३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

अर्घाखाँचीमा ८ हजार बढी किशोरीहरुलाई एचपिभी विरुद्धको खोप दिईंदै

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभि भाईरस विरुद्धको खोप यही माघ २२ गतेदेखी देशव्यापी लगाईंदै छ । सोही अभियान अन्तर्गत अर्घाखाँचीका ८ हजार बढी किशोरीहरुलाई खोप लगाईने भएको छ ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म एचपिभी विरुद्धको खोप कार्यक्रम संचालन हुने स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लास्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराईएको हो ।

अर्घाखाँचीका कुल ८ हजार १ सय ६० किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले जानकारी दिए । जसमध्ये विद्यालय मा अध्ययनरत ७ हजार ८ सय ५१ छात्रा तथा विद्यालय बाहिर रहेका ३ सय ९ रहेका उनले बताए ।

जिल्लाका ६ स्थानीयतहमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपिभी विरुद्धको खोप लगाइने छ। खोप लगाउन विद्यालय स्तरमा १४५ र वडामा ६१ गरी २०६ वटा खोप केन्द्र तोकिएको छ । खोप लगाउन जिल्लाभरमा २०४ जना स्वास्थ्यकर्मी, ४०६ जना महिला स्वास्थ्य स्वयंसेविका र विद्यालय शिक्षिका खट्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले खोप अभियान सफल पार्न सबै क्षेत्र क्रियाशिल बन्नुपर्ने बताएका छन् । किशोरीहरुलाई खोप केन्द्रसम्म ल्याउन तथा कोही नछुटुन् भन्ने बारे सबै सचेत बन्नुपर्ने बताए । पाठेघरको क्यान्सरबाट मृत्यु हुने महिलाको संख्यामा वृद्धी भईरहेकाले किशोरीलाई खोप लगाउँदा पाठेघरको क्यान्सरबाट बच्न सकिने उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एक दिनमा नेपालमा चार जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेकाले किशोरीलाई खोप लगाउँदा भविष्यमा हुने क्यान्सरबाट बच्न सकिन्छ। शारीरिक सम्पर्कमा आउनुभन्दा पहिला खोप लगाउँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहका किशोरी छनोट गरिएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय