साउन महिनामा नारीको नाडीमा छिनछिन बज्ने हरिया चुराको गुन्जनभित्र थुप्रै सामाजिक तथा वैचारिक मनोभाव झल्किएका हुन्छन् । साउनमा हातमा चुरा अनि हत्केलामा मेहन्दी लगाउँदा महिला औधि खुलिरहेका देखिन्छन् । मलाई पनि आज आफ्नै हात प्यारो लाग्दै छ । आफैंले आफ्नो नाडी चुम्न मन लागेको छ । यो खुसीलाई आफूमै मात्र किन खुम्च्याउने भनेर सबैमाझ बाँड्न मन लाग्यो ।
आफू कार्यरत कार्यालयका महिला मित्रलाई एक–एक दर्जन हरियो चुरा उपहार दिएँ । सबैले एकापसमा उत्सव साटासाट गर्यौं । यत्तिकैमा मेरो पुरानी एक स्कुले साथीले चुराको प्रसंग कोट्याउँदै भिडियो कल गरिन् र हातभरि लगाएका हरियो चुरा देखाउँदै भनिन्, ‘तैंले चाहिँ कसका नाममा चुरा र मेहन्दी लगाएकी ?’ मेरो मुखबाट फुत्त निस्कियो, ‘स्वतन्त्रताका नाममा… ।’
चुरा अनि स्वतन्त्रता ? यो शब्दावली नारीवादी आन्दोलनको कुरा गर्नेहरूका लागि चित्त नबुझ्न पनि सक्छ । मानव समाजको विकाससँगै पुरुषहरूले महिलालाई नियन्त्रण गर्न भारी गरगहना पहिराएका हुन् भनिन्छ । तर, म त आधुनिक नारी परेँ । जो मुक्तिको कुरा गर्छु । मैले लगाउने चुरामा बन्धन छैन, स्वतन्त्रताको बोध छ । मैले लगाउने चुरा कसैको दबाबमा हैन, न त कुनै परम्पराको अधीनमै छ । न कसैको निर्देशनमा । मलाई मन लाग्यो लगाएँ, मन नलाग्दा फ्याँकिदिन्छु, ‘द्याट्स इट् !’ अर्को महत्त्वपूर्ण पक्ष मैले लगाएको चुराको मूल्य म आफैंले तिर्न सक्ने क्षमता राख्छु । म अनवरत बोल्दै गएँ । साथीले कति बुझी या बुझिन । मैले सोधिनँ पनि । तर, उसले चित्त दुखाएजस्तो लाग्यो ।
मलाई यो हरियाली मौसममा हरियो चुराको चर्चा गर्दागर्दै उसको चित्त दुखाउने मन थिएन । तर, वास्तविकतामाथि पर्दा हाल्न पनि त सक्दिनँ । हामी नारीवादी दर्शनका ठुल्ठूला कुरा गर्छौं । स्वतन्त्रता र मुक्तिका कुरा गर्छौं । यद्यपि व्यवहारमा एक प्रतिशत पनि आफैंमा रूपान्तरण गर्न सकेका हुँदैनौं । चुराकै चर्चा गर्दा केही महिला मित्र अति उग्र भएर सामाजिक सञ्जालमा चुरा र मेहन्दी लगाउने अनि महिला अधिकारका कुरा गर्ने भन्दै आक्रोश पोखेको पनि देख्छु ।
नारी हुन केही त्याग्न जरुरी छैन । नारीले यो वा त्यो लाउनुपर्छ भन्ने मापदण्ड पनि केही छैन । बस्, आफू हुनुको महसुस गर्नुपर्यो । नारी मुक्ति भनेकै यही हो । म मेरो कति छु ? आधा, पूरै या केही प्रतिशत, या छँदै छैन ? तिमीले गरेका निर्णय के तिम्रा हुन् ?, तिमीले लगाएका लुगादेखि तिमीले साँझ–बिहान खाने एक छाक खानाको जोहो गर्नुमा तिम्रो आर्थिक लगानी छ ? हरेक नारीले आत्मबोध गर्नुपर्ने कुरा यो हो ।
मेरो नजिककै नाता पर्ने एक जना दिदी छिन् । उनले घरेलु हिंसाको चरम यातना सहेको मैले प्रत्यक्ष देखेकी छु । धेरै पटक नीलडामसहित प्रहरी चौकी धाइन् । फेरि खै केले रोक्यो, उनी फर्केर त्यही हिंसा गर्ने श्रीमान्सँगै बसिन् । एक पटक त अदालतसम्मै पुगिन्, पारपाचुके गर्न । तर त्यो पटक पनि उनी हारेरै कुटाइ स्विकार्दै श्रीमान्को घर फर्किन् । दिदी केले रोक्यो तपाईंलाई भनेर सोध्दा उनले भनेकी थिइन्, ‘यो घर छोडेर कहाँ जाऊँ ? कसले पाल्छ र मलाई ? कसले दिन्छ यो इज्जत ?’ अचम्म त यो छ, जनु घरमा उनी बस्छिन्, न त्यो घरमा उनको इज्जत छ, न प्रेम । तर, अहिलेको नारी मुक्ति ती दिदीले भनेजस्तै आश्रय, धनसम्पत्ति र लोभमा रुमलिएजस्तै लाग्यो ।
पछिल्लो युवा पुस्तामा निकै लोकप्रिय हुँदै गएका आचार्य प्रशान्तका अनुसार नारी स्वतन्त्र नहुनुमा केही प्रतिशत पितृसत्तात्मक समाज दोषी छ भने उत्तिकै दोषी महिला स्वयं पनि छन् । उनले भनेजस्तै जब महिला स्वयंले मुक्तिको बोध गर्छन् अनि चुरा लगाऊ या नलगाऊ मुख्य विषय बन्दैन । बोधपूर्वक गरिएका हरेक कार्य उत्सव र सार्थक ठहरिन्छन् ।
