थाइल्यान्डका विभिन्न भागमा उत्पादित गाँजा नेपाल ल्याएर भारततर्फ लैजान लागेको अवस्थामा भारतीय नागरिक पक्राउ परेका छन्।
लागु औषध नियन्त्रण ब्युरोले दिएको जानकारीअनुसार विगत एक महिनामा आठ जना भारतीय नागरिक थाइल्यान्डको गाँजासहित पक्राउ परेका छन्। नेपाललाई ट्रान्जिट बनाएर भारतीय नागरिकले थाइल्यान्डको गाँजा तस्करी गरिरहेका छन्।
थाइल्यान्डबाट गाँजा नेपाल ल्याउने र नेपालबाट भारततर्फ लैजाने धन्दामा भारतीय नागरिक नै संलग्न भएको पाइएको हो। थाइल्यान्डमा उत्पादित गाँजा उच्च गुणस्तरको हुने भएकाले त्यसलाई ल्याएर बिक्री गर्ने धन्दामा भारतीय नागरिक भरिया र कारोबारी दुवै रूपमा संलग्न भएको तथ्य सार्वजनिक भएका छन्।
प्रहरीका अनुसार लागु औषध ब्युरोले एक वर्षको अवधिमा सात महिलासहित ४५ भारतीयलाई मुद्दा चलाएको छ। ‘थाइल्यान्डको गाँजा तस्करीमा भारतीय नागरिक कारोबारी र भरिया दुवै रूपमा फेला परेका छन्। पक्राउ परेका उनीहरूलाई मुद्दा चलाइएको छ,’ ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले भने।
भारतीय नागरिकले थाइल्यान्डबाट ल्याएको गाँजा नेपाल हुँदै स्थलमार्गबाट भारततर्फ लैजान लागेको अवस्थामा बरामद गरिएको हो। ‘थाइल्यान्डबाट नेपाल ल्याएर स्थलमार्ग हुँदै भारतका विभिन्न स्थानमा पुर्याउने गरेको अनुसन्धानबाट खुलेको छ,’ एसएसपी कोइरालाले भने, ‘यसमा भारतमा औषधि उद्योग सञ्चालन गरिरहेका व्यक्ति पनि पक्राउ परेका छन्।’
कोइरालाका अनुसार थाइल्यान्डबाट हवाई रुट हुँदै भारतीय र थाई नागरिकले नेपालमा गाँजा ल्याउने र नेपालबाट भारत लैजान लागेको अवस्थामा पटक पटक गरी दुई सय किलोभन्दा बढी गाँजा विमानस्थलबाट बरामद गरिएको छ।
