१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

देउवाकै वरिपरि घुमिरहेको कांग्रेस

लोकतन्त्रको स्थापना र त्यसको रक्षाका लागि नेपाली कांग्रेसले सदैव अग्रमोर्चामा रहेर काम गर्दै आएको छ। यस अर्थमा कांग्रेस लोकतान्त्रिक पद्धतिको मेरुदण्ड हो। विगतका कांग्रेसका धेरै गतिविधि अरु पार्टीका लागि समेत उदाहरण र मुलुककै लागि नजिर बन्ने गरेका छन्।

छिल्लो समय लोकतन्त्रमाथि प्रहार गर्नेहरु बढ्दै जाँदा कांग्रेसले थप सशक्त भएर उभिनुपर्ने र अरुका लागि पनि नजिर स्थापित हुने काम गर्नुपर्ने हो। तर त्यस्तो हुन सकेको छैन। २००७ सालमा क्रान्ति गरेको, तानाशाही पञ्चायतविरुद्ध निरन्तर तीन दशक लडेको, लोकतन्त्रको पुनस्थापन र जनआन्दोलनको नेतृत्व गरेको पार्टीको आन्तरिक जीवनमै लोकतन्त्र कमजोर बन्दै गएको आभास हुन थालेको छ।

नेताअनुकूल विधि–पद्धति चल्न थालेको आभास तल्लो तहका सामान्य कार्यकर्ताले समेत महसुस गर्न थालेका छन्। विचार र विधिभन्दा पनि नेतृत्व प्रधान हुन थालेको छ। लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण कांग्रेस पार्टी विधि-विधानअनुसार चलोस् र अन्य पार्टीलाई पनि मार्गनिर्देश गर्न सकोस् भन्ने हाम्रो अपेक्षा छ। तर वर्तमान पार्टी नेतृत्वबाट पटक–पटक कार्यकर्ता र जनअपेक्षामाथि कुठाराघात गर्ने काम हुन थालेको छ। जसले गर्दा आमकार्यकर्तामा निराशा बढ्दो छ।

लोकतान्त्रिक पार्टीका भातृ संगठन वर्षौंदेखि टिके सभापतिका भरमा चलेका छन्। भ्रातृ संस्थाको नियमित महाधिवेशन गराउन नसक्दा लामो समयदेखि नेतृत्व हस्तान्तरण हुन सकेको छैन। कांग्रेसभित्र मात्र होइन अन्य पार्टीले समेत विश्वास गरेका दुई नेता गगन थापा र विश्वप्रकाश शर्मा नै महामन्त्री भएका बेला भ्रातृ संस्थाको महाधिवेशन नराम्ररी गिजोलियो। भ्रातृ संस्थालाई तदर्थवादमा चलाउन पल्केका सभापति शेरबहादुर देउवालाई ‘यो सभापतिको खेल्ने मैदान होइन, कांग्रेसका लाखौं कार्यकर्ताको नर्सरी हो’ भनेर बुझाउन महामन्त्रीद्वय असफल भए।

राजनीतिमा युवा नेतृत्वको खोजी बढिरहेका बेला नेतृत्व उत्पादनको कारखाना नेवि संघ, तरुण दल र महिला संघलाई चलायमान बनाउने काममा कांग्रेसको नेतृत्व तह नराम्री चुकेको छ। कम्तीमा तीन वर्षमा हुनुपर्ने नियमित अधिवेशन हुन नसक्दा पुस्ता पलायन बढ्दो छ। युवा नै ऊर्जा मान्ने पार्टीमा युवा नै महामन्त्री भएका बेला यो हविगत?

त्यति मात्र होइन एक महिनाभित्रै गर्न सकिने कोषाध्यक्ष नियुक्तिका लागि सभापति देउवालाई तीन वर्ष लाग्यो। तर कुनै पदाधिकारीले किन कोषाध्यक्ष नियुक्त नगरेको भनेर प्रश्न गरेनन्। ९-१० महिनासम्म पनि केन्द्रीय कमिटी बसेन। धेरैलाई यसको कुनै मतलब नै भएन।

सरकारी तथ्यांकले नै भन्छ, पछिल्लो समय बजार महँगी अचाक्ली बढेको छ। व्यापारीको मनोमानी छ। सरकार आँखा चिम्लिएर बसेको छ। यो बेला थप सशक्त हुनुपर्ने नेविसंघ र तरुण दल जस्ता भ्रातृ संस्था निदाएका छन्। बजेट भाषणमा मूल्य वृद्धि ५.५ प्रतिशतको सीमा राख्ने दाबी गरिए पनि त्यो बढेर ६ प्रतिशतभन्दा माथि उक्लिसक्यो। दैनिक चाहिने तरकारीको मूल्य वृद्धि त झन् ३४ प्रतिशतभन्दा बढीले उकालो चढेको छ। तर कालोबजारियालाई खबरदारी गर्नुपर्ने युवा मौन छन्। आन्दोलन गर्दा देउवाले कतै आफ्नै सरकारका विरुद्ध आन्दोलन गर्ने भनेर कारबाही पो गर्लान् कि भन्ने डर छ सायद! सभापतिका लागि मात्र बोलिदिने र आम विद्यार्थी र नागरिकको पक्षमा सडकमा नउत्रने हो भने यी संगठनको औचित्य के?

विगतमा राजनीतिक दल प्रतिबन्धित हुँदा विद्यार्थी संगठनले राजनीतिक दलका मुद्दा जनतासम्म लैजाने र स्थापित गर्ने काम गरेका थिए। देशमा भएका राजनीतिक परिवर्तनको बाहक विद्यार्थी संगठन अझ त्यसमा पनि नेविसंघ थियो। तर अहिले संगठनले आफ्नै ओज, महत्व र विश्वास गुमाएको छ।

लगातार दोस्रो पटक पार्टी नेतृत्व गरिरहेका पार्टी सभापति देउवाको कार्यकाल २०८४ मंसिरमा सकिँदैछ। सभापति र अन्य पदका आकांक्षी देउवाको विश्वास जित्नेतर्फ लागेका छन्। उनीहरुलाई आफ्नै पदको चिन्ता छ, यी संगठन र नागरिकको विषयमा कसले बोल्ने? यतिसम्म कि विगतमा सभापतिको कडा आलोचक गगन थापा अहिले मौन छन्। शेखर कोइरालाको काँध चढेर महामन्त्री बनेका थापालाई कसरी हुन्छ अब देउवाको कुनै विरोध नगर्ने र उनको आशीर्वादमा सभापति बन्ने एक सूत्रीय लक्ष्य देखिन्छ।

सशक्त र सुदृढ कांग्रेस कसरी निर्माण गर्ने र २०८४ को निर्वाचनमा पार्टीलाई कसरी थप बलियो बनाउने भन्नेमा कसैको ध्यान छैन। गएको वैशाखमा भएको उपनिर्वाचन इलाम र बझाङमा कांग्रेसले किन हार्‍यो? मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस किन कमजोर भयो? रिक्त स्थानीय तहमध्ये २०७९ मा कांग्रेसले २७ स्थानमा जितेको थियो। तर यो संख्या किन घट्यो, कहीँकतै छलफलको एजेन्डा बन्न सकेको छैन। यसरी २०८४ मा कसरी पहिलो दल बन्न सकिएला? निर्वाचनको मतपरिणामलाई विश्लेषण गरेर पार्टी नेतृत्वले जिम्मेवारी लिनु पर्दैन?

हिजो, आज र भोलिको प्रमुख प्रतिद्वन्द्वी एमालेसँगै कांग्रेस सरकारमा छ। कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुको कामको समीक्षा खै? कुनै मन्त्रीले गरेका राम्रो कामको चर्चा आजसम्म सुन्न पाइएको छैन। मन्त्रीहरुले सुधारका काम गरेर त्यसको चर्चा र परिचर्चा पार्टी र आमनागरिकलाई गर्वका साथ भन्ने परिस्थिति बनेको छ त? नागरिकलाई सुनाउन र यसका लागि फेरि कांग्रेसलाई मत दिनुस् भन्न सक्ने अवस्था छैन। सुधारको रोडम्याप पनि देखिन्न। केपी ओलीको मन्त्रीमण्डल पूर्ण बनाइदिन मात्रै मन्त्री भइरहनेहरुको समीक्षा गरेर उनीहरुलाई निर्देशन वा कारबाही गर्नु पर्दैन? सभापति देउवाले बारम्बार प्रधानमन्त्री ओलीले राम्रो काम गरेको भनिरहँदा कांग्रेसको एउटा मन्त्रीले गरेको कामको कहाँ कसले चर्चा गरेको छ? खालि सत्ताको नेतृत्व गर्ने मिति गनेर मात्रै कांग्रेस लोकप्रिय कसरी बन्छ सभापतिज्यू?

सुशासनको चाहना जुन रुपमा नागरिकले सोचेका छन्, त्यो अनुसार हुन सकेको छैन। तीन वर्षदेखि शिथिल मुलुकको अर्थतन्त्र चलायमान बन्न सकेको छैन। सरकारले केही गर्ला र अर्थतन्त्र सुधारिएला भनेर उद्योगी र आमनागरिक व्यग्र प्रतीक्षामा छन्। कांग्रेस सरकारमा भएका बेला सेयर बजारमा उत्साह आउने गरेकामा यो पटक त्यो देखिएको छैन।

अहिले जवाफदेहिताको अभाव खड्किएको छ। नागरिकप्रति उत्तरदायित्वको भावना परित्याग भएको छ। यसले नै होला राजनीतिप्रति वितृष्णा बढ्दो छ। यो अवस्थामा कांग्रेसका नेता-कार्यकर्ता के कामको फेहरिस्त लिएर नागरिकको ढोकामा जाने? विधि–पद्धति र अनुशासनमा तलदेखि माथिसम्म र माथिदेखि तलसम्म नेता-कार्यकर्ता बाँधियौं भने पार्टी एकता मजबुत हुन्छ। नेतृत्वले उदारता देखाउनुपर्छ। अन्य जिम्मेवारीमा रहेकाले पनि चाकडीभन्दा काम गर्नुपर्छ, अन्यथा २०८४ मा पार्टी यसअघिका दुई उपनिर्वाचनमा भन्दा पनि कमजोर नहोला भन्न सकिन्न।

उसो त २०८४ को निर्वाचन अगावै पार्टीको महाधिवेशन हुँदैछ। विधान अनुसार देउवा सभापतिको रेसबाट बाहिरिँदैछन्। त्यसकारण अबको महाधिवेशनले कांग्रेसको भविष्य निर्धारण गर्नुपर्छ। लाखौं कार्यकर्ताको त्याग र बलिदानले सञ्चित पार्टीलाई महाधिवेशनबाट नयाँ जीवन दिन जरुरी छ। गुट-उपगुट र सभापति वरिपरि घुमेको कांग्रेसलाई नीति र विधिको बहसको थलो बनाउन जरुरी छ। पार्टीमा विचलन बढेको छ। त्यसलाई चिर्न सक्ने नेतृत्व अब आमकार्यकर्ताले खोज्नुपर्छ। गुटलाई मलजल गर्ने होइन, आमकार्यकर्तालाई हौसला थप्ने नेतृत्व अब कांग्रेसमा आउनुपर्छ। बीपी, गणेशमान र किसुनजीको अनुयायी होइन उनीहरुका नीति र कामलाई अनुशरण गरेर काम गर्ने व्यक्तिलाई नेतृत्व सुम्पनुपर्छ। क्षमतावान् र निष्ठावान्‌लाई देउवाले साथ दिनुपर्छ। अन्यथा फेरि कांग्रेस नैतिकताको धरातलमा फस्छ र चुनावको मुखैमा पार्टीप्रति आमकार्यकर्ता र मतदाताको निराशको ग्राफ बढ्न सक्छ। यसमा नेतृत्वले समयमै सोच्ने र अरुले सचेत गराउने जिम्मेवारी नभुलौं।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय