१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

राजनीतिक दलहरूको शब्दचित्र

वर्तमान सरकारको नेतृत्व गर्ने दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने चाहनामा आधिकारिक हिसाबले रोक लगाए ।

पूर्वराष्ट्रपतिका रूपमा आफूले पाउने मान–सम्मान र सहुलियत–सुविधा त्यागेर राजनीतिमा सक्रिय हुने पूर्वराष्ट्रपतिको चाहनामा पार्टी अध्यक्षले नैतिकताको दुहाइ दिएर रोक लगाउनु न्यायोचित पक्कै होइन । कुनै पनि व्यक्तिको नैतिकता र नैतिक दायित्व व्यक्ति आफैंले निर्णय गर्ने विषय हो । सरकार प्रमुखको हैसियतमा रहेको पार्टीको नेताले पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा फर्किने निर्णयमाथि प्रहार गर्नु उनको व्यक्तिगत स्वतन्त्रतामाथि प्रहार गर्नु हो । नैतिकताको पालना गर्नु वा नगर्नु व्यक्तिको निजी इच्छाको विषय हो ।

नेपालको संविधानमा राष्ट्रपति भइसकेको व्यक्तिले जनप्रतिनिधिका रूपमा काम गर्न नपाउने भन्ने कतै लेखिएको छैन । राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किन नहुने भनेर पनि लेखिएको छैन नेपालको संविधानमा । यो सामान्य नैतिक बन्धनको कुरा मात्र हो । पूर्वराष्ट्रपति त्यो नैतिक बन्धनमा बाँधिन चाहन्नन् भने त्यसलाई अस्वाभाविक भन्न मिल्दैन । मानिसका लागि मनले जे मान्यो, त्यो नै सत्य हो ।

संविधानको प्रसंग उठाउँदा, नेपाली कांग्रेस र एमाले सत्ता गठबन्धनमा बाँधिएका बेला संविधान संशोधनको कार्यसूची अघि सारेको कुरा जनताले बिर्सिएका छैनन् । तर, गठबन्धनका निर्माताहरूले संविधानमा सुधार गरेर जनताको अनुकूल बनाउने कुरा बिर्सिइसकेका छन् । आज सरकारसँग जोडिए पनि विपरीत ध्रुवमा उभिएका दुवै पार्टी संविधानमा सुधारका कुरा उठाउन चाहँदैनन् । उनीहरूमा संघीय गणतन्त्रलाई मजबुत बनाउने क्षमता र आँट दुवै देखिँदैन । वर्तमान सरकारका निर्णायक तहमा रहेका दुवै प्रमुख नेता (देउवा र ओली) संविधान संशोधनका सम्बन्धमा कानमा तेल हालेर बसेका छन् ।

एक वर्षअघि देशलाई राजनीतिक अस्थिरताबाट मुक्त गर्ने ‘सूत्र’ खल्तीमा हालेर कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नी धर्मपत्नी आरजु राणा देउवासहित एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग विचार–विमर्श गर्न उनको निवास पुगेका थिए । विचार–विमर्शका क्रममा दुवै नेताद्वारा देशलाई सुस्थिर सुशासन दिन दुई ठूला पार्टी कांग्रेस र एमाले मिलेर पालैपालो सरकार चलाउने निर्णयमा पुगेको उद्घोष गरिएको थियो । सरकारमाथि दुई दलले आफ्नो आधिपत्य कायम गरेपछि अन्य दलहरू सरकारबाट बाहिर हुने नै भए ।

गणतान्त्रिक परिवर्तनका लागि निर्णायक शक्तिका रूपमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सत्ताबाट बाहिरिएपछि राजनीतिक दलहरूका बीच अस्वाभाविक रूपले तिक्तता बढ्नु स्वाभाविक नै थियो । तर, अवस्था अनुकूल थिएन । प्रतिकूलताका बीचमा पनि जनताले आशा गरेका थिए, दुई ठूला पार्टी मिलेर सरकार सञ्चालन गरेपछि देशको आर्थिक अवस्थामा केही न केही सुधार त अवश्य आउला । भद्रगोलको अवस्थाबाट जनताले अलिकति उन्मुक्ति पाउलान् । तर, सरकार बनेको एक वर्ष बितिसक्दा पनि त्यस्तो संकेत कतै केही देखिएको छैन ।

ओली नेतृत्वको सरकार न त आर्थिक सुधारको बाटोमा लाग्न सकेको छ, न भ्रष्टाचारका विरुद्ध । सरकारका गृहमन्त्री नै विवादमा तानिएका छन् भने अरू मन्त्रीहरू पनि भ्रष्टाचारका लज्जाजनक आरोपमा मुछिएका छन् । ओली सरकारका कतिपय मन्त्री र कांग्रेस–एमालेका कतिपय सांसद भ्रष्टाचारको आरोपमा गिजोलिएका छन् । कहाँसम्म भने पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमाथि समेत अदालतले औंला उठाएको छ ।

ओली नेतृत्वको सरकारको एक वर्षको यो अवधिमा देशको राजनीति सर्वाधिक चञ्चल र अस्थिर मोडमा पुगेको छ । यो अस्थिरताको मूल कारण सरकार सञ्चालन गर्ने राजनीतिक दलका नेताहरूको गतिहीन र असक्षम नेतृत्व हो भन्न हिचकिचाउनु पर्दैन । ठूला हुन् वा साना, प्रत्येक दलका नेताहरू कुनै न कुनै भ्रष्टाचारमा मुछिएकै छन् । देशमा प्रतिदिन विविध समस्या थुप्रिँदै छन् । तर, समाधानको चासो न कांग्रेस सभापति देउवाले राखेका छन्, न त प्रधानमन्त्री ओली नै सुधारका लागि सक्षम देखिएका छन् ।

कांग्रेस र एमालेमार्फत राजनीतिमा लागेका मानिसहरू निर्लज्जतापूर्वक आफ्नो संकुचित स्वार्थ पूरा गर्न लागेका छन् । सरकार र यसका एजेन्सीहरू जनतालाई आत्मनिर्भर बनाउनमा भन्दा परजीवी र पंगु बनाउन उद्यत् रहेका देखिन्छन् । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अवैध ढंगले मानव निर्यात गर्ने दलालहरूको सट्टाबजार बनेको छ । उमेरले पाका र परिपक्व देखिने कतिपय दलका नेताहरू धन आर्जनको लोभमा लिप्त देखिन्छन् ।

सबभन्दा ठूलो कुरा, संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व तहमा रहेका नेताहरूमा विकासको सपना देख्ने हैसियत नै देखिएको छैन । एमाले र कांग्रेसको साझा सरकारले देशमा आर्थिक विकासको दिगो नीति बनाउन सकेको छैन । सबभन्दा पुरानो मानिने लोकतान्त्रिक विचारको संवाहक भनेर चिनिने राजनीतिक दल कांग्रेस, एमाले र गणतन्त्र स्थापनाको मुख्य कारकका रूपमा चिनिएको माओवादी र अन्य साना–ठूला गणतन्त्रवादी राजनीतिक दलका बीच सत्ताका लागि कुनै कटाक्ष भएको छैन । तर, देश विकासका लागि आवश्यक राजनीतिक समन्वय हुन सकेको छैन ।

यसबाहेक, देशका यी तीनवटै मुख्य दल संगठनात्मक हिसाबले निरंकुश देखिन्छन् । जो व्यक्ति केन्द्रीय नेतृत्वको सभापति वा अध्यक्ष बन्यो, त्यो नै दलको सर्वेसर्वा बन्ने अधिनायकवादी प्रवृत्तिले सबै दललाई गाँजेको छ । यो प्रवृत्ति केन्द्रीय तहका दलहरूमा मात्र होइन, प्रादेशिक र स्थानीय तहसम्म फैलिएको छ । गणतन्त्रका हिमायतीका रूपमा स्थापित मधेशका दलहरूमा यो प्रवृत्ति अत्यधिक मौलाएको छ ।

अहिले देशका ठूला वा साना कुनै पनि राजनीतिक दलमा ‘मूल’ भनिने नेतृत्वको पकड छैन । देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी कांग्रेस यतिबेला दिग्भ्रमित व्यक्तिहरूको स–साना समूहमा बाँडिएको देखिन्छ । अर्को प्रमुख दल एमालेभित्रको अन्तरविरोध र विरोधाभास पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी राजनीतिमा सक्रिय रहने निर्णय गर्नेबित्तिकै छताछुल्ल भएको छ । माओवादी पार्टीका सर्वोच्च नेता पुष्पकमल दाहालका कार्यशैलीका विरुद्ध खुला रूपमा आवाज उठ्न थालेका छन् । माओवादी पार्टीका एक जना नेताका अनुसार माओवादी पार्टी खुला राजनीतिमा आएपछि दाहालका विरुद्ध यति चर्को स्वरमा विमतिका आवाजहरू उठेको यो पहिलो पटक हो ।

कांग्रेसका सन्दर्भमा कुरा गर्दा पछिल्लो समय यसभित्र पनि आन्तरिक हलचल बढ्न थालेको छ । केही दिनअघि उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवासमा बसेको दर्जनजति कांग्रेसी नेताको बैठकको मूल उद्देश्य सभापतिको पदबाट देउवाको अवकाशपछि उनको उत्तराधिकारी को बन्ने भन्ने प्रश्नमा केन्द्रित देखियो । ज्ञानेन्द्र शाहले देउवाको हातबाट सत्ता खोसेर प्रत्यक्ष शासन चलाउन थालेपछि र देउवालाई जेल हालेपछि पार्टीका कार्यवाहक सभापति बनेका गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महतलगायत वरिष्ठ नेताहरूको त्यो जमघटलाई जानिफकार बुद्धिजीवीहरूले ‘सत्तापक्षीय’ भन्न रुचाएको देखियो ।

भेलामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री तथा चर्चित युवा नेता गगन थापा अनुपस्थित थिए । पुस्ताका हिसाबले भेलामा गगनको उपस्थिति सम्भवतः वाञ्छनीय थिएन । त्यो भेलाको उद्देश्य सभापतिको पदबाट देउवाको ‘अनिवार्य’ अवकाशपछि कांग्रेस राजनीतिमा देखापर्ने भिन्न प्रभावहरूका बीचमा देउवाको उत्तराधिकारी को बन्ने भन्ने रहेको अनुमान गर्न सकिन्छ ।

अर्कोतिर, कांग्रेसका नेता तथा सांसद शेखर कोइराला मनोयोगले कांग्रेसको आगामी महाधिवेशनमा आफूलाई सभापतिका रूपमा प्रस्तुत गर्न लाग्नुभएको छ । उहाँले कांग्रेसका स्वनामधन्य नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पदचाप पछ्याएर जनताको बीचमा आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ । उहाँको यो सक्रियता लोभलाग्दो रहेको छ । तर, आजको राजनीतिक सन्दर्भमा शेखर कोइरालाको यो सक्रियता मात्रै पर्याप्त छैन । उहाँले पार्टीभित्र परिवर्तित भइरहने समीकरण र प्रादेशिक सन्तुलनमा पनि ध्यान दिनुपर्छ । मधेश प्रदेशमा कांग्रेस कमजोर हुँदै गएको छ ।

नेता कोइरालाले यो कुरा पनि बुझ्नुपर्छ कि नेपालको राजनीति कुलीन र सम्भ्रान्त वर्गको गहिरो प्रभावमा रहेको छ । नेपालको राजनीतिमा जनताका बीच लोकप्रिय हुनु मात्र कुनै पनि नेताका लागि पर्याप्त छैन । यसका लागि डा. कोइरालाले प्रजातान्त्रिक समाजवादी सिद्धान्तअनुरूप शासन चलाउन खोज्ने बीपी कोइरालाका विरुद्ध कसरी कुलीनतन्त्रका प्रतिनिधिहरू कुत्सित षड्यन्त्रमा लागेका थिए भन्ने ऐतिहासिक तथ्यको स्मरण गर्नै पर्दछ ।

दुर्भाग्यवश ! २०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछि पनि जनताको राजनीतिमा कुलीनतन्त्र हाबी हुँदै गएको मात्रै छैन, राजनीतिका तन्तुहरू कुलीनतन्त्रकै कब्जामा पर्न थालेका छन् । चाहे एमाले होस् वा माओवादी– राष्ट्रिय पार्टीहरूभित्र कुलीनतन्त्र हाबी भइसकेको छ । नेपालको राजनीति अहिलेसम्म आधुनिकताको चरणमा उक्लिन पाएको छैन । यो कुरा सबै पार्टीका महत्त्वपूर्ण नेताहरूले बुझ्नुपर्छ ।

आजको दिनमा नेपालको राजनीतिक वर्ग ‘धन’ जम्मा गर्ने लतबाट मुक्त हुन सक्ला भन्ने अवस्था नै रहेको छैन । कोरोना महामारी र भूकम्पको चेपमा परेर पनि अलिकति नचेत्ने र देश विकासको बाटोमा गतिशील हुन नसक्ने विभिन्न दलका राजनीतिकर्मी र नेतृत्वसँग के आशा राख्ने ? अहिलेको अवस्थामा नेपालको राजनीतिक पटलमा देशप्रति सचेत नेतृत्वको प्रादुर्भाव होला र देशले विकासको गति लेला भन्ने आशा त गर्नै पर्दछ । तर, यो आशा लिने आधार अझै देखिएको छैन । नेताले विकासको आशा प्रकट गरेर मात्रै परिवर्तन हुँदैन, त्यसका लागि देशप्रति सम्पूर्ण समर्पणभाव हुनुपर्छ ।

राजनीतिक दलहरू बिनाको लोकतन्त्रको कल्पना पनि गर्न सकिँदैन । तर, लोकतन्त्रका नाममा राजनीतिक दलहरूले जनताको मर्यादा राख्न सकेनन् भने लोकतन्त्र खण्डित हुन्छ । जनताले कुनै एक राजनीतिक दललाई एक पटक जिताउनुको अर्थ आफ्नो सार्वभौम अधिकार सधैंका लागि जिम्मा लगाउनु होइन ।

अहिले हामी जुन भयावह आर्थिक र सामाजिक स्थितिमा छौं, यो स्थितिमा सामान्य ढंगले परिवर्तन आउन सक्दैन । पत्रकार लिंकन स्टेफेन्स आफ्नो पुस्तक ‘रिभोल्ट इज नट रिफर्म’ मा लेख्छन्- ‘भ्रष्टतन्त्रका विरुद्ध क्रोध र आवेगको एक झोंक्का मात्रै पर्याप्त हुँदैन । भ्रष्टतन्त्र समूल अन्त्य गर्नका लागि जनताको क्रोध र आवेगमा निरन्तरता चाहिन्छ ।’

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय