१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

शेखर कोईरालाको सक्रियता किन ?

गत साता नेपाली राजनीतिमा मुख्यतः दुईवटा सन्दर्भ ‘टक अफ द टाउन’ बने । पहिलो, एमाले केन्द्रीय समितिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण गरिएको सदस्यताको खारेजी गरिदिएपछि त्यसविरुद्ध उनले गरेको प्रतिवाद । दोस्रो, नेपाली कांग्रेसभित्रका प्रतिपक्षी नेता डा. शेखर कोइरालाको एकाएक बढेको राजनीतिक सक्रियता ।

पहिलो सन्दर्भ उपर मनग्गे टिप्पणीहरू भइसकेका छन् । पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिक पुनरागमन आलोचनाको विषय बन्दै आएको थियो । त्यसका बाबजुद पूर्वराष्ट्रपतिको हैसियतबापत प्राप्त सम्पूर्ण सेवासुविधाहरू छोडेर उनी राजनीतिक मैदानमा उत्रिएपछि त्यसले एमालेभित्र ठूलै कम्पन ल्यायो । र, सत्तारूढ गठबन्धनका लागि समेत गम्भीर चासोको विषय बन्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सेनाको परमाधिपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउनु आपत्तिजनक भएको भन्दै उनलाई ‘रोक्न’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । भण्डारी राजनीतिमा आउने कुरा चलेदेखि नै रुष्ट ओलीले केन्द्रीय समितिबाटै सदस्यता खारेज गरिदिएर एमाले आउने उनको बाटो छेकिदिए । यद्यपि, भण्डारीले प्रतिवाद गरिन् र ४५ वर्षअघि मदन भण्डारीले दिएको सदस्यता हूलहुज्जतबाट खोस्न नसकिने भन्दै आफू एमालेमै रहेको दाबी गरेकी छन् । अर्थात् एमालेमा हालसालै हुर्कंदै गरेको ‘ओली–विद्या द्वन्द्व’ तत्काल सकिने छैन । यो द्वन्द्वको पटाक्षेप कहाँ पुगेर कसरी हुनेछ, त्यो आगामी दिनमा थाहा हुँदै जानेछ ।

यो स्तम्भ चाहिँ दोस्रो सन्दर्भ अर्थात् कोइरालाको पछिल्लो राजनीतिक दौडधुपमा केन्द्रित हुनेछ ।

कोइरालाको पछिल्लो सक्रियताले कांग्रेस मात्रै होइन, समग्र राजनीतिक वृत्त तरंगित भयो । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वराष्ट्रपति भण्डारी लगायतसँग भेटेको सन्दर्भ जोडेर नयाँ गठबन्धन बनाउने प्रयत्न भइरहेका समाचारहरू आए । कोइरालाले आफूनिकट सांसद/नेताहरूको भेला गराए । उनी निकटमा नेताहरूले देउवा–ओली गठबन्धनको विरुद्ध अर्को मोर्चाबन्दीको प्रयास भइरहेको संकेत पनि गरे । कतिपयले त ‘ओलीपछिका प्रधानमन्त्री’ भनेर घोषणै गरे । कोइरालाको ‘मुभ’ ले एकाध दिन तरङ्ग ल्याए पनि अब त्यो शिथिल भइसकेको छ । यद्यपि, किन एकाएक कोइरालाले राजनीतिक सक्रियता बढाए ? किन पार्टी घेराबाहिर भेटघाट र परामर्शहरू थाले ? प्रश्नहरू चाहिँ जीवितै छन् ।

संसदीय दलभित्र कमजोर गणितीय सन्तुलनमा भएका कोइराला के साँच्चिकै अर्को सरकारको मोर्चाबन्दीको अभ्यास गर्दै थिए त ? अथवा राजनीतिक सक्रियता बढाएर उनले दिन खोजेको सन्देश के थियो ?

हुन त आलोचकहरू कोइरालाको यो सक्रियतालाई नेपाली राजनीतिमा ‘नियन्त्रित अस्थिरता’ सिर्जना गरिराख्न चाहने शक्तिस्वार्थको उक्साहट भनेर पनि टिप्पणी गर्छन् । तथापि, उनले राजनीतिक भेटघाट बढाएर तीन सन्देश दिन खोजेका छन् ।

पहिलो, उनी सत्तारूढ गठबन्धनका नेताहरूलाई दबाब महसुस गराउन चाहन्छन् । भ्रष्टाचार, कुशासनका मुद्दाहरूमा उनी सार्वजनिक रूपमा लगातार बोल्दै आएका थिए । उनले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने धारणा पनि राखे । कांग्रेस र एमालेमा करिब–करिब एकलौटी शक्ति अभ्यास गरिरहेका देउवा र ओलीबीच तिक्तता र असमझदारी नआउँदासम्म गठबन्धन सरकार तलविलत हुँदैन भन्ने कोइरालाले नबुझेका होइनन् । यद्यपि, प्रतिपक्षी दलका नेताहरूसँग गठबन्धन र यसको कामकारबाहीबारे छलफल गरेर उनी सत्तारूढ नेतृत्वलाई दबाब सिर्जना गर्न चाहन्थे । देउवाले उनलाई भेटेरै गठबन्धनप्रति अविश्वास नगर्न आग्रह गर्नुले दबाब कहीं न कहीं महसुस भएको थियो भन्ने देखिन्छ ।

दोस्रो, राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थितिको आभास दिलाउनु । कोइराला पार्टीभित्र प्रतिपक्षी भूमिकामा छन् । राष्ट्रिय राजनीतिमा पनि उनी सरकारका क्रियाकलापको विरोध गरिरहन्छन् । यसका बाबजुद उनले राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याउने भूमिका निर्वाह गर्न सकिरहेका थिएनन् । यसअघि कांग्रेस–माओवादीको गठबन्धन सरकार हुँदा ‘कोशी विद्रोह’ गरेर उनले आफ्नो उपस्थिति बोध गराएका थिए । कोशी प्रदेशमा आफ्ना समूहका नेता केदार कार्कीलाई तत्कालीन विपक्षी एमालेको समर्थनमा मुख्यमन्त्री बनाउने भूमिका खेलेर कोइरालाले आफ्नो हैसियत देखाएका थिए । जसलाई उनी समूहका नेताहरूले ‘कोशी विद्रोह’ को संज्ञा दिएका थिए ।

माओवादीसँग सत्ता गठबन्धन भइराखेको बेला विपक्षी एमालेसँग मिलेर सरकार बनाएको त्यो घटना खासमा पार्टी अनुशासनको उल्लंघन थियो । पार्टीभित्र अनुशासन उल्लंघन गरेको भनेर उनको आलोचना पनि भयो । तर, उनलाई कारबाही भएन । बरु, देउवा र तत्कालीन प्रधानमन्त्री प्रचण्डले उनलाई भेटेर एउटा चिर्कटोमा ‘गठबन्धनप्रति प्रतिबद्ध’ भएको भनेर संयुक्त हस्ताक्षर गरे । त्यो घटनाले कोइराला समूहका कांग्रेसीहरू उत्साहित भए । उनीनिकट एक नेता भन्छन्, ‘अहिलेको सक्रियतामार्फत पनि कोइरालाले आफ्नो प्रभाव र उपस्थिति देखाउन चाहेका हुन् ।’

तेस्रो, पन्ध्रौं महाधिवेशनको तयारी अभ्यास । कांग्रेसमा पन्ध्रौं महाधिवेशन समयमा हुने नहुने कुनै टुङ्गो छैन । तर, कोइरालालाई महाधिवेशन लागिसकेको छ । हुन त कांग्रेसमा अबको नेतृत्व को ? भन्ने प्रश्न निकै अहम् र महत्त्वपूर्ण छ । विधानले शेरबहादुर देउवालाई पुनः सभापतिको प्रत्याशी बन्ने अनुमति दिँदैन । त्यसैले देउवाको उत्तराधिकारी को भन्ने बहस र चासो कांग्रेसवृत्तमा बढी नै छ । एकप्रकारले दाबेदार सबैजसो नेताहरू महाधिवेशनको तयारीमा आ–आफ्नै हिसाबले जुटिसकेका छन् । कोइराला त झन् चौधौंमा पराजित भएलगत्तै पन्ध्रौं महाधिवेशन कुरेर बसेका छन् । उनले लगातार महाधिवेशन समयमै हुनुपर्छ भनेर आवाज उठाउँदै आएका छन् । राजनीतिक परिदृश्यमा आफूलाई सक्रिय देखाइराख्ने कोइरालाको चाहना महाधिवेशन लक्षित अभ्यास पनि हो । चौधौं महाधिवेशनमा सम्मानजनक पराजय भोगेका कोइरालाले आउँदो महाधिवेशनका लागि आफूलाई स्वाभाविक दाबेदार मानेका छन् ।

तर, अहम् प्रश्न यो हो कि, पन्धौं महाधिवेशनमा कोइरालाले ठानेजस्तै उनी मूल नेतृत्वमा पुग्लान् ? उनका लागि महाधिवेशन कस्तो होला ? अहिलेको सक्रियता र दौडधुप उनको राजनीतिक गन्तव्यका लागि सार्थक होलान् वा प्रत्युत्पादक ? उनको राजनीतिक भविष्यसँग सन्दर्भित यी र यस्ता अरू प्रश्न पनि विवेचनाका थप विषय हुन् ।

कोइरालाको राजनीतिक गन्तव्य कांग्रेसभित्रको अबको शक्ति सन्तुलनको अवस्थामा निर्भर रहनेछ । जस्तो कि, अहिले कांग्रेसमा मुख्यतः तीनवटा समूह छ । एउटा देउवाको समूह, जो गणितीय शक्ति सन्तुलनका हिसाबले सबैभन्दा बलियो छ । दोस्रो, उनकै नेतृत्वमा रहेको समूह । कोइराला देउवासँग असन्तुष्ट र दूरी बढेका नेताहरू जस्तो कि, बालकृष्ण खाँड, एनपी साउद लगायतका नेताहरूसँग सम्बन्ध बढाउँदै आफ्नो समूह विस्तार गर्दै छन् । तर, चौधौं महाधिवेशनमा उनीसँगै रहेका महामन्त्री गगन थापा चाहिँ टाढिएका छन् । खासमा थापाको बेग्लै अर्थात् तेस्रो समूह बन्दै गएको छ । हुन त थापाले गुटबन्दी नगर्ने र गुटहरूको अन्त्य गर्ने बताउँदै आएका छन् । तर, कांग्रेसभित्र उनलाई आगामी सभापति देख्न चाहनेहरूको संख्या थपिँदै छ । देशव्यापी दौडाहासँगै नजानिँदो हिसाबले थापाको बेग्लै समूह बन्दै छ ।

त्यसो त कोइराला र थापा पक्षधरहरू यी दुई नेतालाई मिलाएर लानुपर्नेमा जोड दिन्छन् । थापाले औपचारिक रूपमा कोइराला समूह छोडेको बताएका पनि छैनन् । तर, यी दुई नेताबीचको सम्बन्धमा आएको चिसोपनाबाट आकलन गर्न सकिन्छ, आगामी महाधिवेशनमा कोइराला र थापा एकअर्काका प्रत्याशी भए भने त्यो नौलो परिदृश्य हुने छैन । तसर्थ, कोइरालाको राजनीतिक भविष्यको निर्धारण थापासँग सहकार्य कसरी बढ्छ भन्ने कुराले पनि निर्धारण गर्नेछ ।

भावी नेतृत्वको आकांक्षा पालेका कोइरालाको सबैभन्दा बलियो ‘एसेट’ हो, चौधौं महाधिवेशनमा उनले पाएको मत । उनी देउवाका बलिया प्रतिस्पर्धी थिए । अहिले देउवा पक्षधर भनिएका केही नेताहरूसँग उनको नजिकको उठबस र सम्बन्धलाई पनि कांग्रेसभित्र अर्थपूर्ण हिसाबले हेरिएको छ । उनीसामु अर्को अनुकूलता हो, उनी कोइराला परिवारका सदस्य हुन् । हुन त, बीपीपुत्र शशांक कोइरालाले पनि देउवाको उत्तराधिकारी बन्ने आकांक्षा पालेका छन् । कोइराला परिवारबाट एक जना मात्रै उम्मेदवार नहुने अवस्था आउँदा शेखरले पारिवारिक विरासतको लाभ के कति पाउलान्, त्यो अहिल्यै भन्न कठिन हुन्छ । तथापि, उनीसित पनि कोइराला परिवारको विरासत छ । देउवाले यदाकदा अनौपचारिक कुराकानीमा अबको नेतृत्व कोइराला परिवारमै फर्काइदिने भन्ने गरेका छन् भनेर स्वयं कांग्रेसी नेताहरू भन्ने गर्छन् । त्यस्तो अवस्था आएमा उनी पनि एक दाबेदार हुन सक्लान् । तर, नेतृत्वमा पुग्न यी अनुकूलता मात्रै काफी हुने छैनन् ।

कोइरालाका कमीकमजोरीहरू पनि उत्तिकै छन् । जस्तो कि, संसद्मा कोइरालाको उपस्थिति भए/नभए बराबर छ । संसद् राष्ट्रिय मुद्दाहरूमा बहस हुने थलो हो । नीति, कानुन बन्ने ठाउँ हो । मुलुकको ठूलो पार्टीको मूल नेतृत्वको आकांक्षी नेताले राष्ट्रिय मुद्दाहरूमा के कस्तो धारणा राख्छ भन्ने सबैलाई चासो हुन्छ । कोइरालाको संसदीय भूमिका कमजोर छ । उनी निकै कम संसद्मा उपस्थित भएर आफ्ना मतहरू राख्छन् । दोस्रो, उनी बीपी कोइरालाका सच्चा अनुयायी हुन् । उनी प्रजातान्त्रिक समाजवादको वकालत गर्छन् । तर, कांग्रेसको राजनीतिक कार्यक्रम के हो ? बीपीले भनेकै प्रजातान्त्रिक समाजवादलाई अब परिष्कृत गरेर लाने कि ? यसमा थप बहस र विमर्श के कति आवश्यक छ ? यो पाटोमा पनि कोइरालाको भूमिका देखिने र महसुस गर्ने तहमा हुन सकेको छैन । जस्तो कि, महामन्त्री गगन थापाले प्रजातान्त्रिक समाजवादलाई परिष्कृत गर्दै कांग्र्रेसले सामाजिक लोकतन्त्रको राजनीतिक कार्यक्रम बोक्नुपर्ने बहस छेडेका छन् । कोइरालाको त्यसमा मत के हो ? अथवा उनको राजनीतिक कार्यक्रम के हो ? यी प्रश्नहरूतर्फ पनि कोइरालाले घोत्लिनु आवश्यक छ ।

कोइरालासँग हालैको एक भेटमा उनी भन्दै थिए, ‘संसद्मा उपस्थिति र भूमिका बढाउने सोचमा छु । राजनीतिक/सैद्धान्तिक कुराहरू त पार्टीको आन्तरिक फोरमहरमा मनग्गे उठाउने गरेको छु ।’ उनले थप्दै थिए, ‘मलाई नयाँ पुस्ताका साथीहरूसँग अन्तर्क्रिया गर्न निकै रुचि लाग्छ । नयाँनयाँ सोच र आइडियाहरू आदानप्रदान हुन्छ भनेर म युवा पुस्ताका साथीहरूसँग भेटघाट गरिरहेको हुन्छु ।’ तर, उनी निकटस्थहरू चाहिँ कोइराला युवा पुस्तासँग जोडिने सन्दर्भमा पनि कमजोर भएको बताउँछन् । एक निकट सहयोगी भन्छन्, ‘मिडिया परिचालन, सामाजिक सञ्जालमा अन्तर्क्रिया र सक्रियता, पार्टीभित्रै युवा पुस्तासँगको सहकार्य गर्ने कुरामा उनी चुकिरहेका छन् । शासकीय पदभार सम्हालेको अनुभव नभएको लगायतका कुरा कोइरालाका कमजोरी हुन् ।’

कोइराला विवादमा नपरेका, नरम मिजासका संयमित नेता हुन् । तर, उनी यति नरम भइदिन्छन् कि कतिपय बेला ठोस निर्णय लिन चुक्छन् । उनीनिकटकै एक सहयोगीको असन्तुष्टि छ, निर्णय लिने क्षमतामा अन्योल हुँदा वा धेरै सन्तुलित देखिन खोज्दा सम्झौतावादी देखिन्छन् । खासगरी पार्टीको संस्थापनसँग लचिलो भइदिन्छन् । हुन त उनले चौधौं महाधिवशेनलगत्तै समूहको बैठक डाकेर आफूलाई गतिशील नेता देखाउने प्रयत्न गरेका थिए । पार्टी नेतृत्वलाई दबाबमा राख्ने उद्देश्यले उनले समानान्तर सक्रियता पनि देखाए । तर, देउवाले टेरपुच्छर लगाएनन् । कतिपय महत्त्वपूर्ण बैठकहरूमा सरिक नगरेर किनाराकृत गरे ।

एउटा समय यस्तो पनि आयो, जब कोइरालालाई देउवा क्याम्प जान लागेको आरोप पनि लाग्यो । विभिन्न जिल्लास्तरीय कार्यक्रममा देउवा र कोइराला एउटै मञ्चमा देखेपछि कांग्रेसवृत्तभित्रै त्यस्तो हल्ला चल्यो । पार्टीभित्रका प्रतिपक्षी नेताको संस्थापनप्रति लय बदलिएको आरोप तिनताका नै लागेको हो । अहिले परिदृश्य फरक छ । कोइराला प्रतिपक्षी पार्टीका नेताका घरदैलो चाहर्दै छन् । कहिले प्रचण्ड निवास पुगेर सरकारको कार्यशैलीबारे रोष प्रकट गर्छन् त कहिले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक आगमनलाई स्वीकारी दिन्छन् । एउटा दलका नेताले अर्को दलको नेतालाई भेट्नै नहुने, संवाद नै गर्न नहुने त होइन, तर जसरी कोइरालाले पूर्वराष्ट्रपति भण्डारीदेखि प्रचण्डसम्म भेटेको र त्यसपछि सरकारविरुद्ध अर्को मोर्चाबन्दी भएको भनेर भाष्य बनाउन प्रयत्न गरियो र त्यो दुई दिन पनि टिकेन । प्रश्न उठ्छ, ‘संयमित रणनीतिकार’ भनेर चिनिने कोइरालाको राजनीतिक दौडधुप सार्थक झयो त ?

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय