारिक बाटो अलि अलग थियो तर उनीहरूको त्यो राजनीतिक र व्यक्तिगत आत्मीयताको परिणाम नेपालको प्रजातान्त्रिक लडाइँ छिन्नभिन्न हुन पाएन । दुवै नेताले भारतमै बसेर नेपालमा आन्दोलन र अभियान अघि बढाए । त्यो हिसाबमा नेपालमा प्रजातन्त्रका लागि सुरु भएको लडाइँलाई कसरी लैजाने भन्ने कतिपय रणनीतिमा दुवैको छलफल हुन्थ्यो ।

भारतबाट ‘मेलमिलाप’को नीति लिएर २०३३ पुस १६ मा बीपी नेपाल फर्किए । फर्किने चाँजोपाँजो मिलाउँदै गर्दा पाँच दिनअघि बीपी र पुष्पलालबीच भारतको सारनाथमै भेट भएको थियो । त्यो भेटमा नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनका बारेमा धेरैबेर कुराकानी पनि भयो । त्यही बेला पुष्पलालले बीपीलाई नेपाल नफर्किन सल्लाह पनि दिएका थिए । तर अब निर्णायक ‘लडाइँ’का लागि भन्दै बीपीले नेपाल फर्किछाड्ने अठोट सुनाएका थिए । ‘नेपालमा संकट निकै गहिरिइसकेको छ । हामी नफर्किए त्यो अझ गहिरो हुनेछ । मेरो स्वदेश फिर्ती राजासँग समर्पण होइन । संघर्ष पनि होइन । बरु योबीचको मध्यमार्गी बाटो हो,’ बीपीले त्यो बेला पुष्पलालाई सम्झाउँदै भनेका थिए, ‘बरु तपाईं पनि विचार गर्नुहोस् । नेपालै फर्केर बीचधारबाट आन्दोलन अघि बढाउनुपर्छ ।’ तर पुष्पलाल फर्किन मानेनन् । भारतमै बसेर नेपालको आन्दोलनमा योगदान गर्छु भनेका थिए ।

त्यो बेला राजाको पञ्चायती शासनविरुद्ध नेपालमा कांग्रेस र कम्युनिस्टहरू छुट्टाछुट्टै टुकडी बनाएर लडिरहेका थिए । त्यो एउटा निरंकुश पञ्चायतविरुद्धको लडाइँ थियो । गन्तव्य त एउटै थियो— जनताको प्रजातन्त्र र सार्वभौमशक्ति जनतामै फिर्ता गर्ने अनि बहुदलीय प्रजातन्त्रको स्थापना । त्यही गन्तव्य पाउनका लागि कांग्रेस–एमालेहरू भने अलगअलग बाटामा दौडिरहेका थिए । उही ठाउँ पुग्नका लागि अलगअलग बाटोमा कुदिरहेका आन्दोलनलाई एकीकृत रूपमा लैजाने प्रस्ताव पुष्पलालको थियो । बीपीहरूले पनि त्यो कुरा स्वीकार गरेपछि २०३१/३२ सालतिरै पञ्चायतविरुद्ध कांग्रेस–कम्युनिस्टको संयुक्त आन्दोलन गर्ने रणनीति बनेको थियो । त्यसकै परिणाम कम्युनिस्ट पार्टीभित्र पुष्पलालका विरुद्ध गुटबन्दी सुरु भयो र उनलाई ‘गद्दार’ घोषणा गरियो । कम्युनिस्ट छवि भए पनि प्रजातान्त्रिक बाटोबाटै आन्दोलन अघि बढाउनुपर्छ भन्ने मान्यता राख्ने पुष्पलाललाई उनकै कतिपय ‘सहयोद्धा’ले इन्कार गर्न थाले । तर उनले अघि सारेको रणनीतिबाट कांग्रेस–एमाले एक भएर २०४६ सालमा पञ्चायती शासनको अन्त्य गरे अनि बहुदलीय प्रजातन्त्रको सुरुवात भयो ।

१९८१ असार १५ गते रामेछापको मध्यम परिवारमा जन्मिएका पुष्पलाल आफैंमा लोकतान्त्रिक चरित्रका थिए । २००६ सालअघि नै उनले १९९८ सालमा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ र सूर्यबहादुर भारद्वाजहरूसँग मिलेर ‘नेपाली प्रजातान्त्रिक संघ’ बनाएका थिए । राणाहरूविरुद्ध लड्न खडा गरिएको यो एउटा त्यस्तो प्रतिबद्ध संगठन थियो, जसको ‘प्रतिज्ञापत्र’ मा पुष्पलालहरूले रगतको सहिछाप लगाएका थिए । २००४ मा नेपाली राष्ट्रिय कांग्रेसले सुरु गरेको ‘नागरिक विद्रोह’को अग्रपंक्तिमा पनि पुष्पलाल, शम्भुराम, स्नेहलता श्रेष्ठ तथा साहना प्रधानलगायतका नेताहरू थिए ।

नयाँ दिल्लीस्थित ‘अल इन्डिया मेडिकल इन्स्टिच्युट’मा उपचारार्थ भर्ना भएका पुष्पलालले जीवनको अन्तिमसम्म पनि पञ्चायतविरुद्ध मिलेरै लड्न सन्देश दिएका थिए । मृत्युशय्याबाटै उनले एउटा ‘भविष्यवाणी’ छाडेर गए— कांग्रेस र कम्युनिस्टहरू मिलेर नलड्दासम्म पञ्चायत ढल्दैन अनि देशमा प्रजातन्त्र पनि आउँदैन । २०३५ साउन ७ गते उनको त्यही अस्पतालमा निधन भयो । पञ्चायतविरुद्ध दलीय एकताकै परिणाम हो २०४६ सालको जनआन्दोलन, जहाँबाट नेपालमा आधुनिक प्रजातान्त्रिक युग सुरु भयो । राजनीतिक जीवनमा उनले जस्ता उतारचढाव भोगे, प्रजातन्त्रको लडाइँमा आफूलाई समर्पण गरेका एक नेतृत्वकर्ताका लागि त्यो एउटा भोग्नैपर्ने स्वाभाविक नियति थियो ।

तर कम्युनिस्टको ‘कोर’ साइनोमा उनले गाँसेको प्रजातान्त्रिक धार नेपाली राजनीतिक इतिहासमा सधैं चम्किलो नै रहिरहनेछ । जुनसुकै सिद्धान्त होस् वा ‘वाद’, राजनीति गर्ने भनेकै जनताका लागि न हो । पटकपटक आन्दोलन गरेर हामीले प्राप्त गरेका उपलब्धि जोगाउनका खातिर अहिले पनि पुष्पलालहरूले भनेजस्तै सहकार्य र सहअस्तित्वलाई आत्मसात् गर्नैपर्छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय