नेपाल विविधतापूर्ण मुलुक हो । विविधताको मतलब मतभेदहरू, असहमतिहरू, फरक अस्मिताहरू स्वीकार गर्नु हो । यो केवल सहिष्णुतासम्मको भाव होइन । विविधतालाई तब मात्र बुझ्न सकिन्छ जब परस्पर सम्मानको गुण होस् । निश्चित रूपमा नेपाल अनेक रीतिरिवाज, भाषा, संस्कृति, सामाजिक व्यवस्थाहरूको देश हो ।
नेपाललाई प्रायः पर्व, उत्सव र जात्राहरूको मुलुक भनेर चिनारी दिइन्छ । विविधता यहाँको विशेषता हो । पर्व, उत्सव, जात्राहरू नेपालको अखण्डता, प्रभुत्व र सामाजिक समरसताको प्रतीक हो ।
यी सामाजिक–सांस्कृतिक अवसरहरूका माध्यमबाट न केवल धार्मिक आस्थालाई सम्मानित गरिन्छ, यसले मानवीय सम्बन्धको महत्त्वलाई समेत सिकाउँछ । यो हाम्रो समाजमा एकता र समृद्धिको प्रतीक रहँदै आएको छ । यस्ता मौकामा प्रत्येक समुदायको सांस्कृतिक गहिरोपन र त्यसको सांस्कृतिक आदर्शलाई पनि नियाल्न पाइन्छ । धार्मिक उत्सवहरूकै एक अंग हो, सडकमा सामूहिक प्रदर्शन ।
उपरोक्त कुराहरू लेखिरहँदा केही विचारणीय पक्ष पनि अगाडि देखिन्छ । खासगरी मधेशमा पछिल्ला केही वर्षदेखि यस्ता सार्वजनिक उत्सवका प्रदर्शनहरूका समयमा प्रहरी प्रशासनमा विशेष चनाखोपन, आमनागरिकमा दुश्चिन्ता र आयोजक पक्षमाथि अनेकानेक दबाब देखिन्छ । कतै राजनीतिक दलहरूको फितलो निर्णय क्षमता झल्किने गर्दछ ।
कतिपय ठाउँमा यस्ता उत्सवहरूको पुरानो परम्परा छ, कतै नयाँ–नयाँ अनेक अनुष्ठानहरू देखिन थालिएको छ । यस्ता सार्वजनिक सामूहिक प्रदर्शनहरूको संख्या पनि बढ्दै गएको छ, सँगसँगै सहभागिता पनि बाक्लिँदै । निश्चय पनि यस्ता कैयौं उत्सवहरूले स्थानीय मौलिकतालाई समृद्ध विरासत र परम्परा रचेका छन् ।
धार्मिक उत्सवहरू लक्षित सुरक्षाको विशेष व्यवस्था किन गर्नुपर्ने हुन्छ ? यस्ता उत्सवहरू के हिंसाका मुहान हुन् ? कि कारण कतै अन्तै छ ? नेपालको सामाजिक मानचित्रका कुनै एक बिन्दुमा यस्तो तनाव देखिने गर्दा बाँकी हिस्सा यसबाट बेअसर कतिन्जेलसम्म रहिरहन्छ ? यस्ता धार्मिक भनिने सामूहिक उत्सवहरूको स्वभाव र चरित्रमा के बदलाव हुँदै आएको छ ?
कतै यही प्रवृत्तिले तनाव हुर्काउन मलजल त गरिरहेको छैन ? हामी कहाँ चुक्दै छौं ? समाज कतातिर डोहोरिँदै छ ? हामीले यो वा त्यो पक्ष नभनी सबै प्रश्नमाथि विचार गर्दै एक इमानदार र व्यापक तरिकाबाट समस्याको विश्लेषण र समाधान गर्नुपर्छ ।
ती स्थानहरू जहाँ तनाव प्रकट हुन्छ, त्यो अचानक हुँदैन । त्यस स्थानको पृष्ठभूमि, सामाजिक–राजनीतिक बनोट, लुप्त आकांक्षा एवं स्वार्थहरू, बाह्य खेलाडीहरूको चलखेलले असर पुर्याउँछ । उत्सव अघिदेखि नै ध्रुवीकरण र विभाजनकारी वक्तव्यहरू आउने, अडानहरूमा अस्पष्टता, जुलुसका मार्ग र समापन स्थानबारे छद्म तयारी, आडम्बरको छनोटले गतिरोध निम्त्याउँछ ।
त्यस्ता प्रतीक, नारा, हाउभाउ वा मार्गको छनोट गरिन्छ जो जानाजानी अर्को पक्षलाई उत्तेजित बनाउँछ । कुन पक्षले पहिला सुरु गर्यो भन्दा पनि किन यस्ता गर्नेहरू हौसिँदै गइरहेका छन्, यो महत्त्वपूर्ण हो । सामाजिक सञ्जालहरूमा त्यस अवधिमा के कस्ता टिप्पणी–प्रतिटिप्पणी पस्किएको हुन्छ ।
त्यसमा अर्काका प्रति घृणा, निषेध र हेय भाव सघन पाइन्छ । बदलाको भावना वा अर्को पक्षलाई ‘देखाइदिने’ मनोविज्ञान झल्किन्छ । कतिपय ठाउँमा धार्मिक जुलुसलाई निर्धारित मार्गभन्दा अन्यत्र मोड्न उक्साउने, डिजेको अनर्गल कोलाहल र उत्तेजना खडा गर्ने, हतियारको खुला प्रदर्शन, अर्काको धार्मिक–सांस्कृतिक स्थलसामु जम्मा हुने, इसारा गर्ने, भड्काउ नारा दिने, माहोललाई भक्तिभन्दा पनि आक्रामकतातर्फ मोड्ने, अर्को पक्षमाथि ढुंगा फ्याँक्ने, अरूका प्रतीकहरूमाथि प्रहार गर्ने, गलत सूचना फैलाउने वा घुसपैठियाहरूले अराजकता ल्याउने गर्दछ ।
स–साना झडप वा उत्तेजनाका झिल्कालाई अर्को पक्षले लामो समयसम्म स्मरणमा राखिरहँदा यस्ता तनाव दोहोरिइरहन्छन् । नकारात्मक प्रतिस्पर्धाले गर्दा पनि एक अर्को पक्ष यस्ता जुलुसको तयारी गर्ने मनोविज्ञान पनि प्रस्टिन्छ । त्यसैगरी अर्को समुदायले असहिष्णुता राख्दा, खिचलो उत्पन्न गर्न खोज्दा वा पुरानो ईख फेर्न खोज्दा भुसको आगो सल्किन्छ ।
कतिपय ठाउँमा राजनीतिक स्वार्थका कारण आवरणमा धार्मिक जुलुस देखिए पनि त्यसभित्र खिचडी पाकिरहेको हुन्छ । कोही आगामी चुनावमा सामुदायिक समीकरणलाई आफूअनुकूल बनाउन, नयाँ भोट बैंक विकसित गर्न, निर्वाचित जनप्रतिनिधिलाई निष्प्रभावी बनाउन राजनीतिक हतकण्डाका रूपमा यस्ता मौका छोप्छन् । केही यस्ता पनि राजनीतिक दाउपेच देखिन्छन् जहाँ तात्कालिक लाभहानिका लागि डढेलो ताप्न चाहिरहन्छ । कसैले यसलाई नेतागिरी फस्टाउने अवसर देख्छन् ।
को–कसरी कुनै पक्षका नेता हुन्छन् ? तिनले पोख्ने कुराहरू सिंगो समुदायको साझा मत हो भनेर कसरी पत्याउने ? कसैको तर्फबाट कसैले बयान दिइरहेको दाबीलाई कसरी स्विकार्ने ? मूलाधारका राजनीतिक शक्तिहरू चुप लाग्दा कतै धार्मिक समुदायका नाममा प्रतिनिधि दाबी गर्ने होड त बढेको छैन ? राजनीतिक सर्वतमा उन्मादको रसायन मिलाउन चाहनेहरूको प्रवृत्तिगत आकृति के हो ? स्थानविशेषका संवेदनशीलता के हो ? किन खास–खास क्षेत्रमा तनाव जिउँदो रहिरहन्छ ? यस्ता तनावका बाछिटाहरू केवल शान्ति–सुरक्षाका विषय मात्र हुन् कि अरू चीज पनि ?
राजनीतिक ध्रुवीकरणमा एक निश्चित कित्ता प्रस्टिन्छ । धार्मिक ध्रुवीकरणमा यसको सीमारेखा छुट्याउन, बुझ्न, विश्लेषण गर्न गाह्रो र जोखिमपूर्ण हुन्छ । स्थानीयस्तरमा विचार निर्माण कसरी भइरहेको छ ? विभिन्न पहिचानका समुदायलाई केले आकर्षित गरिरहेको हुन्छ ? जे जुन विचारको ‘इन्जेक्सन’ हालिँदै छ, त्यसले उदार, सहिष्णु र न्यायप्रिय लोकतान्त्रिक समाज बनाउनमा सघाउ पुर्याइरहेको छ कि छैन ?
धार्मिक उत्सवहरूमार्फत समग्रतामा के अभिव्यक्त भइरहेको छ ? यो अत्यन्त संवेदनशील सरोकारको विषय हो । युवापंक्तिसँग जोडिएका ज्वलन्त मुद्दाहरूलाई पन्छाउँदै तिनलाई कतातिर धकेलिँदै छ ? जे जुन नारा र झन्डा बोकाइएको छ, जे जुन सार्वजनिक भावभंगीमा प्रस्तुत गर्न लगाइएको छ, त्यसले उसको कस्तो व्यक्तित्व विकसित हुँदै छ ? कट्टरता र प्रतिबद्धताबीचको झिनो अन्तर अर्थ्याउन कहाँ ढिलो हुँदै छ ? जब जुन स्थानमा एउटै समस्या पटक–पटक दोहोरिन्छ भने सोच्नुपर्ने हुन्छ, समाज रोगी हुँदै छ ।
प्रहरी–प्रशासन त्यतिखेर आवश्यक हुन पुग्छ जतिखेर नागरिक प्रयत्नहरू कमजोर देखिन थाल्छन् । यस्ता उत्सवहरूको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षा जनशक्ति तैनाथ गरिनुको सोझो अर्थ सामुदायिक सम्बन्धका तन्तुहरू चुडालिँदै गएको हो । न त कुनै पनि समुदायमा असल मान्छेहरू अल्पसंख्यामा छन् न त जुलुसहरूका सबै सहभागी द्वन्द्वका पुजारी हुन्छन् । यो जगजाहेर हो ।
संविधानले धार्मिक स्वतन्त्रताको छुट दिएको छ । असल मान्छेहरू चुप लाग्नुको परिणाम हो कोलाहल मात्र सुनिनु । केही चल्तापुर्जा । कथ्यहरूमार्फत लठ्याइएका सानो समूह नै हिंसाका लागि तम्तयार देखिन्छन् ।
कोही पनि विवेकशील व्यक्ति आफ्नो छरछिमेकका घरमा आगो सल्काउन चाहँदैन, दावानलले कसैका घरलाई पनि छाड्दैन । बहुतहका संरचनामा गइसकेपछि अनेक कुराहरू उठिरहेको छ । तर स्थानिक तनावहरू किन खास–खास प्रदेशमा बल्झिएर आइराख्छ र यसको खास कारण के हो ? के–कुन शक्तिहरू तनावलाई राजनीतिक ऊर्जामा अनुवाद गर्न चाहन्छ ? लोकतान्त्रिक कोणबाट देख्दा यस्ता मौजुदा चिन्ताजनक, दारुण र अराजक हालतका लागि को जिम्मेदार छन् ? यो कस्तो विरोधाभास हो कि यसका लागि नेपाली कमजोर लोकतन्त्रलाई जिम्मेदार ठहराइन्छ ।
सार्वजनिक विमर्शबाट जब कुनै सवाललाई पन्छाउन थालिन्छ, त्यो बल्झिन थाल्छ । अन्यत्र साम्प्रदायिक तत्त्वहरूलाई आफ्नो तागतले व्यापकता बनाउँछ तर नेपालमा लोकतान्त्रिक स्पेसका रिक्तता, कमजोरी वा ‘इग्नोर’ ले गर्दा कट्टरपन्थी पक्ष मौलाउँदै गएको देखिन्छ । आखिर कुनै पनि समाजमा तनाव पचाउने एक सीमा हुन्छ । सधैं त्यो तनावको ‘ब्वोइलिङ पट’ रहिरहन सक्दैन । यो संविधान कार्यान्वयनको संक्रमणकाल हो । अर्थोक प्रज्वलनशील सवालहरू छँदै छन्, थप कट्टरपनालाई झेल्न सक्दैन ।
यस्ता जुलुसको पहिलादेखि नै मार्ग निर्धारित हुनुपर्छ भने त्यसलाई पालना गराउने जिम्मेदारी स्थानीय प्रशासनको हो । जुलुसको एक आचारसंहिता बनाइनुपर्छ, यथा हतियार नबोक्ने, अर्काको धार्मिकस्थल वा सघन बस्ती लक्षित सकेसम्म मार्ग छनोट नगर्ने, उत्तेजक क्रियाकलाप नगर्ने ।
कुनै पनि धार्मिक आयोजनाका निहुँमा गाडीबाट सुरक्षाकर्मी किच्न खोज्ने, आगजनी गर्ने, अर्काको सम्पत्तिलाई क्षति पुर्याउने, मारपिट गर्ने, उक्साउने स्टाटस वा भिडियो राख्ने, धार्मिक–सांस्कृतिक स्थललाई आघात पुर्याउने वा सद्भाव खलल पुर्याउने हर्कत स्वीकार्य हुन सक्दैन । भीडमा कोही उपद्रवी छिर्छ वा जुलुसले कानुनी लक्ष्मण रेखा अतिक्रमण गर्छ भने त्यसको जवाफदेही आयोजक पक्षलाई घोषित गरिनुपर्छ । यो भनिराख्दा प्रशासनले पनि भीडलाई उत्तेजित हुनबाट जोगिन उच्च संयम र परिपक्व सुझबुझको परिचय निरन्तर दिइराख्नुपर्छ ।
सभ्य समाज भीडतन्त्रबाट निर्देशित हुनुहुन्न । त्यो निर्धारित विधिबाट चल्छ । शान्ति, सद्भाव– यसको रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।
