अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसबाट तेल किन्न बन्द गरेको हुन सक्ने बताएका छन्। रुसबाट कच्चा तेल र सैन्य उपकरण खरिद गर्दा अमेरिकाले भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेपछि उनले यस्तो बताएका हुन्।
ट्रम्पले भारतले रूसबाट तेल किन्न बन्द गर्नु राम्रो कदम भएको बताए। उनले भने,‘मेरो बुझाइमा भारतले अब रुसबाट तेल किन्ने छैन। मैले यो सुनेको छु, मलाई थाहा छैन यो सत्य हो कि होइन। यो राम्रो कदम हो। अब हामीले के हुन्छ भनेर हेर्नुपर्छ।’
शुक्रबार साप्ताहिक मिडिया ब्रिफिङमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई भारतीय तेल कम्पनीहरूले गत हप्ता रूसबाट तेल किन्न बन्द गरेको दाबीबारे प्रश्न सोधिएको थियो।
जयस्वालले जवाफ दिए,‘हामी अन्तर्राष्ट्रिय बजारमा तेलको उपलब्धता र त्यसबेलाको विश्वव्यापी परिस्थितिको आधारमा निर्णय लिन्छौँ। जहाँसम्म तपाईंको प्रश्नको कुरा छ, मलाई यसको बारेमा थाहा छैन। मसँग यससँग सम्बन्धित विवरणहरू छैनन्।’
यसअघि ट्रम्प र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन युद्धलाई लिएर पश्चिमा प्रतिबन्धको बाबजुद पनि भारतले रुसी तेल आयात जारी राखेकोमा आलोचना गरेका थिए।
