फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले यसै वर्षको सेप्टेम्बरमा औपचारिक रूपमा प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको मान्यता दिने बताएका हुन् ।
यसको औपचारिक घोषणा न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा गर्ने राष्ट्रपति म्याक्रोंको भनाइ छ । ‘आजको सबैभन्दा ठूलो आवश्यकता गाजामा युद्ध अन्त्य र त्यहाँका नागरिक बचाउनु नै हो । शान्ति सम्भव छ । हामी तत्काल युद्धविराम, सबै बन्धकको रिहाए र गाजामा ठूलो परिमाणमा मानवीय सहायता पुर्याउनु छ,’ उनले एक्समा भनेका छन् ।
म्याक्रोंको घोषणाको प्यालेस्टिनी अधिकारीहरूले स्वागत गरिसकेका छन् । तर इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले भने कडा आलोचना गरेका छन् । उनले फ्रान्सको घोषणा ‘आतंकवादलाई पुरस्कार दिनु जस्तो हो ।’ म्याक्रोंले भने मध्यपूर्वमा न्यायपूर्ण र स्थायी शान्तिप्रति फ्रान्स प्रतिबद्ध रहेको जनाउँदै उनले भनेका छन्, ‘यसैलाई आधार बनाएर फ्रान्सले प्यालेस्टाइनलाई एक राष्ट्रका रूपमा मान्यता दिनेछ ।’
