सम्पूर्ण रूपमा देशको शासन, प्रशासन र आर्थिक अवस्थामा सुधार ल्याउनुपर्छ । देशभित्रको अवस्था राम्रो भएपछि स्वतः अन्तर्राष्ट्रिय छवि र विश्वासमा वृद्धि हुन्छ र हाम्रो राहदानी पनि शक्तिशाली हुन्छ ।
हेन्ली पासपोर्ट इन्डेक्सले २०२५ का लागि जारी पछिल्लो सूची हेर्दा पक्कै पनि हरेक स्वाभिमानी नेपालीको मन दुख्छ । विश्वका ९९ देशको सूचीमा नेपालको राहदानी ९२औं स्थानमा रहेको सूचीले उसले जो सार्वजनिक गरेको छ । अर्थात् हामी पुछारबाट आठौं नम्बरमा छौं । त्यो पनि द्वन्द्वग्रस्त अफ्रिकी मुलुकहरू दक्षिण सुडान र नाइजेरियासँगै हाम्रो श्रेणी छ । यो अन्तर्राष्ट्रियरूपमा हाम्रो राष्ट्रिय छविको दुःखद् चित्र हो । यो केवल एउटा वरीयतामात्र होइन, यो अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो देशले भोगिरहेको अवमूल्यन र अविश्वासको स्पष्ट तस्बिर हो । जब हाम्रो राहदानी उत्तर कोरियाजस्तो विश्वबाट लगभग एक्लिएको राष्ट्रभन्दा पनि कमजोर ठहरिन्छ, तब हामीले गम्भीर आत्मसमीक्षा गर्नुबाहेक अर्को विकल्प रहँदैन ।
थुप्रै नेपालीको अन्तर्राष्ट्रिय यात्रा अनुभव कटु हुन्छ । विमानस्थलहरूमा, अध्यागमनहरूमा राहदानीको रङ हेरेर गरिने व्यवहारकै केरकार र अपमान हुन्छ र यात्रा कटु बन्छ । व्यक्ति जतिसुकै इमान्दार र वा समृद्ध किन नहोस्, त्यसको मूल्यांकन हुँदैन, देखिन्छ त केवल उसले बोकेको हरियो रङ (अचेल कफी रङ) को राहदानी अनि अपमानजनक व्यवहार भोग्नुपर्छ । हाम्रो देशको राहदानी शक्तिशाली नभएकै कारण हामीले हैरानी बेहोर्नु जो परिरहेको हुन्छ । नेपाली नागरिकले विश्वका विभिन्न विमानस्थलमा भोग्नुपर्ने अनावश्यक केरकार, शंकाको दृष्टि र अपमानजनक व्यवहार यही कमजोर राहदानीको परिणाम हो । दक्षिण एसियामा भुटान, भारत र माल्दिभ्सजस्ता छिमेकी राष्ट्रहरूको राहदानी क्रमशः शक्तिशाली बन्दै जाँदा नेपालको स्थिति निरन्तर खस्किएको छ । हाम्रो राहदानीले २० भन्दा कम देशमा मात्र पूर्वप्रवेशाज्ञाबिना प्रवेश पाउँछ । यसले हाम्रो कूटनीतिक सम्बन्धको फितलोपना देखाउँछ । १ सय ७७ देशसँग हाम्रो कूटनीतिक सम्बन्ध छ । तर ती सम्बन्धमा विश्वास र सम्मान छैन भन्ने पनि राहदानीकै कारण गरिने व्यवहार हो ।
देशको राजनीतिक, आर्थिक र सामाजिक धरातलमा जडहरू नै हाम्रो राहदानीको दुर्दशाका कारण हुन् । देशमा मौलाएको भ्रष्टाचार र कुशासनले देशलाई भित्रभित्रै खोक्रो बनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलजस्ता संस्थाहरूले नेपाललाई विश्वका भ्रष्ट मुलुकहरूको सूचीमा राख्नु र हाम्रो राहदानी कमजोर हुनुबीच प्रत्यक्ष सम्बन्ध छ । हामीलाई अन्तर्राष्ट्रिय समुदाय भ्रष्ट मुलुकको दृष्टिले हेरिरहेको छ भने पत्यार पो कसरी गरोस् । पहिला देशको सम्मान र विश्वास वृद्धि नगरेसम्म राहदानीको रङ हरियोबाट कफी रङमा बदलिए पनि ओज घटेको छ, बढेको छैन ।
बलियो अर्थतन्त्र र सुशासनले अन्तर्राष्ट्रिय स्तरमा देशको छवि नसुधारेसम्म हाम्रो देशको राहदानी शक्तिशाली हुँदैन । राहदानीको वरीयता सुधार्नु भनेको केवल यात्रा सहज बनाउनुमात्र होइन, यो राष्ट्रिय स्वाभिमान र पहिचानलाई पुनर्स्थापित गर्नु हो । त्यसका लागि सम्पूर्ण रूपमा देशको शासन, प्रशासन र आर्थिक अवस्थामा सुधार ल्याउनुपर्छ । देशभित्रको अवस्था राम्रो भएपछि स्वतः अन्तर्राष्ट्रिय छवि र विश्वासमा वृद्धि हुन्छ र हाम्रो राहदानी पनि शक्तिशाली हुन्छ ।
