लामो समयदेखि निजामती सेवा विधेयकमा कुहिराको कागझैँ रुमल्लिरहेको प्रतिनिधिसभाले बल्लतल्ल पारित गरेको निजामती सेवा कानुनको मस्यौदामै छेडखानी भएको कुरा सांसदले विधेयक पास भएपछि मात्र थाहा पाए । विधि निर्माणका सन्दर्भमा मरणासन्न अवस्थामा पुगेको नेपालको संसद्ले नोकरशाहीहरूको यो जालसाजीलाई पत्तो पाउनै सकेन । यस्तो घटनाले जनप्रतिनिधिको विधि निर्माणमा रहेको गैरजिम्मेवारीपन र सिंहासनपछाडि बसेको नोकरशाहीतन्त्रले आफ्नो स्वार्थको थैलो कसरी भर्ने गर्छ भन्ने विषय छर्लंग पारेको छ । जनप्रतिनिधि जनताको विवेकको सामूहिक प्रतिनिधित्व गर्ने अख्तियारी पाएका व्यक्ति हुन् । जनताको सामूहिक विवेकमाथि भएको धोकाधडीमा तिनै जनप्रतिनिधिको संवेदनहीनता गैरजिम्मेवारीपनको पराकाष्ठा हो । नोकरशाहीतन्त्र भनेको सिंहासनपछाडिको शक्ति हो । त्यो शक्तिको प्रयोग निजी स्वार्थमा गर्ने कि सामूहिक हितमा भन्ने दृष्टिकोण र चेतनाले तिनको कार्यसम्पादनमा ठुलो प्रभाव पार्छ ।
डिसेम्बर १९७२ को मध्यमा आफ्ना प्रधान सचिव परमेश्वरनारायण हक्सरले जिम्मेवारीबाट बाहिरिने निर्णय गरिसकेपछि इन्दिरा गान्धीले डिसेम्बर २५, १९७२ मा उनलाई ‘प्रिय हक्सर साहेब’ भन्दै पत्र लेखिन् । पत्रमा हक्सरसँगको सहकार्यलाई स्मरण गर्दै उनी लेख्छिन्– योग्य, बुद्धिमान्, इमानदार वा कर्तव्यनिष्ठ व्यक्तिको पनि सायद अभाव छैन । तर, आवश्यकता त्योभन्दा माथिको हो, जसरी तपाईं आफैँलाई राम्ररी थाहा छ । यी गुण तब मात्र उपयोगी हुन सक्छन्, जब तिनलाई निर्णयको गहिराइसँग जोडिन्छ । जुन मानिसको लामो अनुभवमा आधारित हुन्छ । धेरै संकटबाट गुज्रिएको यस अवधिमा तपाईं ढुंगाजस्तै उभिनुभएको छ । तपाईंको बुद्धिमत्तापूर्ण मार्गदर्शनले हामीलाई अवरोधहरू पार गर्न र हाम्रो अगाडिको यात्रा र अस्तित्वलाई समेत खतरामा पार्ने धेरै खाडलबाट बच्न मद्दत गरेको छ ।’
हक्सर तिनै व्यक्ति थिए, जसलाई १९६७ को सुरुमा इन्दिराले आफ्नो कूटनीतिक करियरबाट बाहिर निकालेर प्रधानमन्त्रीको सचिवालयमा सचिवका रूपमा नियुक्त गरेकी थिइन् । हक्सर पनि आफ्नो उच्च व्यावसायिकता, इमानदारी र देशभक्तिलाई अँगालेर आफ्नो जिम्मेवारीमा लागिरहे । उनको त्यही राज्यकलाले आजसम्म पनि भारतको सबैभन्दा शक्तिशाली नोकरशाहका रूपमा हक्सरको नाम उच्चारण हुने गर्छ । इन्दिरा गान्धीबाट प्राप्त त्यो अभूतपूर्व विश्वास र शक्तिलाई उनले कहिल्यै निजी स्वार्थ र सीमित व्यक्तिको हितमा उपयोग गरेनन् । उनको खारिएको अनुभव र नि:स्वार्थ व्यक्तित्वमाथि गान्धीको विश्वास यस हदसम्म पुगेको थियो कि बैंकहरूको राष्ट्रियकरण मामिलामा आफ्नो क्याबिनेटका वरिष्ठ मन्त्री मोरारजी देसाईंलाई त्याग्न पनि उनी पछि परिनन् ।
इन्दिरा एकातिर आकर्षक र करिस्माइ नेतृ थिइन् भने अर्कातिर जटिल र विवादास्पद पनि थिइन् । उनले आफ्ना धेरै स्थायी उपलब्धिका लागि अहिले पनि प्रशंसा पाउँदै आइरहेकी छिन् । बैंकहरूमाथि सामाजिक नियन्त्रण, बिमाको राष्ट्रियकरण, आयात र निर्यातमाथि कडा नियन्त्रण, खाद्यान्नमा राज्यको व्यापार, उपभोक्ता सहकारी, एकाधिकारमाथि नियन्त्रणजस्ता कार्यमा हक्सरको महत्वपूर्ण योगदान रह्यो । न्यूनतम आवश्यकतामा ध्यान, सहरी भूमि सीमा, ग्रामीण क्षेत्रमा भूमि सुधार र पूर्वशासकलाई विशेषाधिकार, उपाधि र निजी पर्सको उन्मूलन, रिफाइनरीहरूको राष्ट्रियकरण, स्वतन्त्र बंगालादेश स्थापना, इन्डो–सोभियत सम्झौतालगायत कार्यमा पनि उनको योगदान अविस्मरणीय रह्यो । भारतीय गुप्तचर संस्थाको स्थापना, आणविक कार्यक्रम, सिक्किमको भारतमा विलयलगायत सन् १९६७ देखि १९७२ सम्म भएका जे–जति रणनीतिक महत्वका निर्णय भए, ती सबैमा हक्सरको नेतृत्वदायी भूमिका रह्यो । भनिन्छ, हक्सरले तत्कालीन समयमा इन्दिरा गान्धीका लागि वैचारिक प्रकाश र नैतिक कम्पासका रूपमा काम गरेका थिए । जसले इन्दिरा गान्धीको छविलाई ‘गुंगी गुडिया’बाट एक शक्तिशाली ‘आइरन लेडी’मा रूपान्तरण गर्यो । उनमा गान्धीले आफ्नो प्रधानमन्त्री कार्यालयका लागि एक दार्शनिक, रणनीतिकार, मार्गदर्शक, सल्लाहकार र कुशल प्रमुख कर्मचारी भेट्टाइन् । हक्सरले पनि प्रधानमन्त्री कार्यालयको शक्ति र प्रभावलाई अभूतपूर्व उचाइमा पुर्याए । उनले केवल प्रशासनिक मामिलामा मात्र होइन, इन्दिरा गान्धीको थुप्रै राजनीतिक मामिला व्यवस्थापनमा पनि पर्दापछाडिबाट भूमिका निभाएका थिए ।
यद्यपि, हक्सरले आफैँलाई भने प्रचारबाट धेरै हदसम्म टाढा राखे, किनकि उनी निजामती कर्मचारीका लागि गुमनामताको सिद्धान्तमा विश्वास गर्थे । गान्धीसँगको आफ्नो कार्यकालमा हक्सरले अदम्य शक्तिको आनन्द उठाए । उनीबारे भनिन्थ्यो कि उनले सोच्ने क्षमता र कार्य गर्ने अवसरलाई जोडेका थिए । उनले यसलाई रचनात्मक रूपमा प्रयोग गरेर भारतका असंख्य समस्यालाई व्यावहारिक, यथार्थपरक र सिद्धान्तगत रूपमा समाधान गर्ने प्रयास गरे ।
हक्सर त्यस्ता नोकरशाह थिए, जसले दुईपटकसम्म राज्यका तर्फबाट उनलाई प्रस्ताव गरिएको पद्म विभूषण पुरस्कार अस्वीकार गरेका थिए । सन् १९७३ मा इन्दिरा गान्धीको पालामा र सन् १९९८ मा उनको मत्यु हुनु तीन महिनाअगाडि अटलबिहारी बाजपेयीले गरेको पद्म विभूषण प्रस्तावलाई उनले अस्वीकार गरेका थिए ।
जवाफमा उनले भनेका छन्, मलाई पुरस्कार दिइनुपर्छ भन्ने सोच नै एक सार्वजनिक सेवकका रूपमा मैले गरेको कुनै पनि सेवाका लागि ठुलो पुरस्कार हो । म प्रधानमन्त्रीप्रति आभारी छु । यद्यपि, पुरस्कार स्विकार्न मलाई कठिनाइ छ । यी सबै वर्षमा मैले प्राय: आफैँलाई भनेको छु, कसैले पछुतोविना आफैँसँग बाँच्न सकूँ भनेर काम गर्नुपर्छ । कुनै न कुनै रूपमा गरेको कामका लागि पुरस्कार स्विकार्दा मलाई अकल्पनीय असुविधा हुन्छ । म आशा गर्छु कि मलाई गलत बुझिनेछैन । म दोहोर्याउँछु, मेरो सेवालाई सम्मान दिइनुपर्छ भन्ने विचारका लागि म आभारी छु । मेरा लागि यो पर्याप्त छ । उनले देखाएको यो उच्च विवेकको अनन्त सान्दर्भिकता छ र यसले सार्वजनिक जीवनमा जुनसुकै वेला पनि जोकोहीलाई पनि मार्गदर्शन गर्न सक्छ । केही व्यक्ति छन्, जसले यस्ता पुरस्कार अस्वीकार गरेका छन्, तर घोषणा भइसकेपछि मात्र । उनी मात्र यस्ता व्यक्ति हुन्, जसले प्रस्ताव चरणमै विनम्रतापूर्वक र चुपचाप अस्वीकार गरेका छन् र त्यो पनि यति उच्च विचारधाराको मूल्य–मान्यताका साथ । हरेक सरकार प्रमुखलाई हक्सर चाहिन्छ– एक सल्लाहकार, जसले शक्तिको सामना गर्न सक्छ र सत्य बोल्न सक्छ । उसले आफ्नो अन्तस्करणको आदेशअनुसार सल्लाह दिन्छ ।
सिंहासनपछाडि बसेर शक्तिको अभ्यास गरेका हक्सर हमेसा त्यस्तो शक्तिको दुरुपयोगप्रति सचेत थिए । यही नैतिकता र उच्च आत्मविश्वासले उनलाई आफ्नो कार्यकालमा इन्दिरा गान्धीपछिको भारतको दोस्रो शक्तिशाली व्यक्तिका रूपमा स्थापित गरेको थियो । हक्सरको कार्यशैलीबाट मूल रूपमा सिक्ने भनेको उनको व्यावसायिकता नै हो । कुनै पनि निर्णयअगाडि त्यसबारे उनले गरेको गहिरो विश्लेषणलाई राजनीतिज्ञहरू नकार्न सक्दैनथे । लामो समय शक्तिको केन्द्रमा रहे पनि उनले कहिल्यै आफू, आफ्नो परिवार र आफ्ना मान्छेका लागि शक्तिको दुरुपयोग गरेनन् ।
आफ्नो पद र शक्तिको प्रयोग निजी लाभ प्राप्तिमा गरेर अतिरिक्त लाभ र सुविधालाई जीवनको सफलता सम्झने दरिद्र चेत हाबी भएको नेपाली नोकरशाहीतन्त्रका लागि हक्सरजस्ता नोकरशाहको जीवनचित्र कुनै तुलनायोग्य त होइन । नेपालमा जसरी पछिल्ला केही वर्षदेखि नेपाली नोकरशाहीतन्त्रका मुखियाले आफ्नो पदसँग गरेको हाताहाती सौदाबाजी र तिनका विवादास्पद निर्णयले समग्र नोकरशाहीतन्त्रलाई नै लज्जित बनाएको छ । अगुवाहरू नै आफ्नो पद र शक्तिको मूल्यलाई निजी लाभ र अमुक स्वार्थ समूहको हितमा समर्पण गरी निरन्तर त्यस्तो पदको गरिमा घटाउन लागिरहेका छन् । केही दिनअगाडि मात्र नेपाली नोकरशाहीका मुखियाले आफ्ना जर्नेलसहितको दस्ता लिएर राजनीतिक शक्तिकेन्द्रको घरदैलोमा गरेको देउसीभैलोले नेपाली नोकरशाहीतन्त्रको निम्नस्तरीय चेतनालाई छर्लंग पारेको छ । जतिवेला ती मुखियाको जत्था सिंहदरबारमा परेड खेल्दै थियो, ठिक त्यही समयमा तिनै मुखियामातहतको त्रिभुवन अन्तर्राष्ट्रिय हवाई अड्डास्थित अध्यागमन कार्यालयले आफ्नो रोजीरोटीको प्रबन्धका लागि देश छोड्न बाध्य नेपाली युवायुवतीलाई देश छोडाउन मोलमोलाइ गरेको दर्दनाक विवरण सिलसिलाबद्ध रूपमा सार्वजनिक भइरहेको थियो । त्यो समस्याबारे सिंहदरबारका ती मुखिया वर्षौंअघिदेखि नै जानकार थिए, तर तिनीहरू त्यसलाई समाधान गर्नै चाहँदैनथे, किनकि तिनीहरूको दैनिकी त्यसैबाट चलिरहेको थियो । अध्यागमन अड्डाभित्रको यस्तो अपराध भर्खर पहिलोपटक देखापरेको होइन । एउटै प्रकृतिको अपराध पटक–पटक एउटै अड्डामा दोहोरिनु भनेको सेता वस्त्रधारीहरूको अपराधले संस्थागत चरित्र धारण गरेको प्रमाण हो । तिनै मुखियाको निकम्मा र गैरजिम्मेवारीपनको नग्न दृश्य हो । सार्वजनिक अड्डालाई असुलीको केन्द्र बनाएर संगठित रूपमा आपराधिक धन्दा चलाउनु तिनका मुखियाको आशीर्वादविना सम्भव हुनै सक्दैन ।
प्रशासनयन्त्रको तमाम समस्या, विकृति, विसंगति र तिनको समाधानको सबैभन्दा जानकार तिनै नोकरशाहका मुखिया नै हुन्छन् । तर, उनीहरू त्यसलाई नजरअन्दाज गर्छन्, किनकि त्यही अव्यवस्थाबाट तिनीहरूले आफ्नो व्यवस्था गरिरहेका हुन्छन् । तिनीहरूले आफ्नो पद र विद्वताको गर्व त गर्छन्, तर तिनको निर्णयमा विवेक कहीँ कतै झल्किँदैन । अझै सार्वजनिक सेवामा प्रविधिको प्रयोगले सेवाको पहुँच र प्रभावमा वृद्धि भई नागरिकमा राज्यप्रतिको विश्वसनीयतासमेत वृद्धि गर्छ भन्ने विश्वासलाई समेत चुनौती दिने गरी प्रविधिको प्रयोगसँग सम्बन्धित सार्वजनिक खरिद राजनीतिज्ञ र नोकरशाहको मिलिभगतमा हुने भ्रष्टाचारको रणमैदान नै बनेको छ ।
सुधारको थालनी नेतृत्वबाटै हुनुपर्छ । त्यसका लागि नीति र नेत्तृत्वबिचको तालमेल जरुरी छ । अगुवा कर्मचारी, जो सिंहासनपछाडि बसेर काम गर्छन्, तिनले थोरै मात्र भए पनि संवेदनशील भइदिएको भए आज यति ठुलो संख्यामा नागरिकहरू राज्य संयन्त्रलाई धारेहात लगाउँदै देश छाड्ने अवस्थामा पुग्ने थिएनन् सायद । हरेक नोकरशाहले आफू जिम्मेवारीमा रहँदा एउटा मात्रै भए पनि दीर्घकालीन प्रभाव पर्ने सुधारको काम गरेको भए नागरिकमा विश्वास जगाउन सकिनुका साथै सार्वजनिक सेवा प्रवाहमा धेरै नै सुधार भइसकेको हुने थियो । आफ्नो सार्वजनिक पद, शक्ति र स्रोतलाई राज्य दोहनमा लगाएर त्यसैका आडमा समाजमा आफ्नो रवाफ देखाउने प्रवृत्ति संस्कृतिकै रूपमा विकास हुँदै गएको छ । कर्मचारीतन्त्र स्थायी सत्ता हो । अस्थिर राजनीतिले राजनीतिक सत्तामा छिटो–छिटो उलटफेर ल्याए पनि मूल्य, मान्यता र व्यावसायिकतामा आधारित नोकरशाहीतन्त्रले राजनीतिक अस्थिरताले निम्त्याउने शासकीय विकृतिलाई रोक्न सक्छ । त्यसका लागि नोकरशाहीका अगुवाहरू आफ्नो व्यावसायिक मूल्यप्रति प्रतिबद्ध र जवाफदेही बन्नुपर्छ ।
